सर्लाहीमा रास्वपाको अधिवेशन स्थगित

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सर्लाही जिल्ला अधिवेशन स्थगित भएको छ। आइतबार बिहान १० बजेका लागि तय भएको जिल्ला अधिवेशन प्राविधिक त्रुटिका कारण स्थगित गरिएको हो।

आन्तरिक तयारी नपुगेको तथा प्राविधिक समस्या भएको भन्दै अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन कमिटी संयोजक डा. जयप्रकाश महतोले जानकारी दिए। पार्टीले हरिवन नगरपालिका–११ स्थित सरस्वती पार्टी प्यालेसमा जिल्ला अधिवेशनको तयारी गरेको थियो।

सोहीअनुसार पार्टीका नेता तथा कार्यकर्ताहरूको बिहानैदेखि कार्यक्रमस्थलमा चहलपहल देखिएको थियो। उखरमाउलो गर्मीका बिच कार्यक्रमस्थलमा उपस्थित कार्यकर्ताहरू अधिवेशन स्थगितको सूचनापछि आक्रोशित हुँदै बाहिरिए। आफूहरूलाई विनाकारण चर्को गर्मीमा दुःख दिएको त्यहाँ उपस्थित कार्यकर्ता दीपक महतोले बताए। बिहान १० बजेका लागि बोलाएको अधिवेशनमा दिउँसो ३ बजेसम्म कुराउँदा कार्यकर्ताहरू अन्योलमा परेका थिए।

यस जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसहितका नेताहरूले बैठकपछि दिउँसो अबेर अधिवेशन स्थगितको घोषणा गरेका हुन्। निर्वाचन कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित समयमा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया सुरु भइसकेको थियो। तर, केही पक्षको पार्टीको विधान, नियमावली तथा निर्धारित प्रक्रियाअनुसार नभएको भन्ने गुनासो र आपत्ति प्राप्त भएको छ। विशेष गरी पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण रहेका, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी रहेको, स्वीकृत कार्यविधिअनुसार कतिपय प्रकृयामा प्राविधिक त्रुटि देखिएको हुँदा तत्काल निर्वाचन अगाडि बढाउन असम्भव हुन आएको छ।’

प्राविधि त्रुटिका कारण भनिए पनि अधिवेशनलाई लिएर फरक फरक समूहबिच विवाद भएको स्रोतको दाबी छ। पार्टीका निवर्तमान जिल्ला अध्यक्ष सरोज बानियाँले अन्तिममा कार्यक्रममा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रदेश कमिटीले जिल्लाले स्थानीयस्तरमा गरेका अधिवेशनलाई समेत आधिकारिकता नदिएको आरोप लगाए। आधा दर्जनभन्दा बढी पालिकामा भएको अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई जिल्ला अधिवेशनमा मतदानको अधिकार नदिनेजस्ता कार्य भएको भन्दै उनले असन्तुष्टि जनाए। जिल्ला सभापति पदका लागि वर्तमान सभापति बानियाँ र कृष्णनन्दन यादवलगायतले उम्मेदवारी घोषणा गरेका छन्।

अधिवेशनलाई लिएर थप विवाद हुन नदिन आवश्यक छलफल र गुनासो सुनुवाइ गर्नुपर्ने आवश्यकता बैठकले गरेकाले अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा. महतोले बताए। सर्लाहीसहित मधेश प्रदेशका ५ जिल्लामा आजको लागि अधिवेशन तोकिएको थियो। अन्य स्थानमा अधिवेशन भइरहेको पार्टीले जनाएको छ।

सुझावित समाचार