नेपालमा यस वर्षको मनसुन आगमनमा केही दिन ढिलाइ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको हो।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष हालसम्म मनसुन प्रणाली भित्रिएको छैन।
‘एल निनो’का कारण मनसुन कमजोर हुन सक्ने
विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ। यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ। एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसुन ढिलो भित्रिएको तथ्यांक छ। विभागले सार्वजनिक गरेको विगत ११ वर्षको विवरणअनुसार सन् १९७२ मा १८ जुन, १९८२ मन २७ जुन, १९८३ मा २४ जुन, १९८७ मा १४ जुन, १९९२ मा २१ जुन, १९९७ मा १४ जुन, २००२ मा १५ जुन, २००९ मा २३ जुन, २०१६ मा १५ जुन, २०१९ मा २० जुन र २०२३ मा १४ जुनमा मनसुन भित्रिएको थियो।
तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
मनसुन ढिलो भए तापनि हाल नेपालमा पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको प्रभाव भने कायमै छ। जसका कारण विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यमस्तरको वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमित रूपमा सूचना अद्यावधिक गर्दै जाने जनाएको छ।