बागमती भेलापछि ओलीको आशंका– ‘पुनर्गठन’का नाममा पार्टी फुटाउने प्रयास भइरहेको छ

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले ‘पुनर्गठन’का नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् । पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुन्डुस्थित निवासमा पुगेका अगुवा नेता–कार्यकर्तासँगको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका थिए । ‘अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेका वेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ, तपाईंहरू सजग हुनुस्,’ ओलीको भनाइ उद्धृत गर्दै एक सहभागी केन्द्रीय सदस्यले भने, ‘तपाईंहरूले देख्नुभएको छ, अहिले पार्टीभित्रै केही लोभीपापी देखिए, त्यसैले म अहिलेलाई रामराम मात्रै भन्न सक्छु, तर काँधै त थाप्न सक्दिनँ ।’
ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललक्षित आक्रोश पोखेको ती केन्द्रीय सदस्यले बताए । ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर, म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु,’ उनको भनाइ थियो । 
शनिबार दिउँसो आयोजित प्रदेश भेलामा उपाध्यक्ष पौडेलले केन्द्रीय सचिवालयले पार्टीलाई पुनर्गठनका लागि अगाडि बढाएको भन्दै निर्णयबाट पछि फर्किन नसक्ने प्रस्ट्याएका थिए । त्यस्तै, महासचिव शंकर पोखरेलले जिल्लाको नेतृत्व गरिरहेका अध्यक्षहरूलाई पार्टी अहिले कुन अवस्थामा छ भन्ने गहिरोसँग आत्मसात् गरी सुझाव दिन आग्रह गरेका थिए । 
शुक्रबार सबैजसो जिल्ला अध्यक्षले नेतृत्व फेर्न नहुने सुझाव राखेको र त्यही विषय सञ्चारमाध्यममार्फत बाहिर आएको विषयतिर लक्षित गर्दै पोखरेलले व्यक्तिको नभएर पार्टी र आन्दोलनको पक्षमा लाग्नसमेत सचेत गराएका थिए । ‘अहिले एमालेमा साँच्चै गहिरो संकट छ, त्यसलाई तपाईंहरूले आत्मसात् गरेर सुझाव दिनुस्, सबै ठिकठाक छ जसरी प्रस्तुत नहुनुस्, व्यक्तिकेन्द्रित नहुनुस्, तपाईंहरूको तरिकाले आन्दोलन बच्दैन,’ पोखरेलको भनाइ थियो । बागमती प्रदेशको भेला शनिबार सकिएको छ ।
 

See More On

सुझावित समाचार