पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– ९, जोगीमाराबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले बस जाँच गर्ने क्रममा उक्त बसमा सवार यात्रुहरूको साथबाट ७८ हजार चार सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाइड्रोक्लोराइड बरामद गरेको छ।
बरामद गरिएको लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार उक्त परिमाण सात हजार ८४० वटा स्ट्रिप (प्रतिस्ट्रिप १० क्याप्सुल) रहेको छ।
पक्राउ पर्नेमा पर्साका दुईजना लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा स्मोहनप्रसाद कुर्मी (वर्ष ४१) वीरगन्ज महानगरपालिका वडा नं. ३ र प्रतिमा देवी (वर्ष ३५) वीरगन्ज महानगरपालिका वडा नं. ३ रहेका छन् । पर्सा प्रहरीले उनीहरूको साथबाट लागुऔषधका साथै दुई थान मोबाइलसमेत बरामद गरेको छ।