म्याग्दीको रघुगंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ । पालिकाको बिहीबार सम्पन्न २१औँ गाउँसभाबाट ०८३/८४ का लागि ५६ करोड ४ लाख २० हजार सात सय रुपैयाँको बजेट पारित भएको हो ।
गाउँसभाबाट आगामी वर्षका लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकमसमेतलाई स्रोत अनुमान गरी बजेट पारित गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गरेको बजेट छलफलपछि सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने रघुगंगा गाउँपालिका नेपालमै पहिलो स्थानीय तह बनेको छ ।
रघुगंगाले चालूतर्फ ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगततर्फ १८ करोड २ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ३१ लाख, सशर्त अनुदानतर्फ २२ करोड ७४ लाख, विशेष अनुदानतर्फ १ करोड ५० लाख, समपूरक अनुदानतर्फ ७० लाख गरी रु ३४ करोड ३५ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १ लाख ७ हजार, समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ३९ लाख ९८ हजार समावेश गरिएको छ । बजेटमा संघीय सरकारको राजस्व बाँडफाँडतर्फ १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फको राजस्व १ करोड ५ लाख तथा चालू आर्थिक वर्षमा खर्च नभई बाँकी रहने ७ करोड ७६ लाख रकमलाई समावेश गरिएको छ ।
गाउँसभाबाट पूर्वाधार विकासतर्फ १३ करोड ४५ लाख ७२ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड २१ लाख ५१ हजार, सामाजिक विकासतर्फ २६ करोड ६९ लाख ७० हजार, आर्थिक विकासमा १ करोड ५६ लाख २७ हजार ७ सय तथा वन, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ११ लाख बजेट विनियोजन गरेको छ ।