नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपालले विदेशमा २२ अर्ब डलरभन्दा बढी लगानी गरेको बताएका छन् । विभिन्न देशका सरकारी ऋणपत्रमा (ट्रेजरी) सो रकमबराबरको लगानी सुरक्षित राखिएको उनले जानकारी दिए । संसद्को अर्थ समितिमा बोल्दै उनले लगानीको झन्डै ६० प्रतिशत हिस्सा अमेरिकी ट्रेजरीमा रहेको बताए ।
‘अहिले नेपालले यसबाट औसत ३.८ प्रतिशत ब्याज पाइरहेको छ । तर, अमेरिकी राष्ट्रपतिले ब्याजदर घटाउन दबाब दिएका कारण त्यहाँ ब्याजदर घट्दा नेपाललाई झन्डै ३५ अर्ब रुपैयाँ आम्दानी नोक्सान हुन सक्छ,’ उनले भने, ‘नेपालसँग विदेशी मुद्राको सञ्चिति बढेकाले यो वर्षको कुल आम्दानी घट्नेछैन, बरु पोहोरकै हाराहारीमा वा केही बढी नै हुनेछ ।’ यसको विकल्पका रूपमा अब ‘सोभरेन वेल्थ फन्ड’ बनाएर अलि बढी नाफा दिने म्युचुअल फन्डहरूमा लगानी गर्नेबारे सोचिएको उनले बताए ।
गभर्नर विश्वनाथ पौडेलले सरकारको वित्त नीति (बजेट) र राष्ट्र बैंकको मौद्रिक नीतिबिच उचित समन्वय गरेर मात्रै देशको आर्थिक विकासमा ठोस नतिजा ल्याउन सकिने बताए । अर्थ समितिमा बोल्दै उनले आगामी दिनमा यी दुई नीतिबिच तालमेल मिलाएर आर्थिक विकासलाई गति दिने गरी काम भइरहेको बताए ।