हेटौँडा- मध्य कात्तिकमा मकवानपुरका खेतमा धान पाकेको छ । किसानलाई बाली भित्र्याउन चटारो छ । तर, धान काट्ने र भित्र्याउन खेतमा काम गर्ने श्रमिक पाउन सहज छैन ।
स्थानीय युवा वैदेशिक रोजगारीमा गएपछि हेटौँडा उपमहानगरपालिकाका पूर्वी क्षेत्रका किसान सर्लाही र बाराबाट आएका मौसमी कृषि मजदुरको भर पर्न बाध्य छन् ।
अहिले हेटौँडाका विभिन्न फाँटमा तराईबाट आएका मजदुर धान काट्ने, उठाउने, बोक्ने र झार्ने काममा खटिएका छन् । स्थानीय कामदार पाउन कठिन हुनु र उपलब्ध भए पनि ज्याला महँगो पर्नुले किसानलाई बाहिरबाट मजदुर बोलाउनुपर्ने अवस्था सिर्जना भएको छ । धान रोप्ने, गोडमेल गर्ने र काट्ने सिजनमा तराईका विभिन्न जिल्लाबाट मजदुर मकवानपुर आउने गरेका छन् ।
गाउँका युवा बिदेसिएपछि खेतीपातीमा श्रमिक अभाव बढेको किसानको अनुभव छ । पहिले गाउँकै मानिस मिलेर खेती गर्ने चलन रहे पनि अहिले खेतमा काम गर्ने जनशक्ति पाउनै मुस्किल भएको उनीहरू बताउँछन् ।
हेटौँडा उपमहानगरपालिका– १७ का वडाध्यक्ष उद्धव सत्यालका अनुसार करिब नौ हजार जनसंख्या रहेको वडाबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म श्रम गर्न सक्ने क्षमताका मानिस वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बाहिरिएका छन् । युवा बाहिरिने क्रम बढेसँगै कृषि क्षेत्रमा काम गर्ने जनशक्ति पनि घट्दै गएको उनको भनाइ छ । ‘पहिले गाउँमा अर्मपर्म गरेर खेती लगाउने चलन थियो । मानिस एक–अर्काको खेतबारीमा काम सघाउँथे । अहिले एउटै घरका एक–दुईजनासम्म बिदेसिएका छन्,’ उनले भने, ‘ज्यालामा काम गर्ने मजदुर पाउने त कुरै छोडौँ । आफ्नै खेतबारीमा काम गर्ने जनशक्ति छैन । कृषि श्रमिक पाइहाले पनि ज्याला महँगो छ । त्यसैले पनि तराईबाट कृषि श्रमिक ल्याउने क्रम बढेको छ ।’
१३ जनाको समूहसहित सर्लाहीबाट हेटौँडा
सर्लाहीको धनकौल नगरपालिका– २ का २८ वर्षीय दीपेन्द्र माझी १३ जनाको समूहसहित धान काट्न हेटौँडा आएका छन् । दुई साताअघि आएका उनीहरूको समूह हेटौँडा– ६, चौघडाकी टीकामाया हुमागाईंको खेतमा धान काट्ने र भित्र्याइरहेको छ । ‘हामी तराईतिरबाट काम गर्न आउँछौँ । १०–१५ दिनदेखि यहीँ छौँ । काम पाइन्जेल बस्छौँ,’ उनले भने ।
माझी र उनको समूह यसअघि पनि धान रोप्ने र काट्ने सिजनमा मकवानपुर आउने गरेको थियो । खेतीपातीको काम हुने समयमा अर्को जिल्लामा पुगेर मजदुरी गर्ने र काम सकिएपछि घर फर्कने उनीहरूको नियमित मौसमी रोजगारी बनेको छ ।
हेटौँडा– ६, चौघडाकी किसान टीकामाया हुमागाईंले खेतमा काम लगाउन स्थानीय श्रमिक पाउन छाडेपछि तराईबाट मजदुर बोलाउन थालेको बताइन् । पहिले गाउँकै मानिस मिलेर खेतीपाती गर्ने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको उनको भनाइ छ । ‘पहिले वरपरकै मान्छे मिलेर काम गर्थ्यौँ । अहिले खेतमा काम गर्ने मान्छे पाउनै छाड्यो । युवा सबै विदेश जान थाले, गाउँमा काम गर्ने त बुढाबुढी मात्रै छन्,’ उनले भनिन् ।
उमेर बढ्दै जाँदा किसान आफैँले खेतमा खटिएर सबै काम गर्न सक्ने अवस्था पनि नरहेको हुमागाईंले बताइन् । तराईबाट आएका मजदुरले धान काट्ने, उठाउने, बोक्ने र झार्नेसम्मका काम एकैपटक गरिदिने भएकाले खेती भित्र्याउन सहज भएको उनको अनुभव छ ।
उनले आफ्नो सात कट्ठा खेतको धान काट्ने र झार्ने कामका लागि प्रतिकट्ठा एक हजार रुपैयाँका दरले मजदुर लगाएकी छिन् । धान काट्ने काम सकिए पनि उठाएर थ्रेसर लगाउने काम बाँकी रहेको उनले बताइन् । ‘यहाँ काट्ने मान्छे छुट्टै, उठाउने र झार्ने मान्छे छुट्टै खोज्नुपर्छ । तराईबाट आएका मजदुरले सबै काम गरिदिन्छन्,’ उनले भनिन् ।
धान पाकेर काट्ने वेला भइसकेको र वर्षाको सम्भावनाले पनि छिटो भित्र्याउनुपर्ने अवस्था रहेको हुमागाईंले बताइन् । समयमा श्रमिक नपाउँदा खेतमा पाकेको बाली बिग्रिने जोखिमसमेत हुने भएकाले उपलब्ध मजदुरबाटै सबै काम गराउनुपर्ने बाध्यता किसानलाई छ ।
एक दशकदेखि मौसमी मजदुरीमा
बाराको सिम्रौनगढ नगरपालिका– ११ का ५९ वर्षीय भिखारी महतो करिब १० वर्षदेखि धान काट्ने सिजनमा मकवानपुर आउने गरेका छन् । आफ्नै जग्गाजमिन नभएकाले परिवारको खर्च जुटाउन मौसमी कृषि मजदुरी गर्नुपरेको उनले बताए । ‘आफ्नो जग्गाजमिन छैन । भएको पनि थोरै छ, त्यसले खान पुग्दैन । वर्षभरि खर्च चलाउन मजदुरी गरेर कमाउनुपर्छ,’ उनले भने ।
महतो खेतीको सिजनमा १०–१५ दिन काम गरेर घर फर्कने गर्छन् । यसपटक तिहारसम्म काम गर्ने र मौसम अनुकूल भए छठ अघिसम्म बस्ने उनको योजना छ । पानी परे घर फर्कने र पछि फेरि काममा आउने उनले बताए ।
उनको अनुभवले खेतीपातीको सिजनमा अर्को जिल्लामा गएर काम गर्नु धेरै मजदुरका लागि परिवारको खर्च जुटाउने माध्यम बनेको देखाउँछ । तर, मौसमी कामको अवधि मौसम र खेतमा उपलब्ध काममा निर्भर हुने भएकाले वर्षभरि नियमित आम्दानीको सुनिश्चितता हुँदैन ।
बाराकै ५५ वर्षीय बुधन साह गुप्ता पनि दशकौँदेखि धान काट्न कहिले हेटौँडा त कहिले चितवन पुग्ने गरेका छन् । तर, हेटौँडामा काम गर्दा ज्याला र कामको क्षेत्रफलका विषयमा समस्या हुने गरेको उनको गुनासो छ ।
गुप्ताका अनुसार प्रतिकट्ठा एक हजार रुपैयाँ दिने सहमति भए पनि १० कट्ठाको काम भनेर १५–१६ कट्ठा वा त्योभन्दा बढी क्षेत्रमा काम लगाउने गरिएको छ । कामको क्षेत्रफल र ज्यालाको हिसाब स्पष्ट नहुँदा आफूहरूले गरेको श्रमअनुसारको पारिश्रमिक पाउन कठिन हुने उनले बताए । ‘१० कट्ठा भनेर काम लगाउँछन्, तर १५–१६ कट्ठा काट्नुपर्छ । पैसा पनि हिसाब गरेर दिँदैनन्,’ उनले भने ।
काम गर्दा खाना दिने भनिए पनि कतिपय किसानले नदिने गरेको गुप्ताको गुनासो छ । ‘खाना दिन्छु भन्छन्, पछि दिँदैनन् । आफ्नै खानुपर्छ,’ उनले भने ।
हेटौँडामा काम गरेर अपेक्षित आम्दानी नभए चितवन जानेबारे आफूहरूबिच छलफल भइरहेको उनले बताए । कामको क्षेत्रफल, पारिश्रमिक र खानाको व्यवस्थापनबारे स्पष्ट सहमति नहुँदा मौसमी मजदुरले आफ्नो श्रमको उचित मूल्य पाउन कठिन हुने उनको भनाइ छ ।
रोपाइँदेखि कटाइसम्म तराईका मजदुर
हेटौँडा– १७, चुन्नाँडाका किसान श्रीहरि न्यौपानेले आफ्नो ६ कट्ठा खेतको धान थ्रेसर लगाएर झार्ने तयारी गरेका छन् । उनका अनुसार धान रोप्ने सिजनदेखि नै तराईबाट आउने मजदुरले मकवानपुरका खेतमा काम गर्दै आएका छन् । ‘असारमा धान रोप्ने वेला बिउ काढ्न आउँछन् । साउन–भदौमा गोडमेल गर्न आउँछन् । अहिले धान काट्ने र भित्र्याउने काममा आएका छन्,’ उनले भने ।
न्यौपानेका अनुसार मजदुर काम पाइन्जेल मकवानपुरमा बस्ने गरेका छन् । केही छठपछि घर फर्कन्छन् भने केही मंसिरसम्मै काम गर्छन् । स्थानीय श्रमिक नपाउँदा मकवानपुरका फाँटमा तराईबाट आएका मजदुरको सहभागिता बढेको उनले बताए । ‘हाम्रोतिर काम गर्ने मान्छे पाउनै छाड्यो । सबै विदेश गइसके । मकवानपुरका फाँटमा अहिले तराईबाट आएका मजदुरले नै धेरै काम गरिरहेका छन्,’ उनले भने ।
तराईबाट आउने युवा मजदुरको संख्या पनि पहिलेभन्दा घट्दै गएको न्यौपानेको बुझाइ छ । त्यहाँका युवा पनि वैदेशिक रोजगारीमा जान थालेपछि आगामी दिनमा मौसमी कृषि मजदुर पाउन थप कठिन हुने उनको चिन्ता छ ।
अहिले मकवानपुरका किसानले तराईबाट मजदुर बोलाएर खेतीपातीको काम चलाइरहे पनि यो व्यवस्था सधैँ सहज नहुन सक्ने उनको भनाइ छ । स्थानीय क्षेत्रमा मात्र नभई मजदुर आउने जिल्लामा समेत युवा बिदेसिन थालेपछि कृषि क्षेत्रमा श्रमिक अभाव अझ बढ्न सक्ने देखिएको छ ।
खेतीदेखि पशुपालनसम्म बाहिरकै श्रमिक
हेटौँडा– ४ का किसान नवराज दाहालले हेटौँडा– १७, गैरीगाउँमा एक बिघा धान खेती गरेका छन् । स्थानीय कृषि मजदुर कम पाइने र पाइए पनि महँगो पर्ने भएकाले बाहिरबाट मजदुर बोलाउनुपरेको उनले बताए । ‘यहाँका मान्छे काम गर्न कम रुचाउँछन् । एक–दुई दिन काम गरेपछि छाडेर हिँड्छन्,’ उनले भने ।
दाहालको गाईफार्ममा समेत बाहिरबाट ल्याइएका मजदुरले काम गर्दै आएका छन् । खेतीपातीदेखि पशुपालनसम्मका काममा स्थानीय श्रमिक नपाउँदा तराईका मजदुरको भर पर्नुपरेको उनले बताए ।