रास्वपाको नयाँ अध्याय

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण
  • स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै रास्वपाको संस्थागत वैधताको नयाँ अध्याय सुरु । सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । केन्द्रीय समिति, पदाधिकारी तथा सदस्यहरूको निर्वाचनसँगै महाधिवेशन औपचारिक रूपमा समापन भएसँगै संस्थागत वैधता प्राप्त गरेको छ ।

निर्वाचन परिणामपछि शुक्रबार साँझ नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शपथ समारोहमा निर्वाचन आयोगका प्रमुख भुवन केसीले सभापति तथा पदाधिकारीहरूलाई गोपनीयताको शपथ गराएका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ भने काठमाडौंमा गरिनेछ ।

७ असारदेखि तीन दिनका लागि सुरु भएको महाधिवेशन विभिन्न कारणले निर्धारित समयभन्दा तीन दिन लम्बिँदै ६ दिनपछि मात्रै सम्पन्न भएको हो । प्रतिनिधि विवाद, उम्मेदवारबिच सहमतिको प्रयास तथा विद्युतीय मतदान प्रक्रियामा ढिलाइका कारण महाधिवेशन लम्बिएको निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुँदा महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छिन् । सभापतिले मनोनयन गर्ने एक उपसभापति भने अझै बाँकी छ ।

महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् भने अर्को एक महामन्त्री सभापतिले मनोनयन गर्ने व्यवस्था छ । खुलातर्फ दुई सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छिन् भने थप दुई सहमहामन्त्री सभापतिले मनोनयन गर्नेछन् । यसैगरी सभापतिले कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्तासमेत मनोनयन गर्नेछन् ।

महाधिवेशनमा करिब तीन हजार नौ सय प्रतिनिधि सहभागी थिए । निर्वाचन आयोगका अनुसार पदाधिकारी निर्वाचनमा कुल एक हजार ३६१ मत खसेको थियो । तीमध्ये एक हजार २८८ मत प्रत्यक्ष र ७३ मत प्रवासबाट प्राप्त भएका हुन् । केन्द्रीय सदस्यमा भने दुई हजार ९५९ र प्रवासबाट ५० गरी कुल तीन हजार नौजनाले मतदान गरेका थिए ।

रास्वपाको पदाधिकारी निर्वाचनअघि सहमतिको प्रयासस्वरूप विभिन्न पदका आकांक्षीले उम्मेदवारी फिर्ता लिएका थिए । उपसभापति पदका आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले निर्विरोध भएका हुन् । श्रेष्ठ स्वयं वाग्लेका प्रस्तावक बनेका थिए ।

महिला उपसभापति पदमा पूर्वउपसभामुख इन्दिरा रानामगर र सांसद समीक्षा बास्कोटाले उम्मेदवारी फिर्ता लिँदै सोविता गौतमलाई समर्थन गरेका थिए । यसैक्रममा भूमि व्यवस्थामन्त्री प्रतिभा रावल सोविता गौतमकी प्रस्तावक बनेकी थिइन् भने निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी सांसद डा. तोसिमा कार्कीको प्रस्तावक बनेकी थिइन् ।

महामन्त्री पदमा गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाल, कवीन्द्र बुर्लाकोटी र रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका थिए । जगदीश खरेल र राजुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए । अन्तिममा महामन्त्री पदमा विपिन आचार्य, मनीष झा, गणेश कार्की र सागर ढकालबिच प्रतिस्पर्धा भएको थियो ।

खुला दुई सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा उत्रिएका थिए । महिला सहमहामन्त्री पदमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबिच प्रतिस्पर्धा भएको थियो । 

रास्वपाले पहिलो महाधिवेशनलाई सकेसम्म सर्वसम्मत र एकतामुखी बनाउने प्रयास गरेको थियो । पदाधिकारीहरू निर्विरोध चयन गराउने उद्देश्यले सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले आकांक्षी उम्मेदवारसँग छुट्टाछुट्टै छलफल गरी सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

‘पार्टीको पहिलो र एकताको महाधिवेशन’ भन्ने सन्देश दिन चाहेका सभापति लामिछानेले उम्मेदवारबिच सहमति कायम गराउन सक्रिय पहल गरेका थिए । यद्यपि, सबै आकांक्षीलाई सहमतिमा ल्याउन नसकिएपछि असहमत पक्ष लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा होमिएको थियो । महामन्त्री पदका उम्मेदवार मनीष झाले उम्मेदवारी फिर्ता लिनु मात्र होइन, लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुनु पनि पार्टीप्रतिको योगदान र त्यागको अर्को रूप भएको प्रतिक्रिया दिएका थिए ।

रास्वपाले महाधिवेशनलाई ‘प्रथम ऐतिहासिक महाधिवेशन’का रूपमा प्रचार गरे पनि व्यवस्थापन पक्ष भने आलोचनाको केन्द्रमा रह्यो । प्रतिनिधिले कार्यक्रम सञ्चालन, समय व्यवस्थापन र समग्र समन्वयमा कमजोरी देखिएको गुनासो गरेका छन् । 

प्रतिनिधिका अनुसार अत्यधिक गर्मीका बिच उद्घाटन तथा बन्दसत्रका लागि छनोट गरिएको स्थल उपयुक्त थिएन । तीन दिनमा सम्पन्न गर्ने घोषणा गरिएको महाधिवेशन ६ दिनसम्म लम्बिँदा नेतृत्वको योजना, समन्वय र कार्यसम्पादन क्षमतामाथि समेत प्रश्न उठेको उनीहरूको भनाइ छ । कतिपय प्रतिनिधि तथा उम्मेदवारले पार्टीले गुटबन्दी नगर्ने दाबी गरे पनि नेतृत्व पक्षले आफ्नै समूहलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

सञ्चारकर्मीले पनि मिडिया व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । मिडिया सेन्टर स्थापना गरिए पनि सूचना तथा आधिकारिक जानकारी नियमित उपलब्ध नगराइएको र यसले समाचार सम्प्रेषणमा कठिनाइ भएको उनीहरूको गुनासो छ ।

९९ केन्द्रीय सदस्यमध्ये ४९ महिला निर्वाचित
रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला छन् । शुक्रबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार खुला, समावेशी तथा प्रदेशगत क्लस्टरबाट भएको निर्वाचनमा ५० पुरुष र ४९ महिला विजयी भएका हुन् । केन्द्रीय सदस्यका ९९ पदका लागि ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । रास्वपाको विधानमा १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ । यसमा निर्वाचित ९९, निर्वाचित सभापति, सभापतिले मनोनयन गर्ने ५१ सदस्य र सातै प्रदेशका प्रदेश सभापति स्वतः केन्द्रीय समितिको सदस्य रहनेछन् ।

महाधिवेशनपछि नवनिर्वाचित सभापति रवि लामिछानेको पहिलो सम्बोधन- रास्वपाबाट कोही भयभीत हुनुपर्दैन, हामी लोकतन्त्रको पक्षमै छौँ र परिपक्व हुँदै अघि बढ्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले आफ्नो पार्टीको राजनीतिक अभिव्यक्ति र गतिविधिबाट कुनै पनि राजनीतिक दल, प्रबुद्ध वर्ग वा लोकतान्त्रिक संस्थालाई भयभीत नहुन आग्रह गरेका छन् । पार्टीभित्र अझै राजनीतिक परिपक्वता अभिवृद्धि चाहिएको स्वीकार गर्दै उनले रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र जिम्मेवार राजनीतिक संस्कारप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 

‘एउटा सत्तारूढ दल भर्खरै आएको दलको राजनीतिक अपरिपक्वता कहीँकतै मेरालगायत तपाईं साथीहरूले गर्ने अभिव्यक्ति, व्यवहार, संसदीय अभ्यास, पार्टीगत अभ्यासलगायत यी सबै कुराले यिनीहरू अझै आलोकाँचो छन्, लोकतन्त्र अप्ठ्यारोमा पार्छन् कि, गम्भीर छैनन् कि ? यी प्रश्नहरूको सामना गर्नुपरेको छ,’ उनले भने, ‘मैले भन्नैपर्छ– राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने देखाउने कुरामा चुकेका छौँ । यो कुरा मनन गर्नुपर्छ । हाम्रा व्यवहार, अभिव्यक्ति, संसदीय अभ्यासहरूमा देखाउनुपर्नेजति परिपक्वता देखाउन सकेका छैनौँ । तर, हाम्रो नियत, देशभक्ति र राष्ट्रभक्तिमा किञ्चित शंका नगर्नुहोला ।’

सभापति लामिछानेले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर हुन नदिने गरी काम गर्ने जिम्मेवारी आएकोसमेत बताए । ‘लोकतान्त्रिक संस्थालाई कमजोर हुन दिनुहुँदैन । यदि ती संस्था कमजोर भए देश नै दुर्घटनातर्फ जान्छ । देश दुर्घटनामा गयो भने घाटा कुनै एक पार्टीलाई मात्र होइन, सिंगो राष्ट्र र भावी पुस्तालाई हुन्छ,’ उनले भने, ‘त्यसैले रास्वपाको प्रत्येक सदस्य, प्रत्येक नेता र प्रत्येक सांसदले जिम्मेवार भएर काम गर्नुपर्छ । हामी जिम्मेवार छौँ भन्ने अनुभूति मतदातादेखि समग्र समाजले गर्नुपर्छ । रास्वपा साँच्चै परिपक्व राजनीतिक शक्ति बनेको छ भन्ने विश्वास दिलाउने गरी काम गर्न आवश्यक छ । परिपक्व हुन नसकेको राजनीतिक शक्तिलाई न देशले, न इतिहासले नै बोक्छ ।’ 

शासकीय स्वरूपबारे आफ्नो पार्टीले उठाउँदै आएको बहसलाई व्यवस्था परिवर्तनको नभई सुधार र पुनरवलोकनको प्रस्तावका रूपमा बुझ्न उनले आग्रह गरे । ‘हामीले शासकीय स्वरूपका विषयमा केही प्रश्न उठाएका छौँ । भविष्यमा अवसर र सामर्थ्य प्राप्त हुँदा पुनरवलोकनका क्रममा यी विषय हाम्रो एजेन्डा बन्न सक्छन् । त्यसैले सम्भावनाको ढोका कहिल्यै बन्द गर्नुहुँदैन,’ उनको भनाइ छ, ‘हामी यही संवैधानिक व्यवस्थाभित्र रहेर जनताको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यका साथ राजनीतिमा आएका हौँ भन्नेमा स्पष्ट छौँ ।’

अब ‘नयाँ पार्टी’ भन्दै गल्ती गर्ने छुट छैन : विपिन आचार्य, नवनिर्वाचित महामन्त्री 

महामन्त्रीमा निर्वाचित हुनुभएको छ, अब पार्टीलाई कसरी अघि बढाउनुहुन्छ ?
पार्टीलाई विधान, विधि र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्नु पहिलो प्राथमिकता हुनेछ । निर्णय प्रक्रिया पारदर्शी, जिम्मेवार र विधिसम्मत बनाउँदै पार्टी सञ्चालनको मुख्य आधार नै विधानलाई बनाउने प्रतिबद्धता छ ।

नयाँ कार्यसमितिको मुख्य प्राथमिकता के हुनेछ ?
पहिलो- प्राथमिकता पार्टीलाई अझ एकताबद्ध र संस्थागत बनाउनु हो । पार्टीमा आबद्ध हरेक सदस्यले रास्वपाको सदस्य हुन पाएकोमा गर्व गर्ने वातावरण निर्माण गर्छौँ ।

दोस्रो- प्राथमिकता ०८४ को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘लिडरसिप एकेडेमी’ र ८८ ‘क्यान्डिडेट क्लब’८८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहुनेछ । सक्षम, इमानदार र योग्य उम्मेदवार तयार पार्ने दीर्घकालीन योजना यही हो ।

तेस्रो- विगत चार वर्षमा भएका कमजोरीको गम्भीर समीक्षा गर्दै ती गल्ती दोहोरिन नदिने गरी पार्टीलाई अझ संस्थागत बनाउने हाम्रो लक्ष्य छ । पहिलो महाधिवेशनपछि रास्वपाले संस्थागत वैधता प्राप्त गरेको छ । अब ‘नयाँ पार्टी’ भन्दै कमजोरी गर्ने छुट छैन । पार्टीलाई विधि, विधान र लोकतान्त्रिक अभ्यासको आधारमा सञ्चालन गर्नु नै मेरो मुख्य जिम्मेवारी हुनेछ ।

सहमहामन्त्री हुनुहुन्थ्यो, महाधिवेशनबाट महामन्त्रीको अवसर पाउनुभयो, अबको चुनौती केलाई मान्नुहुन्छ ?
यो अवसरभन्दा पनि ठुलो जिम्मेवारी हो । यति ठुलो पार्टीको महामन्त्री हुनु सामान्य कुरा होइन । जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकुँला कि भन्ने चुनौतीको अनुभूति पनि हुन्छ । त्यसैले अझ बढी मिहिनेत, समर्पण र उत्तरदायित्वका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पार्टी जति ठुलो हुन्छ, चुनौती पनि त्यति नै ठुलो हुन्छ । तर, म ती चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै पार्टी हितमा प्रयोग गर्ने प्रयास गर्नेछु ।

पार्टीको नीति र राज्य सञ्चालनबिच कसरी समन्वय गर्नुहुन्छ ?
पार्टी नै सरकार सञ्चालनको आधार हो । पार्टीको विचार, मूल्य र सिद्धान्त जति स्पष्ट र बलियो हुन्छ, सरकार सञ्चालन पनि त्यति नै प्रभावकारी हुन्छ । त्यसैले पार्टीका मूल्य–मान्यता र राज्य सञ्चालनबिच सशक्त सेतु निर्माण गर्न मेरो भूमिका रहनेछ । विधि, नीति र सुशासन केन्द्रमा राखेर मिहिन ढंगले काम गर्नेछु ।

See More On

सुझावित समाचार