नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी देशभक्त शक्तिहरूले सहकार्य र एकतामा ढिलाइ गर्दा देश भयानक दुर्घटनामा पर्ने भन्दै एमालेसहित कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि आह्वान गरेका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान पक्षधर शक्तिहरूसमेत एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। भारतमा जस्तै गरी नेपालमा पनि कम्युनिस्टको अस्तित्व मेटाउन दुनियाँभरका प्रतिक्रियावादीहरू लागेका उनको दाबी छ।
‘यो परिस्थितिमा ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, वैदेशिक हस्तक्षेप, दबाबविरुद्ध छिटो वामपन्थी, देशभक्त शक्ति एक भइहाल्नुपर्छ। मैले भोलि नै पार्टी एकता गरौँ भनेको छैन। मैले सकिन्छ भने सहकार्य आज सके, भरे, भोलि गरौँ, संसद्, सडकमा चुनावमा गरौँ भनेको छु,’ उनले भने।
०७४ सालको एकतालाई झन्डै दुईतिहाइ मतसहित जनताले अनुमोदन गरेको उल्लेख गर्दै प्रचण्डले त्यसको समीक्षा गरेर पुनः मिल्नुपर्ने प्रस्ट पारे। अन्यथा भयानक दुर्घटना हुने उनको बुझाइ छ। प्रचण्डले भने, ‘सहकार्य गर्न जति ढिलो गर्याे त्यति नै भयानक दुर्घटना हुनेवाला छ। ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्य हुन्छ।’ तर, हतार गरेर फुर्सदमा पछुताउनुपर्ने कुरामा पनि सतर्क हुनुपर्नेमा उनले जोड दिए।