आज सभापति लामिछाने फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको भ्रमणतालिका सार्वजनिक गरेको छ । 

परराष्ट्रमन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ । भ्रमणका क्रममा शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उनका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ । 

त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ । ‘प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्रीज्यूले शिष्टाचार भेट गर्नुहुने विश्वासका साथ तयारी गरिरहेका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । 

‘परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका क्रममा शुक्रबार अपराह्न भारत जानुहुने कार्यक्रम छ र उहाँ आइतबार साँझ स्वदेश फर्किनुहुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने । 

भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा उनी जान लागेका हुन् । भ्रमण दलमा परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी, कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापासहित नेपाली अधिकारीहरू रहनेछन् । 

परराष्ट्रमन्त्री खनाल र समकक्षी जयशंकरबिच २७ चैतमा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुने क्रममा मौरिससमा भेटवार्ता भएको थियो । उनीसँग दोस्रोपटक परराष्ट्रमन्त्री खनालको भेट हुन लागेको हो । ‘दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रहरूमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयहरूमा छलफल गर्नेछन्,’ परराष्ट्रको विज्ञप्तिमा छ ।

दिल्लीमा सभापति लामिछानेले भने– समृद्धिको ढोका खुल्यो 
रास्वपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताएका छन् । नयाँदिल्लीस्थित आइटिओको पेरेलाल भवनमा बिहीबार आयोजित नेफाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताए । साथै, उनले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गरे । 

रास्वपा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार दिल्ली पुगेका सभापति लामिछानेले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तथा सोमबार गृहमन्त्री अमित साह, विदेशमन्त्री डा. एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

‘यसबिचमा ध्यानपूर्वक नेपालका कुराहरू सुनिए, मैले विभिन्न बैठकमा नेपालसँग सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता प्राप्त गरेँ,’ लामिछानेले समर्थकहरूको समूहलाई गरेको सम्बोधनमा भने, ‘म प्रसन्न भएर आशा बोकेर फर्किँदै छु । आशावादी भएर अगाडि बढ्दै छु । नेपाल समृद्धिको यात्रामा भारतसँगै अघि बढ्नेछ । अब समृद्धिको ढोका खुल्यो ।’

पार्टी सभापतिका रूपमा दिल्ली भ्रमणका क्रममा प्राप्त गरेको सम्मान र सद्भावलाई नेपाली जनताको सम्मान भन्दै लामिछानेले भने, ‘हामीले पाएको सम्मान तपाईंहरूमाथि भारत सरकारले गरेको हो । यो सम्मानका लागि भारत सरकार र भाजपालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । अब हामी सम्मानित मात्रै भएर हुँदैन, समृद्ध पनि हुनुपर्छ ।’

सभापति लामिछानेले विगतमा राजनीतिको ढोका खोल्न नेपालबाट भ्रमणहरू भएको दाबी गर्दै आफू समृद्धिको ढोका खोल्न आएको बताए । ‘नयाँदिल्लीमा राजनीतिका ढोका खोल्नका लागि धेरै मानिसहरू आए । म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ लामिछानेले भने, ‘समृद्ध नेपालको एउटा सपना हामीले सिंगो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर आएको हुँ ।’ 

सुझावित समाचार