शंकास्पद गतिविधिमा संलग्न २६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अध्यागमन विभागले उनीहरूलाई ललितपुरको सानेपा र काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।
नेपालीको नाममा दर्ता भएका कम्पनीको आवरणमा उनीहरूले शंकास्पद गतिविधि गरेको सूचनाका आधारमा विभागले शुक्रबार र मंगलबार छापा हानेर उनीहरूलाई पक्राउ गरेको हो।
कीर्तिपुरमा एक हल भाडामा लिएर उनीहरूले आयुर्वेदिक औषधिका नाममा अवैध गतिविधि गरेको विभागको सूचना छ। उनीहरू सानेपामा एक घर भाडामा लिएर बस्दै आएका थिए। त्यहाँ पर्यटक भिसामा बस्दै आएका २६ जना भेटिएको र उनीहरूमध्ये नौजनालाई हिरासतमा राखेर अन्यको हकमा पासपोर्ट बरामद गरी अनुसन्धान भइरहेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। तीनजनालाई सानेपा तथा ६ जनालाई विभागले कीर्तिपुरबाट पक्राउ गरेको हो।
ड्राइभन ब्रिज इन्टरनेसनल र ट्रेड फेयर ट्रेडर्स नामक कम्पनीको आवरणमा उनीहरू शंकास्पद गतिविधिमा संलग्न थिए। ती कम्पनीका नेपाली सञ्चालकको विभागले बिहीबार बयान लिएको छ। आफूहरूलाई मासिक पैसा दिने गरी चिनियाँहरूले नै ती कम्पनी प्रयोग गर्दै आएको र उनीहरूको कामबारे जानकारी नभएको उनीहरूले बयानमा बताएका छन्। चिनियाँहरूले क्रिप्टो, अनलाइन ठगीजस्ता गतिविधि गरेको हुन सक्ने भएकाले प्रहरीसँग मिलेर विभागले अनुसन्धान गरिरहेको छ।