राज्यको कमजोरीका कारण गणेश नेपालीले मृत्युवरण गरेको भन्दै सर्वत्र आलोचना भएको छ । सडकमा प्रदर्शन भएको छ भने संसद्मा विपक्षीले सरकारमाथि प्रश्न उठाएका छन् । शुक्रबार माइतीघर र वीर अस्पतालवरपर प्रदर्शन भएको छ । गृहमन्त्री, प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
‘हाम्रा साथीलाई पेट्रोल छर्किन बाध्य सरकारले नै पारेको हो, सरकारको नियम र कामकारबाही गरिबमारा छ,’ माइतीघरमा प्रदर्शनमा उत्रिएका मुकेश परियारले भने, ‘सहरभित्र गरिखान खोज्नेलाई मर्न बाध्य पारेको जिम्मेवारी राज्यले लिनुपर्छ ।’ मृतकका आफन्तहरूले सरकारले दोषीलाई कारबाही नगरे निरन्तर आन्दोलन गर्ने बताएका छन् ।
संसद्मा पनि खबरदारी भएको छ । कांग्रेस प्रमुख सचेतक बासना थापाले १० माघ ०७९ मा प्रेम आचार्यले बानेश्वरमा आत्मदाह गर्दा काठमाडौं महानगरका तत्कालीन मेयर (हाल प्रधानमन्त्री बालेन्द्र शाह)ले मेयरका रूपमा राज्यप्रति कठोर प्रश्न उठाएको स्मरण गर्दै गणेश नेपालीको घटनामा किन मौन भनेर प्रश्न गरिन् । राज्यआतंकले नेपालीले आफ्नै शरीरमा आगो लगाएको र त्यसपछि पनि उद्धार नगरिएको भन्दै उनले आपत्ति जनाइन् । सरकार जनताको लाइफ बचाउनेभन्दा सामाजिक सञ्जालमा लाइक बढाउने ध्याउन्नमा रहेको र यसअघि सुकुमवासीलाई हटाउँदा दुईजनाले आत्महत्या गरेको भन्दै उनले सोधिन्, ‘के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो ? के आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउने अवस्था आउँछ ? होइन भने हृदयविदारक घटना पटक–पटक किन दोहोरिरहेका छन् ?’ सवारीमा लगाइएको चर्को जरिवानामा पुनर्विचार गर्न उनले सरकारको ध्यानाकर्षण जनाइन् ।
एमालेकी भूमिका लिम्बू सुब्बाले मोटरसाइकल पार्किङ गर्दा जरिवाना गरी अत्यन्त तनाव दिएको कारण आत्मदाहको निर्णयमा पुगेको भन्दै सरकारले बढाएको जरिवानाकै कारण उनको ज्यान गएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । उनले गणेश नेपालीको मृत्यु राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न भएको बताइन् । घटनाको दोषीलाई कारबाही र परिवारलाई राहतको व्यवस्था गर्न माग गरिन् । उनले सुकुमवासीलाई विस्थापितको नाममा अलपत्र बनाएर मर्न बाध्य बनाइएको भन्दै आपत्ति जनाइन् ।
गणेश नेपालीकी आफन्तसमेत रहेकी नेकपाकी पार्वती विकले पनि घटनाका दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गरिन् । श्रम संस्कृतिकी राधिका रम्तेलले पनि घटनाको छानबिन गरी परिवारलाई राहत दिन माग गरिन् ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको बताए । उनले प्रधानमन्त्रीलाई काठमाडौं सहर अर्बपतिको मात्रै हो भनेर सोधे । ‘यो गरिब–दुःखी श्रमिकको पनि सहर हो कि होइन ? अघिल्लोपटक मेयर भएका कारणले गरिब–दुःखी बाँच्न नपाउने अवस्था सिर्जित बनिसक्यो । सरकार अर्बपतिभन्दा गरिब, निमुखा, अपहेलितलाई चाहिन्छ । तर, सरकार अर्बपतिको भइरहेको घटनाले देखाउँछ । आफ्नो घरबार बेचेर राज्यको जरिवाना तिर्नुपर्ने कानुनले न राज्य सुरक्षित हुन्छ, न जनताको जीवन सुरक्षित हुन्छ,’ उनले भने ।
मुगुका कांग्रेस सांसद खडकबहादुर शाहीले दुई वर्षअघि भक्तपुरमा आएर पठाओ चलाएर परिवार पालिरहेका गणेश नेपालीलाई सरकारले आत्महत्या गर्न बाध्य बनाएको बताए । उनले गणेश नेपालीको राति नै मृत्यु भइसकेको गृहमन्त्रीले स्टन्ट गरेको आरोप लगाए । गरिब जनतालाई रुवाएको भन्दै सरकारविरुद्ध आन्दोलनका निम्ति आह्वान गरे । यो किसिमको अन्याय सहेर बस्न नसकिने उनको भनाइ थियो ।
नेकपाका वर्षमान पुनले काठमाडौंको मेयर हुँदा प्रधानमन्त्रीले प्रेम आचार्य आत्मदाहको वेला लेखेको स्टाटस पढ्दै सोधे, ‘गणेश नेपालीको आत्मदाह राज्यको असफलता हो वा गरिब–दुःखी विपन्न सुकुमवासीहरू यो संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? यही दृष्टिकोण आज छ कि सत्तामा गएपछि बदलियो ?’
एमालेकी यशोदाकुमारी बरालले गणेश नेपालीको मृत्युपछि एक वर्षकी छोरीको आँखामा आँसु, श्रीमतीको चिच्याहट अस्पतालमा सुनेको भन्दै सोधिन्, ‘प्रधानमन्त्रीकी श्रीमतीलाई बेथा लाग्दा, दुई मिनेट ढिलो हुँदा राज्य जलाऊ, सिंहदरबार जलाऊ भन्दा देश जल्यो । आज एउटा गरिबले आत्मदाह गर्दा राज्य कहाँ छ ? गरिबले बाँच्न पाउने कि नपाउने ? कर्णालीका मान्छे यो काठमाडौंमा आएर पठाओ चलाएर बाँच्न पाउने कि नपाउने ?’
रास्वपा सांसद आसिका तामाङले महानगर प्रहरीले ह्विल लक लगाएपछिको मानसिक तनावको कारण शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने घटनाले दुःखी बनाएको बताइन् । ‘यो घटना केवल एक व्यक्तिको दुःखद अन्त्य मात्र होइन, स्वरोजगारमा संलग्न हजारौँ युवाले भोगिरहेको व्यावहारिक समस्याप्रति राज्यको ध्यानाकर्षण गराउने गम्भीर संकेत हो । युवाहरूलाई अनावश्यक दुःख दिने होइन, उनीहरूको काम गर्ने वातावरण सुरक्षित र सहज बनाउने राज्यको दायित्व हो । त्यसैले राइड सेयरिङलाई छुट्टै पहिचान दिन स्टिकर अन्य आधिकारिक चिह्न प्रदान गरी टाढैबाट पहिचान गर्न सक्ने बनाऊँ,’ उनले भनिन् ।
एमाले प्रमुख सचेतक ऐनबहादुर महरले गणेश नेपाली मृत्यु प्रकरणमा गृहमन्त्रीले स्टन्ट गरेको टिप्पणी गरे । सुकुमवासीदेखि गणेश नेपालीसम्म राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थिति निर्माण गरिरहेको उनको भनाइ थियो । ‘गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठुलो मूल्य चुकाउनुपर्छ । यो हत्याको जिम्मेवार बालेन्द्र सरकार हो । बालेन्द्र सरकार जनतालाई मुक्ति दिने गरी होइन मार्ने गरी, हत्या गर्ने गरी अगाडि बढेको छ । म यो सरकार मुर्दावाद भन्न चाहन्छु,’ उनले भने ।
कांग्रेसकी गीता गुरुङले गणेश नेपाली प्रकरणमा राज्य असफल भएको भन्दै असफल भएर राज्य चलाइरहने हो भनेर प्रधानमन्त्रीलाई सोधिन् । रास्वपाकी इन्दिरा रानामगरले अबदेखि कोही पनि नेपालीले यसरी आत्मदाह गर्न नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराइन् । रास्वपाकै गणेश कार्कीले कुनै पनि तर्कले गुमेको मान्छेको जीवनको क्षतिपूर्ति गर्न नसक्ने बताए । मानव जीवनभन्दा ठुलो कुनै पनि तर्क नहुने उल्लेख गर्दै उनले मृत्युलाई सही ठहर गर्न कसैसँग पनि नैतिक अधिकार नरहेको धारणा राखे । सांसद कार्कीले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको १० हजार रुपैयाँ जरिवानासम्बन्धी बहसभन्दा पनि एउटा व्यक्तिले किन जीवन गुमाउनुपर्यो भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताए । उनले घटनालाई भावनात्मक बनाउनेभन्दा पनि यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत र कानुनी सुधारमा ध्यान दिनुपर्ने समय आएको उल्लेख गरे ।
श्रम संस्कृतिका प्रमुख सचेतक आरेन राईले ट्राफिक नियम पालना गर्न पूर्वाधार नै राम्रो नभएको र जरिवानाले मात्र समाधान नदिने बताए । उनले रोजगारीको खोजीमा काठमाडौंमा आएको युवालाई जबर्जस्ती जरिवानाको नाममा आत्मदाह गर्न बाध्य पारिएको बताए ।
रोस्टममै भक्कानिए गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङ सांसदहरूले बोलिसकेपछि घटनाबारे जानकारी दिन सदनको रोस्टममा पुगेका थिए । रोस्टममा पुग्दा उनी बोल्न सकेनन् । भक्कानिएर एकछिन रोस्टम छोडेर भित्र गएका थिए । सामान्य भएपछि एकैछिनमा रोस्टममा आए । उनले आफू अस्पताल गएको कुरालाई सांसदहरूले स्टन्ट भनेकामा असन्तुष्टि जनाउँदै भने, ‘हिजो कतिजना हुनुहुन्थ्यो, हस्पिटलमा । घाँटी चिच्याएर, मुखले बोलेर हुँदैन । मुखले बोलेको ५०औँ वर्ष भइसक्यो । ठाउँमा गएर गर्नुपर्छ । जनताको पीडामा ठाउँमा पुगेर सेवा गर्नुलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन स्टन्टबाजी गर्न । देशको सेवा गर्न आएको हो ।’
उनले घटना घटेको ठाउँ महानगर भएको पनि बताए । ‘जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको होइन । नगरप्रहरीले लगाएको छ । म विपक्षी दलका माननीय सदस्यलाई सोध्न चाहन्छु– स्थानीय सरकार कसको छ अहिले, रास्वपाको छ ? यो प्रदेश सरकार कसको छ, रास्वपासँग छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ । यो नियम–कानुन हामीले बनाएको हो ? तपाईंले बनाएको, तपाईंले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर देखाएको हो । त्यही कानुनमा टेकेको हो । अहिले कालो सिसा हटाउने कुरा आयो । त्यो कालो सिसा नलगाउने कानुन हामीले कोरेका थियौँ ? तपाईंहरूले कोर्नुभएको हो । हामीले पालना मात्र गराएको हो,’ उनले भने ।
मन्त्रीको हैसियतले एउटा नागरिकका लागि हिजो रातभर खटेको, तर अथाह प्रयास गर्दा पनि नहुँदा आँसु खसेको र चित्तै नबुझेको उनको भनाइ थियो । ‘देशको कुन संयन्त्र परिचालन गरिएन ? जुन संयन्त्र जसरी पहिला नेताको मात्र रक्षा गर्थ्यो, हिजो त्यहाँ हेर्नुहोला, रातभरि प्रहरी बाटोभरि उभिएर बसेको थियो । भिभिआइपी सेक्युरिटी दिएर । कसका लागि गणेश नेपालीको सुरक्षित ट्रान्सफर एयरपोर्टका लागि । रातभरि सुतेका छैनन् उनीहरू पनि आफ्नो नागरिकको रक्षाका लागि । हामी पनि त्यहाँ गयौँ । सबै विशेषज्ञ राख्यौँ । जति खर्च लाग्छ सरकारले गर्छ भनेर गर्यौँ । तर, त्यतिखेरको कन्डिसन तपाईंहरूलाई थाहा छैन, किनकि तपाईंहरू त्यहाँ पुगेकै छैन । चिकित्सकसँग कुरा गर्नुपर्यो । भारतमा समन्वय भयो । परराष्ट्रमन्त्रीले भारतीय दूतावासमार्फत एम्ससँग कुरा गर्नुभयो । एयर एम्बुलेन्स स्टुयान्डबाई राख्यौँ । राति एयरपोर्ट म आफैँ गएको हो । त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई,’ उनले भने । गृहमन्त्री गुरुङले आफू क्यामेराबाट टाढै बस्ने र फिल्डमा उत्रेर काम गर्ने मान्छे भएको पनि प्रस्टीकरण दिए ।
हामीले हिजो अथाह प्रयास गरेको हो । श्री एयर तयार गरेको हो । अनुमति लिएकै हो । तर, डाक्टरले बिरामीलाई स्टेबल राख्नुपर्यो । उहाँको ब्लडप्रेसर लो भइसकेको थियो । यस्तोमा उहाँलाई लैजाँदा केही गरी घटना घटिहाल्यो भने, बचाउने उद्देश्यले गरेको, डाक्टरको परामर्श त बुझ्नुपर्यो । यहाँ आएर सबै एक्सपर्ट भइसकेका छन् । सबैजना डाक्टर भइसकेका छन् । त्यहाँ नेपालका सबै विज्ञ डाक्टरहरू सबै राखेका थियौँ । कुनै हालतमा बचाउनुपर्छ भनेका थियौँ,’ उनले भने ।
यद्यपि, यो जिम्मेवारी स्थानीय तहको भएको बताए । ‘स्थानीय तहको सरकार कसको छ अहिले काठमाडौंमा ? ह्विल लक लगाएको कसले, अनि हामीले भनिराख्नुपर्ने, दोष पनि हामीले भोग्नुपर्ने । हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ । जोसुकैले गरेको होस् । आफू अगाडि बढ्नुपर्छ । दोष लाउनुछैन । राज्यको कर्तव्य यही त हो आफ्नो नागरिकलाई जसरी पनि बचाउनुपर्ने । गर्छौँ । तीन रात सुन्न नपरोस्, आफ्नो नागरिकलाई बचाउँछौँ । प्रयास गरेकै हो,’ उनले भने ।
सांसदहरूले अगाडि राम्रो भनेर प्रशंसा गर्ने र सदनमा विरोध गर्ने शैली पनि आफूलाई चित्त नबुझेको गुनासो उनले गरे । ‘पर्दापछाडिको खेल मलाई मन पर्दैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको र तीनजना नियन्त्रणमा लिएको भन्दै निष्पक्ष रूपमा छानबिन गर्ने बताए । उनले ट्राफिकको जरिवाना बढाइएको कुरा विधेयक हो भन्ने कुरा नबिर्सिन अनुरोध गरे । भौतिक मन्त्रालयले विधेयक बनाएको र त्यो सदनमै आएर कानुन बन्ने प्रक्रिया ख्याल गर्न पनि सुझाए । ‘विधेयक मात्रै हो, पास गरेको छैन । तपाईंहरूको राय हुन्छ,’ उनले भने । कसैको पीडालाई राजनीतीकरण नगर्न उनले आग्रह गरे ।
‘यसमा हामीले गर्नुपर्ने दायित्व नेपाल सरकारको तर्फबाट एक इन्च पनि छोड्दैनौँ । कर्तव्य पूरै गर्छौँ । नचाहँदा–नचाहँदै अथक प्रयासपछि पनि गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न । तपाईंहरूको प्रश्नहरू छ । तर, विश्वास गर्नुस्,’ उनले भने ।