लक्ष्मी ग्रुपको सहकार्यमा बोस्चको ब्रान्ड स्टोर सञ्चालन

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

विश्वप्रसिद्ध जर्मन होम अप्लायन्स ब्रान्ड बिएसएच होम अप्लायन्सेस प्रालिले नेपालमा आफ्नो पहिलो बोस्च ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले व्यावसायिक घराना लक्ष्मी ग्रुपसँगको सहकार्यमा ललितपुरको जावलाखेलमा स्टोर सञ्चालनमा ल्याएको हो । 

लक्ष्मी ग्रुपका अनुसार, नयाँ स्टोरमा रेफ्रिजेरेटर, वासिङ मेसिन, डिसवासर, फुड प्रिपरेसन उपकरण तथा बिल्ट–इन किचन समाधानसहितका प्रिमियम उत्पादन प्रदर्शन गरिएका छन् । कम्पनीले यसमार्फत जर्मन इन्जिनियरिङ र अत्याधुनिक प्रविधिलाई नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने लक्ष्य राखेको जनाएको छ । कम्पनीले विशेषगरी फ्रन्ट–लोड वासिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन उपकरणलाई नेपाली बजारका प्रमुख सम्भावनायुक्त उत्पादनका रूपमा लिएको छ । नेपालमा फ्रन्ट–लोड वासिङ मेसिनले कुल लन्ड्री उपकरण बिक्रीको ७० देखि ८० प्रतिशत हिस्सा ओगट्ने गरेको कम्पनीको दाबी छ । यसले नेपाललाई यो क्षेत्रकै बलियो फ्रन्ट–लोड बजारमध्ये एक बनाएको बताइएको छ ।

बदलिँदो जीवनशैली र समय बचत गर्ने उपकरणप्रतिको सचेतनाका कारण डिसवासरको माग पनि क्रमशः बढिरहेको कम्पनीले जनाएको छ । यी उपकरणले उत्कृष्ट स्वच्छता र सफाइ परिणाम प्रदान गर्नुका साथै घरपरिवारलाई समय, पानी र ऊर्जाजस्ता महत्वपूर्ण स्रोत बचत गर्न मद्दत गर्ने बताइएको छ । बिल्ट–इन किचन समाधानको बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले ओभन, हब तथा हुडजस्ता उत्पादनहरूलाई पनि प्राथमिकतामा राखेको छ । आधुनिक डिजाइन र उन्नत सेन्सर प्रविधिसहितका यी उत्पादनले प्रिमियम आवास र मोड्युलर किचन संस्कृतिलाई टेवा पुर्याउने विश्वास कम्पनीको छ ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विश्वस्तरीय प्रविधि र गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ पुर्याउने आफ्नो दीर्घकालीन प्रतिबद्धताअन्तर्गत बोस्चसँगको सहकार्य थप मजबुत बनाइएको बताए । उनले नेपालमा प्रिमियम होम अप्लायन्स बजार विस्तार हुँदै गएकाले बोस्चको उपस्थिति अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सुझावित समाचार