त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण
  • सर्च कमिटीले तीनजनाको नाम सिफारिस गरेको भए पनि लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्त हुन सकेन
  • केयूलाई गति दिएका डा. भोला थापासामु त्रिविलाई लयमा फर्काउने चुनौती

झन्डै दुई महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन् । प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले शुक्रबार रिक्त रहेका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् । यसपटक सबै उपकुलपति खुला प्रतिस्पर्धामार्फत छनोट गरिएको सरकारले जनाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि तीन–तीनजनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । सोही सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।

नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहठ्ठा छन् ।

सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गरेसँगै करिब दुई महिनादेखि विश्वविद्यालय प्रमुख पदाधिकारीविहीन बनेका थिए । त्यसकारण शैक्षिक, प्रशासनिक तथा नीतिगत निर्णय प्रभावित भएका थिए । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको नियमित कामकारबाही पुनः लयमा फर्किने अपेक्षा गरिएको छ ।

केयूको सफल नेतृत्वपछि त्रिविमा नयाँ परीक्षा
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त प्राध्यापक डा. भोला थापा यसअघि काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपति रहिसकेका व्यक्ति हुन् । इन्जिनियरिङ शिक्षा, ऊर्जा अनुसन्धान तथा उच्च शिक्षामा नवप्रवर्तनका क्षेत्रमा उनको योगदान मानिन्छ ।

उनले मेकानिकल इन्जिनियरिङमा स्नातक, टर्बाइन रनरसम्बन्धी विषयमा स्नातकोत्तर तथा क्षरणसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका छन् । प्रारम्भिक उच्च शिक्षा अमृत साइन्स क्याम्पस (अस्कल) बाट र विद्यालय तहको शिक्षा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट पूरा गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्दा उनले आधुनिक शिक्षासँगै परम्परागत ज्ञान, सिप र स्थानीय प्रविधिलाई उच्च शिक्षासँग जोड्ने नीति अघि बढाएका थिए । नदीजन्य बालुवाबाट हुने क्षरण, ऊर्जा प्रणाली, हरित हाइड्रोजन, ऊर्जा संरक्षण, जलविद्युत्, हाइड्रोलिक टर्बाइन तथा हाइड्रो–मेकानिकल प्रणालीजस्ता विषयमा अनुसन्धान र शैक्षिक कार्यक्रम विस्तार गर्दै उनले केयूलाई अनुसन्धानमुखी विश्वविद्यालयका रूपमा स्थापित गर्न योगदान दिएका थिए ।

उनकै नेतृत्वमा केयूले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य विस्तार गरेको थियो । त्यसले विदेशी विद्यार्थी र अनुसन्धानकर्ताको आकर्षणसमेत बढाएको थियो । अब त्यही अनुभवलाई देशकै सबैभन्दा ठुलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा प्रयोग गर्ने चुनौती डा. थापासामु छ ।

त्रिविको सबैभन्दा ठुलो चुनौती वर्षौँदेखि अस्तव्यस्त रहेको शैक्षिक क्यालेन्डरलाई नियमित बनाउने, समयमै परीक्षा सञ्चालन गर्ने र नतिजा प्रकाशनलाई सुनिश्चित गर्ने हो । विश्वविद्यालयको प्रशासनिक सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानलाई प्रभावकारी बनाउनु पनि उनको प्राथमिक जिम्मेवारी हुनेछ ।

हाल त्रिभुवन विश्वविद्यालयमा देशका करिब ७८ प्रतिशत उच्च शिक्षा अध्ययनरत विद्यार्थी आबद्ध छन् । यस्तो विशाल संरचनालाई प्रभावकारी ढंगले सञ्चालन गर्नु कुनै पनि उपकुलपतिका लागि कठिन जिम्मेवारी मानिन्छ । यद्यपि, सरकारले त्रिभुवन विश्वविद्यालयभित्रका दलीय विद्यार्थी संगठन खारेज गरेपछि विगतको जस्तो प्रत्यक्ष राजनीतिक हस्तक्षेप कम हुने अपेक्षा गरिएको छ । त्यसका बाबजुद विद्यार्थीका माग, शैक्षिक सुधार र संस्थागत व्यवस्थापनबिच सन्तुलन कायम गर्दै विश्वविद्यालयलाई नयाँ गति दिनु डा. थापाको सबैभन्दा ठुलो परीक्षा हुनेछ ।

सुझावित समाचार