स्लिप एप्नियाको लक्षण र उपचार

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

रातभर सुत्दा ठुलो स्वरले घुर्ने, निद्रामा सास बारम्बार रोकिने, बिहान उठ्दा पनि थकान नमेटिने र दिउँसै निद्रा लागिरहने समस्यालाई धेरैले सामान्य रूपमा लिन्छन् । तर, यस्ता लक्षणलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ । यी समस्या ‘स्लिप एप्निया’ नामक गम्भीर निद्रा विकारका संकेत हुन सक्छन् ।

स्लिप एप्निया निद्राका वेला हुने यस्तो समस्या हो, जसमा सास केही समयका लागि रोकिने र फेरि सुरु हुने प्रक्रिया पटक–पटक दोहोरिन्छ । यसले शरीरमा पर्याप्त अक्सिजन पुग्न दिँदैन र निद्राको गुणस्तर बिगार्छ । त्यसैले मानिसले रातभर सुते पनि आराम महसुस गर्दैनन् । उनीहरूलाई दिनभर थकान लाग्ने, काममा ध्यान केन्द्रित गर्न नसक्ने र जुनसुकै वेला निद्रा लाग्ने समस्या देखिन सक्छ ।

दुई प्रकारका स्लिप एप्निया
स्लिप एप्निया मुख्यतः दुई प्रकारका हुन्छन् । पहिलो, अब्स्ट्रक्टिभ स्लिप एप्निया, जसमा सुत्दा घाँटी वा श्वासनलीका मांसपेशी खुकुलो भएर सास फेर्ने बाटो साँघुरिन्छ वा बन्द हुन्छ । दोस्रो, सेन्ट्रल स्लिप एप्निया, जसमा मस्तिष्कबाट श्वासप्रश्वास नियन्त्रण गर्ने संकेत सही रूपमा नपुग्दा सास फेर्ने प्रक्रिया प्रभावित हुन्छ । यी दुवै अवस्थाले निद्रामा बारम्बार अवरोध सिर्जना गर्छन् र दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छन् ।

बेवास्ता गर्न नहुने लक्षण
स्लिप एप्नियाका बिरामीमा राति ठुलो स्वरले घुर्ने, निद्रामा सास रोकिने, बिहान उठ्दा टाउको भारी हुने, दिनभर अत्यधिक निद्रा लाग्ने, शरीरमा थकान रहने, स्मरणशक्ति कमजोर हुने तथा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन सक्छ ।

कतिपयमा सास फेर्न असहज हुने, राति अत्यधिक पसिना आउने, बारम्बार पिसाब लाग्ने, छाती दुख्ने तथा लामो समयसम्म थकाइ लाग्ने समस्या पनि देखिन्छ । केही बिरामीले ‘ब्रेन फग’ अर्थात् सोचाइ र स्मरणमा धुम्मपन महसुस गर्ने गरेका छन् ।

किन हुन्छ स्लिप एप्निया ?
स्लिप एप्नियाको एउटै कारण हुँदैन । वंशाणुगत कारण, मोटोपना, बढ्दो उमेर, अत्यधिक मदिरा सेवन र धूम्रपान यसका प्रमुख कारण हुन् । यसका अतिरिक्त मुटुसम्बन्धी रोग, मस्तिष्कसम्बन्धी समस्या, उच्च रक्तचापका कारण मुटु सुन्निने अवस्था, नाकको श्वासनली साँघुरो हुनु तथा निद्राका वेला श्वासनली खुला राख्ने मांसपेशीको कार्यमा आउने परिवर्तनले पनि समस्या निम्त्याउन सक्छ । घाँटीवरिपरि बोसो धेरै जम्मा हुनु, ठुलो जिब्रो, ठुलो टन्सिल, ठुलो घाँटी भएका व्यक्तिमा पनि यो समस्या हुने सम्भावना बढी हुन्छ ।

स्लिप एप्नियाले शरीरमा अक्सिजनको मात्रा घटाउँछ । यसले रक्तचाप बढाउने मात्र होइन, मुटु र मस्तिष्कमा समेत गम्भीर असर पार्न सक्छ । यस्ता बिरामीमा उच्च रक्तचाप, मुटुको धड्कन असामान्य हुने, हृदयाघात, स्ट्रोक तथा अन्य हृदयसम्बन्धी रोगको जोखिम बढ्छ । मुटुको रोग भएका व्यक्तिमा स्लिप एप्निया भए अवस्था अझ जटिल बन्न सक्छ ।

स्लिप एप्नियाको उपचार यसको कारण पहिचान गरेर गरिन्छ । तर, औषधिले मात्रै यो समस्या पूर्ण रूपमा निको हुने भन्ने होइन । त्यसैले जीवनशैलीमा परिवर्तन गर्नु उपचारको आधार हो । तौल नियन्त्रण गर्ने, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने, नियमित व्यायाम गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने तथा नाकमा मासु पलाएर सास फेर्न समस्या भएको अवस्थामा आवश्यक उपचार गराउनु आवश्यक हुन्छ । मुटुसम्बन्धी समस्या भए त्यसको पनि समयमै परीक्षण र उपचार गरिनुपर्छ ।

निद्राको गुणस्तर सुधार्न हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्ने, आरामदायी बनाउने, सन्तुलित भोजन गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने बानीले पनि ठुलो सहयोग पुग्छ । राति लगातार घुर्ने, निद्रामा सास रोकिने वा दिनभर अत्यधिक निद्रा लाग्ने समस्या देखिए त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नुहुँदैन । समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श गरी परीक्षण गराउँदा भविष्यमा हुन सक्ने गम्भीर जटिलताबाट बच्न सकिन्छ ।

(शाह वरिष्ठ फिजिसियन हुन्)

सुझावित समाचार