- एक सातमा तीन लाख क्रियाशील सदस्य थपेर कुल १० लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्
आन्तरिक विवादको झमेला र निर्वाचनमा नराम्रो पराजय भोगेको प्रमुख प्रतिपक्ष दल कांग्रेसले क्रियाशील सदस्य १० लाख पुर्याउने लक्ष्यसहित काम थालेको छ । कांग्रेस नेताहरूका अनुसार पुराना करिब सात र नयाँ तीन गरी १० लाखहाराहारी सदस्य पुर्याउने लक्ष्य छ । २० असारसम्म सदस्यता टुंग्याउने गरी कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार करिब सात लाख पुराना क्रियाशील सदस्यताले सदस्यता अद्यावधिक गरिसकेका छन् । र, अब नयाँ सदस्यता तीन लाख वितरण गर्ने लक्ष्य रहेको स्नेहीले बताए । ‘समग्रमा १० लाखहाराहारीमा क्रियाशील सदस्य हुनेछन् । करिब सात लाखले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन् । नयाँ सदस्यताको काम भइरहेको छ । तीन लाखभन्दा बढीले नयाँ सदस्यता लिने अपेक्षा गरिएको छ । यसो गर्दा कांग्रेस नेपालमा सबैभन्दा धेरै सदस्य भएको पार्टी बन्दै छ,’ उनले भने ।
कांग्रेसले आगामी १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । क्रियाशील सदस्य कांग्रेसका प्रारम्भिक मतदाता हुन् । कांग्रेसमा क्रियाशील सदस्य नै वडादेखि केन्द्रीय नेतृत्व चयन गर्ने आधार भएकाले नयाँ क्रियाशील सदस्यतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत १० पुससम्म चार लाख ५० हजारले नवीकरण र एक लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए । गत पुसमा विशेष महाधिवेशन भएपछि कांग्रेस गगन थापाको नेतृत्वमा नयाँ ढंगले अघि बढेको छ । त्यसअघि १४औँ महाधिवेशनमा आठ लाख ५० हजार क्रियाशील सदस्य थिए ।
पूर्वसभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगायत इतर पक्षका नेता तथा कार्यर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन् । उनीहरूले क्रियाशील सदस्यता भने विशेष महाधिवेशनअघि नै नवीकरण गरिसकेका छन् ।
गत पुसमा तोकिएको १५औँ महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष र नेता शेखर कोइराला पक्षविनै विशेष महाधिवेशन भएको थियो । सदस्यता अद्यावधिक नगर्नेहरू अधिवेशन र महाधिवेशनमा भाग लिन नपाउने, तर रेकर्डमा भने रहने कांग्रेसले जनाएको छ ।
इतर पक्षले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई समायोजन गर्नुपर्नेलगायत माग राखेको छ । इतर पक्षले प्रदेशस्तरीय भेला गरिरहेको छ । प्रदेशस्तरीय भेला सम्पन्न भएपछि राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी इतर पक्षको छ । विशेष महाधिवेशनपछि संगठनात्मक पुनर्संरचना, प्रशिक्षण र सदस्यता विस्तारलाई प्राथमिकता राखेको नेताहरूले बताएका छन् । ‘कांग्रेस चलायमान भएको छ । सदस्यता लिनका लागि युवाहरू उत्साहित देखिएका छन् । संख्यात्मकका साथै गुणात्मकमा पनि ध्यान दिएका छौँ,’ स्नेहीले भने ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यता व्यवस्थित गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । २० असारसम्मको समय दिएर सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । केन्द्रीय प्रतिनिधि जिल्लामा पुगेर समन्वय र सहजीकरण गर्नेछन् । ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिहरूलाई कांग्रेसले निर्देशन दिएको छ । ‘नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको छ । २० असारभित्र क्रियाशील सदस्यताको काम सक्ने लक्ष्य छ,’ सहमहामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले भने ।
कोशी प्रदेशका १४ जिल्लामा १४ नेता केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् । ताप्लेजङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव र भोजपुरमा दिपनकुमार श्रेष्ठ खटिएका छन् । यस्तै, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रूद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुंगामा आङगेलु शेर्पा खटिएका छन् ।
मधेश प्रदेशका आठ जिल्ला सप्तरीमा रामपल्टन साह, सिराहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे र पर्सामा उज्ज्वलप्रसाद बराल खटिएका छन् ।
बागमती प्रदेशका १३ जिल्लामा दोलखामा ओम घर्तीमगर, रामेछापमा सीता मिजार, सिन्धुलीमा डा. मुकेश काफ्ले, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छा राना, काठमाडौंमा उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा. केदारनरसिंह केसी र मकवनपुरमा बद्रीप्रसाद अर्याल खटिएका छन् ।
गण्डकी प्रदेशका ११ जिल्लामा गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुशुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई र नवलपुरमा डा. गोपाल दहित केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् ।
लुम्बनी प्रदेशका १२ जिल्लामा रुकुममा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा र परासीमा केशवप्रसाद निरौला केन्द्रीय प्रतिनिधि खटिएका छन् ।
कर्णाली प्रदेशका १० जिल्ला हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालीकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, रुकुम पश्चिममा नारायण कोइराला, जाजरकोटमा छाया सुनार केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् ।
सुदूरपश्चिमका नौ जिल्ला अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वाँर, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेलधुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र कैलालीमा मधु आचार्य केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छन् ।
क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइयो
कांग्रेसले नयाँ क्रियाशील सदस्यता व्यवस्थित गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । २० असारसम्मको समय दिएर सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर समन्वय र सहजीकरण गर्नेछन् । ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिहरूलाई कांग्रेसले निर्देशन दिएको छ । ‘नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको छ । २० असारभित्र क्रियाशील सदस्यताको काम सक्ने लक्ष्य छ,’ सहमहामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले भने ।