नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण
नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार

शुक्रबार नेपाली भूमि प्रवेश गरेका एसएसबी

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– ५ थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन् । एसएसबीको टोली शुक्रबार बिहान ७ बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन् । नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै लखेटेको दृश्य सामाजिक सञ्जालमा छ ।

नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि १७ जेठमा नेपाली भूमिमा प्रवेश गरेका थिए । शुक्रबार बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीयले ‘नेपाली भूमिमा किन प्रवेश गरेको ?’ भन्दै आपत्ति जनाएका थिए । स्थानीय र भारतीय सुरक्षाकर्मीबिच केही समय सामान्य विवादसमेत भएको थियो । स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए । 

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखेपछि स्थानीयले भारततर्फ जान भनेपछि केही समय विवाद भएको बताए । दुवै पक्षका सुरक्षाकर्मीको पहलमा समस्या समाधान गरिएको उनले बताए । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले नेपाल–भारत सीमानजिकै रहेको एउटा घोला (पानी जमेको सानो खोल्सा)मा पानी जमेकाले त्यसलाई पार गर्न नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली नेपालतर्फ आएको बताए । ‘नियमित गस्तीका क्रममा भारतीय सुरक्षाकर्मी हिँडिरहेको समयमा सुस्ताको घोलामा पानी रहेकाले घोला पार गर्न नेपाली सिमानामा आएको भन्ने खबर प्राप्त भएको छ,’ नेपालले भने, ‘लगत्तै नेपाली सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

२४ किलोमिटर क्षेत्र सीमास्तम्भविहीन, सिमलको रुख नै पिलर
पश्चिम नवलपरासीको नेपाल–भारत सीमामा कुल १६ वटा सीमास्तम्भ छन् । सनहीदेखि कुडियासम्म सीमास्तम्भ भए पनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा कुनै पनि सीमास्तम्भ (पिलर) छैन । सीमास्तम्भ नभएका ठाउँमा खोला, रुख वा अन्य जैविक सिमानाको भर पर्नुपर्दा जोतभोगका विषयमा सीमावर्ती नागरिकबिच पटक–पटक विवाद हुँदै आएको छ । हाल नेपाल–भारतको यो विवादित भूमिमा एउटा सिमलको रुखलाई नै सीमास्तम्भका रूपमा मानिँदै आएको छ ।

०२२ मा तत्कालीन राजा महेन्द्र शाहले नेपाल–भारत सिमानाको रक्षाका लागि भन्दै सुस्तामा केही भूपू सैनिक र आसपासका करिब चार सय परिवारको बस्ती बसालेका थिए । तर, ०३४ मा नारायणी नदीले धार परिवर्तन गरेर बस्तीलाई बगरमा परिणत गरिदिएपछि त्यहाँका नागरिक विस्थापित हुन पुगेका थिए ।

स्थानीयका अनुसार त्यसपछि भारतीय पक्षले लगातार नेपाली भूमि अतिक्रमण गर्ने र सीमास्तम्भ नभएको फाइदा उठाउँदै आएको छ । सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर छ । जसमध्ये १४ हजार हेक्टर जमिन अतिक्रमणमा परेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफललाई ‘विवादित’ भन्दै नेपालीलाई जोतभोग गर्न दिएको छैन । हाल सुस्तावासीले मात्र सात हजार पाँच सय हेक्टर क्षेत्रफलको भूमिमा मात्रै जोतभोग गर्दै आएका छन् ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले भने–सुस्ताबारे आवश्यक कदम चालिनेछ 
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘यो आज मात्र भएको विषय होइन । परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरिनै रहेको छ । यसमा दुवै पक्ष टेबलटक गर्नुपर्छ भन्नेमा छन् । डिप्लोमेटिक नोट पठाएर, वार्ता गरेर गर्नुपर्ने भई नै हाल्छ । परराष्ट्र मन्त्रालयले यसमा आवश्यक कदम चाल्नेछ ।’ प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अतिक्रमण भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले खण्डन गरे । ‘प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा होइन, त्यो वर्षौँदेखि सुस्तामा त्यस्तो समस्याहरू आउँदै गरेका थिए,’ प्रवक्ता पोखरेलले भने, ‘यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ । उहाँहरूले वर्षौँदेखि, दशकौँदेखि त्यो भूमिलाई संरक्षण गर्दै आउनुभएको छ ।’

See More On

सुझावित समाचार