दोस्रो विश्वयुद्ध सुरु भएसँगै परिस्थितिले गम्भीर मोड लिँदै गयो । नाजीहरूले इटलीमा आफ्नो प्रभाव विस्तार गरिरहेका थिए । उनीहरूले सुन र बहुमूल्य वस्तु नियन्त्रणमा लिन थालेका थिए । यस्तो अवस्थामा विश्वकप ट्रफी पनि उनीहरूको नजरमा पर्न सक्ने खतरा बढ्दै गयो ।
जारी फिफा विश्वकपमा इटलीको नाम कहीँकतै सुनिँदैन । किनभने, उसले सन् २०१८ यता विश्वकपको छनोट चरण नै पार गर्न सकेको छैन । चारपटक विश्वकपको ट्रफी आफ्नो घर लैजान सफल भइसकेको इटली पछिल्लो संस्करणमा किन राम्रो खेल्न सकिरहेको छैन ? यसका तमाम कारण खेलजगत्मा आउँदै गर्ला । अहिलेलाई एउटा ऐतिहासिक घटना विश्वकप चलिरहेको वेला सम्झिनु उपयुक्त हुन्छ ।
धेरैलाई जानकारी नहुन सक्छ । चारपटकको विश्व विजेता इटलीले सन् १९३८ मा आफूले जितेको विश्वकपको ट्रफी नाजी सेनाबाट सुरक्षित राख्न निकै ठुलो मिहिनेत गर्नुपरेको थियो । यसका लागि इटालीयन फुटबल महासंघका अधिकारी ओटोरिनो बारासीले के गरे ? नाजी सेनाले कसरी ट्रफी हात पार्न सकेन ? यसबारे केही रोचक घटना छन् ।
दोस्रो विश्वयुद्धको अन्धकारबिच बारासीले संसारकै प्रतिष्ठित वर्ल्डकप ट्रफीलाई नाजी सेनाको हातबाट जोगाएका थिए । सन् १९३४ मा घरेलु भूमिमा आयोजित विश्वकप जितेर इटली विश्वविजेता बन्यो । चार वर्षपछि फ्रान्समा भएको सन् १९३८ को विश्वकपमा पनि इटलीले आफ्नो प्रभुत्व कायम नै राख्न सफल भयो । फाइनलमा हंगेरीलाई ४–२ ले हराउँदै इटली लगातार दोस्रोपटक विश्वविजेता बन्यो ।
त्यो विश्वकप इतिहासकै विशेष प्रतियोगिता थियो । किनभने, सन् १९३८ को विश्वकप दोस्रो विश्वयुद्ध सुरु हुनुअघिको अन्तिम विश्वकप थियो । त्यसपछि विश्वयुद्धका कारण प्रतियोगिता १२ वर्षसम्म हुन सकेन । त्यतिवेला विजेतालाई प्रदान गरिने ट्रफी अहिलेको जस्तो थिएन । त्यसलाई ‘जुल्स रिमेट ट्रफी’ भनिन्थ्यो, जुन सुनबाट बनेको अत्यन्तै बहुमूल्य ट्रफी थियो ।
विश्वयुद्ध हुँदा जोखिममा ट्रफी
विश्वकप जितेपछि ट्रफीलाई रोमको एउटा बैंकको लकरमा सुरक्षित राखिएको थियो । तर, दोस्रो विश्वयुद्ध सुरु भएसँगै परिस्थितिले गम्भीर मोड लिँदै गयो । नाजीहरूले इटलीमा आफ्नो प्रभाव विस्तार गरिरहेका थिए । उनीहरूले सुन र बहुमूल्य वस्तुहरू नियन्त्रणमा लिन थालेका थिए । यस्तो अवस्थामा विश्वकप ट्रफी पनि उनीहरूको नजरमा पर्न सक्ने खतरा बढ्दै गयो ।
यदि नाजीहरूले ट्रफी भेट्टाएका भए, त्यसलाई जफत गरेर सुनका लागि पगाल्न सक्ने सम्भावना थियो । यही वेला इटालियन फुटबल महासंघका अधिकारी बारासीले एउटा यस्तो निर्णय गरे, जसले फुटबल इतिहासमा ट्रफीलाई जफत हुनबाट बचाए ।
बारासीले कसैलाई जानकारी नदिई बैंकबाट ट्रफी निकाले । त्यसपछि ट्रफीलाई कपडाले बेरेर एउटा पुरानो जुत्ताको बट्टामा राखेर आफ्नै घरको खाटमुनि लुकाए । विश्वयुद्धका कारण संसारकै प्रतिष्ठित फुटबल ट्रफी एउटा साधारण जुत्ताको बाकसभित्र लुकेको थियो ।
इतिहासकारहरूका अनुसार नाजी सेनाहरू बारासीको घरमा खोजतलास गर्नसमेत पुगेका थिए । उनीहरूले घरका धेरै स्थानमा खानतलासी गरे, तर खाटमुनि रहेको साधारण जुत्ताको बट्टाभित्र विश्वकप ट्रफी लुकेको होला भन्ने उनीहरूले कल्पनासमेत गर्न सकेनन् । पछि बारासीले थप सुरक्षाका लागि ट्रफी आफ्ना आफन्तकहाँ पठाए, जहाँ युद्ध समाप्त नभएसम्म गोप्य रूपमा सुरक्षित रह्यो । बारासीले एउटा साधारण जुत्ताको बट्टाभित्र लुकाएर फुटबलको सबैभन्दा अमूल्य सम्पत्ति बचाए ।
दोस्रो विश्वयुद्ध समाप्त भएपछि यही ट्रफी सन् १९५० मा ब्राजिलमा आयोजित विश्वकपका लागि फिफालाई फिर्ता गरियो । त्यसपछि विश्वकप प्रतियोगिता पुनः सुरु भयो र जुल्स रिमेट ट्रफीले फेरि अर्को विश्वविजेताको हातमा पुग्ने अवसर पायो । यदि बारासीले त्यो जोखिम नमोलेका भए, सम्भवतः विश्व फुटबलको सबैभन्दा प्रसिद्ध ट्रफी दोस्रो विश्वयुद्धमै हराइसक्ने थियो ।
त्यसरी जोगाएको ट्रफीको यात्रा भने विश्वयुद्धपछि पनि सोचेजस्तो भएन । नाजीहरूको हातबाट बचेको त्यही ट्रफी अन्ततः चोरी भयो । धेरैजसो फुटबल समर्थकलाई पिकल्स नामको कुकुरबारे जानकारी हुन सक्छ । सन् १९६६ को इंग्ल्यान्ड विश्वकपअघि लन्डनमा प्रदर्शनमा राखिएको विश्वकप ट्रफी चोरी भएको थियो । केही दिनपछि दक्षिण लन्डनको एउटा बगैँचामा पिकल्सले त्यो ट्रफी फेला पार्यो । त्यसै वर्ष इंग्ल्यान्डले पहिलोपटक विश्वकप जित्यो । विश्वकपको विजेता बनेको इंग्ल्यान्डले विजय उत्सवमा पिकल्सलाई पनि सम्मान गरेको थियो ।
सन् १९८३ मा ब्राजिलको फुटबल महासंघको मुख्यालयबाट फेरि विश्वकप ट्रफी चोरी भयो । यसपटक भने पिकल्सजस्तो उद्धारकर्ता आउन सकेन । ट्रफी आजसम्म फेला परेको छैन । धेरै इतिहासकारहरूको विश्वास छ, त्यसलाई पगालेर प्रयोग गरियो ।
अहिले देखिएको फिफा विश्वकप ट्रफी सन् १९७४ मा बनाइएको नयाँ डिजाइनको हो । तर, जुल्स रिमेट ट्रफीको कथा फुटबल इतिहासको सबैभन्दा दुःखद् र रोमाञ्चक घटनामध्ये एक मानिन्छ ।
(एजेन्सीको सहयोगमा )