दिल्लीमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय वार्तामा सहमति : दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने, काठमाडौंमा परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्ने

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछाने फर्किएकै दिन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । वार्तामा दुई देशबिच सीमा, डुबान, बाढी नियन्त्रणदेखि ऊर्जा, जलस्रोत, विद्युत् प्रसारण लाइनलगायत विद्यमान संयन्त्र सक्रिय गराउन सहमति जनाएका छन् । संयन्त्रहरू सक्रिय भएपछि दुई महिनामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने र पुनः द्विपक्षीय एजेन्डामा छलफल गर्ने सहमति भएको छ ।

द्विपक्षीय वार्तापछि शनिबार राति परराष्ट्रमन्त्री खनालले दिल्लीबाट टेलिफोनमा भने, ‘दुई देशका सबै पक्षमा अत्यन्तै सकारात्मक संवाद भयो । हामी विद्यमान संयन्त्रहरूलाई सक्रिय बनाउन सहमत भयौँ । छलफलमा भएका विषयहरू ती संयन्त्रले छलफल गर्नेछन् । त्यसपछि चाँडै नै हाम्रो (दुई परराष्ट्रमन्त्रीबिच) अर्को बैठक बस्ने सहमति भएको छ ।’

स्रोतका अनुसार जयशंकरले शनिबार भएका छलफल कार्यान्वयनमा लैजानुपर्ने र यसको समीक्षासहित अर्को बैठक छिट्टै गर्ने प्रस्ताव राखेका थिए । त्यसपछि खनालले उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । जयशंकर संयुक्त राष्ट्रसंघको आगामी महासभाअघि नै नेपाल आउन सहमत भएका छन् । 

वार्तामा परराष्ट्रमन्त्री खनालसँगै कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारीलगायत थिए । भारतीय पक्षबाट जयशंकरसँगै भारतीय विदेशसचिव विक्रम मिश्री, नेपालका लागि राजदूत नवीन श्रीवास्तव, भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखा (नेपाल र भुटान सम्बन्ध हेर्ने) प्रमुख अतिरिक्त सचिव मनु महावरलगायत थिए । 

वार्ताको सुरुवातमा दुवै परराष्ट्रमन्त्रीले मन्तव्य राखेपछि विषयगत एजेन्डामा छलफल भएको थियो । औपचारिक वार्तामा परराष्ट्रमन्त्री खनालले सीमापार कनेक्टिभिटी (पूर्वाधार सञ्जाल), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, विकास सहायता, बहुपक्षीय सहकार्य, खेलकुदलगायतमा नेपालको चासो राखेका थिए । कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशमन्त्री डा. जयशंकरले परराष्ट्रमन्त्री खनालका सबै एजेन्डामा सकारात्मक जवाफ दिएका थिए। 

खनालले वर्षायाम नजिकिँदै गरेको अवस्थामा बाढी र डुबानसम्बन्धी संयुक्त संयन्त्र सक्रिय हुनुपर्ने धारणा राखेका थिए, जसमा जयशंकर सहमत थिए । सीमासम्बन्धी संयन्त्र सक्रिय गराउन, नेपालले मागेको एयर इन्ट्री रुटबारे प्राविधिकस्तरमा छलफल गरेर टुंगो लगाउनुपर्ने, जनकपुर–अयोध्या रेल सञ्चालनदेखि पूर्व–पश्चिम रेलमार्ग कनेक्टिभिटीमा सीमापार रेलमार्ग जोड्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड थियो । ‘अहिले सञ्चालित परियोजना सम्पन्न गरौँ, नयाँ परियोजना समयबद्ध तालिकाअनुसार कार्यान्वयन गर्ने गरी तय गरौँ,’ परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै कूटनीतिक स्रोतले भन्यो, ‘परिणाम देखिने गरी काम गरौँ ।’

भारतीय विदेशमन्त्री जयशंकरले नेपालमा भारतीय लगानीकर्तालाई जलविद्युत् क्षेत्रमा सहज रूपमा काम गर्ने वातावरण बनाउन अनुरोध गरे । परराष्ट्रमन्त्री खनालले लगानीको सुरक्षासहित सहज वातावरण रहेको र उनीहरूको चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ट्रान्समिसन लाइन, सूचना प्रविधिमा सहकार्य, एआईमा आधारित विभिन्न मोडलमा थप सहकार्य, ऊर्जा व्यापारका विषयमा पनि सघन छलफल भएको थियो । 

दुई देशबिच सीमासम्बन्धी फिल्ड सर्भे टिमले काम गरिरहेको दुवै पक्षको समीक्षा थियो, त्यसभन्दा माथिका संयन्त्रहरूको बैठक क्रमैसँग राख्नुपर्नेमा दुवै पक्ष सहमत भएका थिए । ‘लामो समयदेखि निष्क्रिय भएका सबै संयन्त्रलाई अब सक्रिय बनाउनुपर्छ र सबै विषयमा खुला एवं सघन छलफल गरौँ,’ परराष्ट्रमन्त्रीको भनाइ थियो । जसमा विदेशमन्त्री जयशंकरले सहमति जनाएका थिए । उनले भारतीय प्रतिनिधिमण्डलसँग भनेका थिए, ‘सबै संयन्त्रहरूको बैठक बस्नु उपयुक्त हुन्छ, भेटेर छलफल गर्नु राम्रो हो ।’ दुवै परराष्ट्रमन्त्रीले परिणाम दिने गरी काम गर्नुपर्नेमा पटक–पटक जोड दिएका थिए । 

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयबिच समग्र परियोजना कार्यान्वयनका लागि अर्को संयन्त्र बनाउने प्रस्ताव नेपालको थियो, त्यसमा जयशंकरले सहमति जनाएका छन् । हाल परियोजना कार्यान्वयन अनुगमन संयन्त्र भए पनि सक्रिय छैन ।

सुरुवातमा परराष्ट्रमन्त्रीद्वयले के–के भने ? 
वार्ताको सुरुवातमा भारतीय विदेशमन्त्री जयशंकर बोलेका थिए । उनले दुई देशको सम्बन्ध आपसी विश्वासमा आधारित तथा विशेष रहेको बताएका थिए । जयशंकरले स्टार्टअप, एआई सूचना प्रविधि, नवीकरणीय ऊर्जाजस्ता नयाँ विधाहरूमा सहकार्य गर्दै सम्बन्ध अघि बढाउने अवसर प्राप्त भएको पनि बताएका थिए । उनले खुला सिमानालाई विशिष्ट भन्दै सीमा सुरक्षा कायम गरेर दुई देशले सहकार्य गरिरहेको उल्लेख गरे । ‘लामो र विशिष्ट रूपमा खुला सिमानामा सुरक्षा कायम राख्न हामीले निकटताका साथ सहकार्य गरिरहेका छौँ । संकटका वेला दुई देश सधैँ एक–अर्काको साथमा उभिएका छन्,’ उनले भने, ‘पश्चिम एसिया (मध्यपूर्व)मा जारी संकटको अवस्थामा पनि हामीले नेपालतर्फको इन्धन आपूर्तिलाई निरन्तर र निर्बाध रूपमा सुनिश्चित गरेका छौँ ।’

परराष्ट्रमन्त्री खनालले सुरुवाती मन्तव्यमा भारतले विभिन्न संकटको समयमा नेपाललाई इन्धन, मललगायत आपूर्तिमा गरेको सहयोगको खुलेर प्रशंसा गरे । भारतसँगको सम्बन्धलाई नेपालले सर्वोच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै खनालले थपे, ‘नयाँ सरकारको नेतृत्वमा हामी ठोस, उद्देश्यपूर्ण र सम्भव भएसम्मको उच्चतम तहमा सामेल हुन तयार छौँ । भारतसँगको सम्बन्ध ऐतिहासिक मात्र नभएर संकटको समयमा (विपत्का वेला होस् वा आजको पश्चिम एसिया संकटका वेला पनि इन्धन र रासायनिक मलको आपूर्तिमा) सधैँ बलियो आधार बन्नुभएको छ, यो हाम्रा लागि निकै महत्वपूर्ण हो ।’

परराष्ट्रमन्त्री खनालले दुई देशको सम्बन्धमा विगतको बोझ नभएको समेत बताए । ‘आज हामीले यो ठोस र समर्पित द्विपक्षीय संवादको अवसर पाएका छौँ । नेपालको नयाँ सरकारसँग सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश छ,’ उनले भने, ‘हामीसँग कुनै पुरानो बोझ छैन, बरु निकट छिमेकी र सबैभन्दा महत्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प मात्र छ ।’ खनालले यही विषय भारतीय टेलिभिजन एनडिटिभीलाई शनिबार दिएको अन्तर्वार्तामा पनि उल्लेख गरेका थिए । ‘हामी विगतका कुनै पनि पुरानो बोझ बोकेर आएका छैनौँ । विगतका पुराना समस्या र बोझहरूबाट बाँधिएका छैनौँ । त्यसैले सीमाको दुवैतर्फका जनतालाई सशक्त बनाउने द्विपक्षीय सम्बन्धको गतिशीलतामा केन्द्रित हुन चाहन्छौँ,’ उनले भनेका थिए । 

जयशंकरले रास्वपा सभापति लामिछानेको भारत भ्रमण उत्कृष्ट भएको चर्चा गरे । ‘दुई देशको सम्बन्धलाई दुवै पक्षले कति महत्व दिएका छन् भन्ने कुरा हालै रास्वपा सभापति रवि लामिछानेको उत्कृष्ट भारत भ्रमणले पनि प्रस्ट पारेको छ,’ उनले भने, ‘तपाईंको सरकारले अघि सारेका उद्देश्यहरू र भारतले छिमेकी देशहरूका लागि चालेका कदमहरूबिच बलियो पूरकता (समानता) रहेको छ । र, आज म सहकार्य र सहयोगका लागि एकदम प्रस्ट र दृढ सन्देश दिन चाहन्छु ।’

त्यस्तै, दुई देशबिच सम्बन्धको मार्गचित्रलाई निर्णायक रूपमा बदल्ने अवसर आएको पनि उनले बताए । ‘हाम्रो विश्वास छ कि आज भारत–नेपाल सम्बन्धको मार्गचित्रलाई निर्णायक रूपमा बदल्ने र हाम्रा सम्बन्धहरूको पूर्ण सम्भावनालाई साकार पार्ने एउटा अवसर आएको छ,’ जयशंकरले भने, ‘आजको हाम्रो छलफलले यस उद्देश्यतर्फ अघि बढ्न मद्दत पुर्‍याउनेछ । नेपालसँग आपसी प्रगति, समृद्धि र दुवै देशको हितका लागि मिलेर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता र भावनालाई पुनः दोहोर्‍याउन चाहन्छु ।’

परराष्ट्रमन्त्री खनालले पनि पार्टी सभापति लामिछानेको हालैको भारत भ्रमण, भारतीय पत्रिकामा प्रकाशित लेख तथा प्रधानमन्त्री मोदीको नेपालप्रतिको भनाइ सम्झेका थिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले पनि सहर्ष स्वीकार गर्नुभएजस्तै नेपाल र भारत केवल दुईवटा देश मात्र होइनन्, हामी एउटा गौरवशाली प्राचीन सभ्यताका हिस्सेदार हौँ । हामी यो सभ्यताको बन्धनलाई आधुनिक, विकासकेन्द्रित साझेदारीमा बदल्न चाहन्छौँ,’ उनले भने । 

यो भेटवार्ताले भविष्यमा उच्चस्तरीय भ्रमणका लागि आधार तयार गर्ने पनि खनालले बताए । ‘हाम्रो छलफल फलदायी, स्पष्ट र परिणाममुखी हुने अपेक्षा गर्दछु, जसले आगामी उच्चस्तरीय भ्रमणका लागि आधार तयार गर्नेछ र हाम्रो द्विपक्षीय सम्बन्धमा एउटा नयाँ अध्यायको सुरुवात गर्नेछ,’ उनले भने । 

नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूमा विस्तृत र फलदायी छलफल भएको जनाएको छ । ‘छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी (पूर्वाधार सञ्जाल), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदका माध्यमबाट समेत जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्नेजस्ता क्षेत्रहरू समेटिएका थिए,’ दूतावासले वार्तापछि जारी विज्ञप्तिमा भनेको छ, ‘दुवै पक्षले दुई छिमेकी मुलुकहरूबिचको चिरस्थायी साझेदारीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याए ।’ भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरी दुई परराष्ट्रमन्त्रीहरूबिच सम्बन्धका सबै विषयमा फलदायी छलफल भएको जनाएको छ । 

भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भने, ‘हाम्रो विशिष्ट साझेदारीका विविध पक्षहरू, जस्तै ः विकास सहयोग, कनेक्टिभिटी (पूर्वाधार सञ्जाल), ऊर्जा (विशेषगरी जलविद्युत् विकास), शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धि, डिजिटल क्षेत्र, संस्कृति तथा खेलकुदका विषयमा विस्तृत छलफल भयो । दुवै देशका जनताको आपसी प्रगति, समृद्धि र कल्याणका लागि नेपालसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धतालाई पुनः दोहोर्‍याएँ ।’ 

वार्तापछि परराष्ट्रमन्त्री खनालले एक्समा लेखेका छन्, ‘हाम्रा दुई देशबिच बहुआयामिक सम्बन्धका सबै क्षेत्रमा विस्तृत र फलदायी छलफल गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । हाम्रा जनताको पारस्परिक हितका लागि भारतसँग निकट रहेर काम गर्न नेपाल सधैँ प्रतिबद्ध छ ।’ 

भारतीय विदेश मन्त्रालयले वार्तापछि शनिबार जारी गरेको विज्ञप्तिमा दुई पक्षबिच विकास सहयोग, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूको समीक्षा भएको उल्लेख गरेको छ । ‘मन्त्रीहरूले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यमा हासिल भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे र नवप्रवर्तन (इन्नोभेसन) तथा स्टार्टअप, डिजिटल र वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा सहकार्य बढाउन हालै गरिएका प्रयासहरूको स्वागत गरेका छन्,’ विदेश मन्त्रालयले भनेको छ । 

दुवै मन्त्रीहरूले फौजदारी मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी नेपाल–भारत सम्झौता लागू गर्ने आन्तरिक प्रक्रिया पूरा भएकोमा स्वागत गरेको विदेश मन्त्रालयले जनाएको छ । ‘सम्झौताले सीमापार अपराधहरूसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाको प्रभावकारिता बढाउन एक संस्थागत कानुनी ढाँचा प्रदान गरी भारत र नेपालका जनतालाई फाइदा पुर्‍याउनेछ,’ मन्त्रालयको विज्ञप्तिमा छ । 

राष्ट्रिय सुरक्षा सल्लाहकारसँग बेग्लै वार्ता
परराष्ट्रमन्त्री खनालले शनिबार साँझ भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरे । उनले नेपालका तर्फबाट भारतको सीमाक्षेत्रमा व्यक्त सुरक्षा चासो सम्बोधन गरेको बताए । ‘सुरक्षा पनि तिनै महत्वपूर्ण मुद्दामध्ये एक हो । हाम्रो लामो र खुला सिमानाका कारण दुवैतर्फ सुरक्षाका केही जायज चासोहरू छन्,’ डोभालसँगको भेटमा खनालले भनेका थिए, ‘सुरक्षाका मामिलामा दुवै पक्षबिच विगतदेखि नै निकै राम्रो र बलियो सहकार्य हुँदै आएको छ । नेपालको भूमि कुनै पनि हालतमा भारतीय राष्ट्रिय सुरक्षा स्वार्थविरुद्ध कसैलाई पनि प्रयोग गर्न दिइनेछैन ।’ 

नयाँ सरकारका तर्फबाट भारतलाई स्पष्ट सन्देश दिएको उनको भनाइ थियो । डोभालसँग कुराकानी बहुआयामिक र हार्दिक रहेको उल्लेख गर्दै खनालले थपे, ‘मैले राष्ट्रिय सुरक्षा सल्लाहकारमा निकै न्यानोपन र खुलापन पाएँ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘हामी हाम्रो सम्बन्धलाई ‘रिसेट’ गर्न चाहन्छौँ, ताकि हामी पनि विकासको गतिलाई भेट्टाउन सकौँ ।’ 

एआई, डिजिटल भुक्तानीमा सहकार्य, ८४ आयोजना हस्तान्तरण
परराष्ट्रमन्त्रीबिच भएको वार्ताका क्रममा दुई देशबिच सीमापार डिजिटल भुक्तानी कारोबारको सुरुवात, पुनर्निर्मित स्वास्थ्य र सांस्कृतिक क्षेत्र हस्तान्तरण तथा एआईसम्बन्धी सहकार्यमा समझदारीपत्र आदनप्रदान भएको छ । 

सन् २०२३ जुनमा एनसिएचएल र एनपिसिआईबिच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत शुक्रबार पी–टु–पी सीमापार भुक्तानी कारोबारको सुरुवात भएको छ । दुवै मन्त्रीहरूले सुरुवातको घोषणा गरेका छन् । सीमापार व्यक्तिगत रेमिट्यान्स (विप्रेषण)लाई सहज बनाउन भारतको युपिआई र भारतको एनपिआईबिच कारोबार सुरुवातको घोषणा भएको हो । 

त्यस्तै, भारतको विकास सहायतामा नेपालमा निर्माण भएका भूकम्पपछिका ७२ स्वास्थ्य क्षेत्र र १२ सांस्कृतिक क्षेत्र गरी ८४ क्षेत्रका पुनर्निर्माण आयोजनाको भर्चुअल हस्तान्तरण भएको छ । ०७२ को भूकम्पपछि भारतीय सहयोगमा ती आयोजना निर्माण हुँदै आएका थिए । 

एआईसम्बन्धी समझदारीपत्र पनि आदनप्रदान भएको छ । ‘नेपालका लागि ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लाटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्न काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इन्डिया भाषिनी डिभिजनबिच समझदारीपत्र आदानप्रदान भएको छ । 

सुझावित समाचार