सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बयान लिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा विभागले उनीसँग बयान लिएको हो। स्रोतका अनुसार उनीसँग शुक्रबार नै बयान लिइएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेलमाथि छानबिन चलिरहेको छ। विभागको पत्रका आधारमा अघिल्लो साता सोमबार प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेर ल्याएको थियो। ललितपुरको प्रहरी प्रभाग पुल्चोकस्थित हिरासतमा रहेका उनीमाथि विभागले सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि छानबिन गरिरहेको छ।
विभिन्न चारवटा मुद्दा दायर भएर हाल डिल्लीबजार कारागारमा रहेका बिचौलिया दीपक भट्टसँगको शंकास्पद कारोबार र अन्य गैरकानुनी आर्थिक कारोबारमाथि केन्द्रित भएर पौडेलउपर अनुसन्धान चलिरहेको छ। आगामी साताभित्रै पौडेलविरुद्ध मुद्दा दायर गर्ने तयारी छ। पौडेलसहित करिब आधा दर्जन व्यक्तिसँग पनि विभागले बयान लिएको छ।
सोमबार नै पौडेलमाथि छानबिनका लागि तीन दिनको म्याद थप भएको छ। विभागको आग्रहका आधारमा विशेष अदालतले तीन दिनका लागि म्याद थप गरिदिएको हो।