आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु
आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार केही समयअघि उनको मृत्यु भएको हो । प्रवक्ता डा. बुढाथोकीले अस्पतालले नेपालीको मृत्यु भएकोबारे केहीबेरमा आधिकारिक प्रेस विज्ञप्ति जारी गर्ने बताए ।
गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न समिति गठन
गृह मन्त्रालयले गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा जानकारी दिए। सोधपुछका लागि तीन नगरप्रहरीलाई नियन्त्रणमा लिएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए।
‘यसका लागि हामीले पाँच सदस्यीय एउटा छानबिन समिति गठन गरेका छौँ, डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा । तीनजना महानगरपालिकाका प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ उनले भने।
सिआइबीद्वारा नौ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
विद्यार्थीलाई भ्रममा पारेर युएई पठाई ठगी गरेको आरोपमा नौ कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
युएईको उच्च शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिएका कलेजमा विद्यार्थी पठाएको तथा अस्ट्रेलियामा क्रेडिट ट्रान्सफर हुने भनेर झुक्याएको सिआइबीले जनाएको छ।
सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले पूर्वन्यायाधीश, नेपाली सेनालगायतको हकमा सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। संविधान र प्रचलित कानुन प्रतिकूल हुने गरी छानबिन अघि बढाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै सर्वोच्चले मुद्दाको अन्तिम टुंगाे नलाग्दासम्म आयोगको कामकारबाही यथास्थितिमा राख्न भनेको हो।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग खारेज गर्न माग गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले शुक्रबार आदेश गरेको हो।
सर्लाहीमा पनि एक युवकद्वारा आगो लगाएर आत्मदाह प्रयास, अवस्था चिन्ताजनक
सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका छन्। गोडैता नगरपालिका– १० का ३४ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी ओमप्रसाद अधिकारीका अनुसार उनको हाल स्थानीय अस्पतालमा उपचार भइरहेकोमा हेलिकोप्टरमार्फत काठमाडौं लैजाने प्रयास भइरहेको छ । ‘घरायसी विवादपछि उनले शरीरमा आगो लगाएर आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ,’ उनले भने। घरायसी विवादमा उनले यसरी शरीरमा आगो लगाएको अनुसन्धानमा खुलेको छ । घरमा विवाद भएपछि निस्किएर सडकमा गई उनले आगो लगाएका हुन्। स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
संसदमा बालेनको स्टाटस पढेर वर्षमानले सोधे– के गरिब र सुकुमवासीले बाँच्न पाउँदैनन् ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताए। उनले इलामका युवा कृषक प्रेम आचार्यले १० माघ ०७९ मा नयाँ बानेश्वरमा आत्मदाह गर्दा हालका प्रधानमन्त्री एवं तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा गरेको पोस्ट पढेर सुनाए।
नक्कली प्रमाणपत्र पेस गरी शिक्षिका बनेकी शाहीविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिकाकी एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जानकी– ३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी बालविकास शिक्षक नन्दाकुमारी शाहीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
शाहीले ०६६ मंसिर ३ गते सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी बुझाएको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ।
नेपाल बाल संगठन ठगी प्रकरण : तीनजना पक्राउ, अनुसन्धान जारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको कथित ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको जनाएको छ।
सिआइबीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल बाल संगठन तथा बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन, प्रहरी प्रतिवेदन तथा प्राप्त जाहेरीका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।
टोखा मालपोतका कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
टोखा मालपोत कार्यालयका कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गुठीका जग्गा कर्मचारीको मिलेमतोमा किर्ते गरेर रैकर बनाई पास गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यसमा ८ जना कर्मचारी र अन्य जग्गाधनीलाई प्रतिवादी बनाइएको छ।
बहालवाला प्रधानमन्त्री र मन्त्रीहरू भने छानबिनको ‘राडार’बाहिरै !
पूर्वकर्मचारीदेखि उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुँदा सरकारले बहालवाला प्रधानमन्त्री र मन्त्रीहरूलाई भने छानबिनको ‘राडार’बाहिरै राखेको छ । वर्तमान मन्त्रिपरिषद्का कसैमाथि पनि छानबिन नगर्ने गरी सरकारले आयोगलाई जिम्मेवारी तोकेको छ ।
सम्पत्ति विवरण दाखिला गर्ने सम्बन्धमा आयोगले जारी गरेको सूचनामा वर्तमान मन्त्रिपरिषद्का पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने विषय उल्लेख छैन । आयोग अध्यक्ष राजेन्द्रकुमार भण्डारीले पनि वर्तमान मन्त्रिपरिषद्का पदाधिकारीले सम्पत्ति विवरण भर्ने सम्बन्धको क्षेत्राधिकार आयोगलाई नभएको बताए । पूर्वपदाधिकारीले सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाअनुसार पहिला पनि महत्त्वपूर्ण सार्वजनिक पदमा रहेर अहिलेको मन्त्रिपरिषदमा पनि रहेकाको हकमा के हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष भण्डारीले भने, ‘पहिला कुनै पदमा रहनुभएकाले सम्पत्ति विवरण भर्नुपर्छ, उहाँहरूले विवरण सार्वजनिक गरिसक्नुभएको पनि छ ।’