असइ थमन विक हत्या प्रकरण : जिल्लाबाट सफाइ पाएका पूर्वसांसद महतो दोषी ठहर

लोसपा सांसद अभिराम शर्माको सजाय घट्यो

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण
असइ थमन विक हत्या प्रकरण : जिल्लाबाट सफाइ पाएका पूर्वसांसद महतो दोषी ठहर

एमाले पूर्वसांसद लक्ष्मी कोइरी महतो

सशस्त्र प्रहरी बल नेपालका असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्वसांसदसहित ६ जनालाई पाँच वर्ष कैद, तीनजनालाई जन्मकैद फैसला सुनाएको हो ।

जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई पाँच वर्षका दरले कैद सजाय सुनाइएको हो । यी चारैजना फरार छन् । उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थितिअनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले पाँच कैद सजाय सुनाएको हो । यसैगरी, जिल्ला अदालतबाट सफाइ पाएका एमाले पूर्वसांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनही पाँच वर्ष कैदको सजाय सुनाएको छ ।

तीनजनाको जन्मकैद सजाय यथावत्
उच्च अदालतले घटनाका मुख्य अभियुक्तहरू प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई यथावत् राखेको छ । तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत उनीहरूलाई दोषी ठहर गरिएको हो ।

फैसलामा चिकित्सकीय प्रमाण, किटानी जाहेरी, अनुसन्धानका क्रममा दिइएका बयान, एम्बुलेन्सचालक सुशील मिश्र तथा अन्य साक्षीहरूको बयान र घटनास्थलका तस्बिरलाई मुख्य प्रमाण मानिएको छ । विशेषगरी सञ्जयकुमार साहले असइ विकमाथि आक्रमण गरिरहेको दृश्य देखिने तस्बिरलाई अदालतले बलियो प्रत्यक्ष प्रमाणका रूपमा स्विकारेको छ ।

यसअघि २८ मंसिर ०८० मा महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस मुद्दामा फैसला सुनाएको थियो । त्यतिवेला जन्मकैदको सजाय पाएका अभिराम शर्मासहितका व्यक्तिहरू पुनरावेदन नगरी फरार भएका थिए । कानुनअनुसार पुनरावेदनका लागि दिइने ७० दिन र म्याद थाम्ने थप ३० दिन गरी सय दिनको अवधि गुज्रिएपछि उच्च अदालतले कानुनी व्यवस्थाअनुसार स्वतः साधक सुनुवाइ (फैसला जाँच्ने प्रक्रिया) अघि बढाएको थियो । सोही क्रममा न्याय प्रशासन ऐन, २०७३ को दफा १० (४) बमोजिम अभियुक्तका परिवारका सदस्यले ९ वैशाख ०८१ मा उनीहरू निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । अढाई वर्षसम्म विभिन्न कारणले रोकिँदै ५०औँ पटकको पेसीमा मात्र यो मुद्दा किनारा लागेको हो ।

के थियो घटना?
यो घटना ०७२ मा मधेश आन्दोलनसँग जोडिएको छ । २५ भदौ ०७२ मा हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनको परीक्षा दिएर कार्यस्थल महोत्तरी फर्कँदै गरेका सशस्त्र प्रहरीका असइ थमन विक आन्दोलनकारीको आक्रमणबाट घाइते भएका थिए । उनलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्समा जनकपुर ल्याइँदै गर्दा तत्कालीन अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्स रोकेर बाहिर निक(ाली लाठी र ढुंगाले हानेर क्रूरतापूर्वक हत्या गरेका थिए ।
 

सुझावित समाचार