एकैदिन देशका पाँच जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

देशका विभिन्न पाँच जिल्लामा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सिराहाको नरहा गाउँपालिका–३ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बिहान करिब ८ बजे अज्ञात सवारीसाधनले पैदलयात्री धनुषाको मिथिला नगरपालिका–१०, प्रगति टोल घर भई हाल नरहा–३, नयाँ चोहर्वामा होटेल व्यवसाय सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णुप्रसाद न्यौपानेलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा बिहान ९:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ।

त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका–७, लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा ताप्केतर्फबाट वालिङ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याब बोलेरो जिप सडकछेउमा पल्टिँदा जिपमा सवार १८ जनामध्ये वालिङ–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा वालिङ अस्पतालमा मृत्यु भएको छ।

काठमाडौंको कलंकीस्थित बाबा पेट्रोल पम्पनजिक शनिबार अपराह्न ३:३० बजे खड्कुलेबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०२४ प ४७९४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना६ख ६९३८ नम्बरको भाडाको तेल ट्यांकरले ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरचालक तनहुँ रूपाकोटका ६१ वर्षीय बलिन्द्र थापा गम्भीर घाइते भएका थिए। उनलाई नेसनल अस्पताल, कलंकी लगिएकामा उपचारका क्रममा साँझ ५:१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकस्थित पृथ्वी राजमार्गमा अपराह्न ४: ४५ बजे आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको भारतीय कारले सडक किनारमा रहेका दुई बालबालिकालाई ठक्कर दिएको थियो। दुर्घटनामा स्थानीय करिब ६/७ वर्षीया सायना थापा र सोही उमेरका उलियम थापा गम्भीर घाइते भएका थिए। थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकामा उपचारकै क्रममा दुवैजनाको मृत्यु भएको छ।

त्यसैगरी, म्याग्दीको धवलागिरी गाउँपालिका–४, राताखोलामा साँझ करिब ६ बजे बा.प्र.०१–००४ क १३०७ नम्बरको टिपर ब्याक गर्ने क्रममा हाइड्रोपावरमा कार्यरत कञ्चनपुर लालझाडी गाउँपालिका–४ निवासी ३० वर्षीय भीमबहादुर सार्कीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बेनीमा उपचारका क्रममा राति ९: ५८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

सुझावित समाचार