कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट कोशी प्रदेश सभाबाट पारित भएको छ । सत्तारूढ दलका सांसदहरूको असन्तुष्टिपछि सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले नै बजेट बिग्रिएको स्वीकार गर्दै सन्तुलित बनाउन सच्याउने प्रतिबद्धता गरेपछि आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत भएको बजेट बुधबार कोशी प्रदेश सभाबाट बहुमतले पारित बिग्रिएका बजेट सच्याउने प्रतिबद्धतापछि सरकारले आफ्नै सत्तारूढ दल एमाले र कांग्रेसका सांसदहरूलाई बजेट पारित गराउन संसदीय दलमार्फत ह्विप जारी गरेको थियो ।
कोशी प्रदेशमा एमाले कांग्रेसको गठबन्धन सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुरमा लिङ्थेपले १ असारमा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । तर, बजेटमा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रजाइँ गरेर असन्तुलित बनाएको भन्दै सत्तापक्षकै सांसदहरूले चर्को विरोध गरेका थिए ।
जसले गर्दा सरकारले प्रस्तुत गरेको बजेट प्रदेश सभामा नियमित छलफल हुन पाएको थिएन । त्यसपछि सरकारले असन्तुष्ट सत्ताधारी सांसदहरूको माग सम्बाेधन गर्न ६ जना सांसदको कार्यदल निर्माण गरेको थियो । कार्यदलको सिफारिसपछि सरकारको तर्फबाट आर्थिक योजनामन्त्री विदुर लिङ्थेपले बजेट पारित भएपछि कार्यक्रमहरू समर्पण गराएर सच्याउने प्रतिबद्धता गरेका थिए ।