- प्रदेशका भेलाहरूमा नेता–कार्यकर्तालाई दिइएको अनुरोधपत्रमा भनिएको छ–जिम्मेवार पदमा आसीन तपाईंको आजको एउटा निर्णयले तपाईं भविष्यमा नायक या खलनायकका रूपमा चित्रित हुने विषम परिस्थितिमा उभिइरहनुभएको छ । कमरेडहरू अब हामी यो आन्दोलनको मलामी बन्ने कि यो आन्दोलनलाई जीवन दिने ? प्रश्नहरू छन् । कमरेडहरू आन्दोलनको मलामी बन्नुहुनेछैन ।
एमालेभित्रका युवा नेताहरूआबद्ध ‘पुनर्जागरण अभियान’ले पार्टीको भविष्य जोगाउन नेतृत्व हस्तान्तरण र संगठनात्मक रूपान्तरणको पक्षमा दृढतापूर्वक उभिन नेता–कार्यकर्तासमक्ष आह्वान गरेको छ । अभियानले नेपाली कम्युनिस्ट आन्दोलन अहिले निर्णायक मोडमा पुगेको उल्लेख गर्दै ‘आन्दोलनको मलामी बन्ने कि त्यसलाई नयाँ जीवन दिने’ भन्ने यक्ष प्रश्न खडा भएको जनाएको छ । त्यसैले, इतिहासको बोझ बोकेर नबसी परिवर्तनको पक्षमा उभिनुपर्ने उनीहरूको आग्रह छ ।
पार्टीले गठन गरेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशभर सुझाव संकलन अभियान सुरु गरेलगत्तै पुनर्जागरण अभियानले भेलामा सहभागी नेता–कार्यकर्तालाई ध्यानाकर्षणसहितको अनुरोधपत्र वितरण गरेको हो । ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान– २०८२’ नाम दिइएको उक्त अभियानले बागमती र कोशी प्रदेशस्तरीय भेलामा सहभागी जिल्ला तथा प्रदेश तहका पदाधिकारीहरूलाई पत्र बुझाएको छ ।
सोमबार बागमती प्रदेशको भेला सम्पन्न भएको थियो भने बुधबार कोशी प्रदेशको भेला सकिएको छ । दुवै भेलामा सहभागी अधिकांश नेता–कार्यकर्ताले पार्टी पुनर्गठन, नेतृत्व पुस्तान्तरण र संगठनात्मक रूपान्तरणको पक्षमा खुलेर धारणा राखेका छन् । प्रदेशस्तरीय यी छलफलसँगै एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तल्ला कमिटीसम्म विस्तार भएको छ ।
‘अहिले एमालेको रूपान्तरण र पुस्तान्तरण गरेर तीव्र गतिमा नेपालको कम्युनिस्ट आन्दोलनमा भइरहेको क्षतिलाई रोक्न सकिएन भने तपाईंको सांगठनिक पद केही वर्ष जीवित रहन सक्ला, तर कम्युनिस्ट आन्दोलन भविष्यमा नेपालमा कहिल्यै पनि नउठ्ने गरी जमिनमुनि धस्सिनेछ,’ उनीहरूको अनुरोधपत्रमा छ, ‘फलतः नेपालको राष्ट्रियता र समृद्धिको आन्दोलन र सपना त्यहीँ तुहिनेछ । तसर्थ, अझै ढुकढुक गरिरहेको नेपालको कम्युनिस्ट आन्दोलन जनताको पहिलो रोजाइ शक्तिको रूपमा जोगाउन तपाईंलाई हिम्मत र उत्साहका साथ रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको पक्षमा उभिन हार्दिक आग्रह गर्दछौँ ।’
अभियन्ताहरूले निर्णायक घडीमा पार्टी नै समाप्त हुने आन्दोलनको मलामी बन्ने कि पार्टी र आन्दोलनलाई जीवन दिने भन्दै गम्भीर प्रश्न पनि उठाएका छन् । ‘जिम्मेवार पदमा आसिन तपाईंको आजको एउटा निर्णयले तपाईं भविष्यमा नायक या खलनायकका रूपमा चित्रित हुने विषम् परिस्थितिमा उभिइरहनुभएको छ । कमरेडहरू अब हामी यो आन्दोलनको मलामी बन्ने कि यो आन्दोलनलाई जीवन दिने ? प्रश्नहरू छन् । कमरेडहरू आन्दोलनको मलामी बन्नुहुनेछैन ।’ अनुरोधपत्रमा भनिएको छ ।
पूर्वकेन्द्रीय सदस्य रमेश पौडेल, नवीना लामा, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीसहित दर्जनौँ एमालेका युवाहरू पार्टी पुनर्गठनको दबाब अभियानमा जोडिएका छन् ।
अभियन्ताहरूले अहिलेकै अवस्थामा स्थानीय चुनावमा गए पार्टीले अहिलेसम्मकै अपूरणीय क्षति व्यर्होन सक्ने चेतावनी पनि दिएका छन् । ‘आसन्न स्थानीय निर्वाचन हाम्रो सम्मुखमा आइपुगिसकेको छ । यदि हामी यही वैचारिक विचलन, सांगठनिक गतिहीनता, कार्यशैलीमा अव्यावहारिकता र युवा पुस्ताको आक्रोश बोकेर निर्वाचनमा गयौँ भने पार्टीले बेहोर्ने क्षति अपूरणीय हुनेछ । तसर्थ, परिवर्तित समयको पदचापलाई बुझ्दै छिटोभन्दा छिटो पार्टी रूपान्तरणसहित पुनर्संरचना महाभियानमा होमिनुबाहेक हामीसँग अर्को विकल्प बाँकी छैन,’ अनुरोधपत्रमा भनिएको छ ।
कुनै पनि आन्दोलन व्यक्तिभन्दा ठुलो हुन्छ, कुनै पनि नेता इतिहासभन्दा ठुलो हुँदैन र कुनै संगठन पुनर्जीवन दायराभन्दा माथि उठ्न सक्दैन भन्दै उनीहरूले अग्रजहरूको अनुभवको मियो र नयाँ पुस्ताको ऊर्जावान नेतृत्वको संयोजनबाट मात्रै आन्दोलनलाई जोगाउन सकिने जिकिर पनि उनीहरूले गरेका छन् ।
‘मैले बोल्दा नेताले के भन्छन् भनेर होइन वास्तविकता के हो त्यही धारणा राख्नुहोस्, तपाईंको मत नै एमाले बढ्ने वा सड्ने को निर्णायक मत हुन सक्छ, जीवनभर तपाईंलाई पछुतो हुने काम नगर्नुहोस्, यसभन्दा अगाडि चाबी नेताको हातमा मात्र थियो तर अहिले तपाईंको हातमा छ । त्यसैले जुरुक्क उठ्नुस्, मुख खोल्नुस् रूपान्तरण र परिवर्तनका पक्षमा वकालत गर्नुहोस् कम्तीमा जनता कार्यकर्ताको आँखामा नगिर्नुस् जनताबाट, सामाजिक र राजनीतिक जीवनको तिरस्कार हुनबाट बच्नुस्,’ भेलामा सहभागी भएकाहरूले सचेत पार्दै उनीहरूले लेखेका छन्, ‘हालको अवस्थामा रहेको आचरण, व्यवहार कार्यशैली, नीति, नेतृत्व र संगठनमा आमूल परिवर्तनविना जनतामा जानै सकिँदैन । यसको पहिलो पाइला नेतृत्वको परिवर्तन गरेर जानुको विकल्प छैन ।’