- तातो लहरको जोखिम भएका जिल्ला : बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी
- तापक्रम बढिरहेका जिल्ला : कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व, चितवन, सुनसरी, मोरङ र झापा
पानी पर्ने क्रम रोकिएसँगै तराई क्षेत्रमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार बुलेटिन जारी गर्दै मधेशका आठवटै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा तातो हावाको लहरको चेतावनी दिएको हो ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले तराई क्षेत्रमा बादल पनि नरहेकाले दिनभर टन्टलापुर घाम लाग्दा तापक्रम बढिरहेको बताए । ‘मनसुन भित्रिएको छैन, तराईमा स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले त्यहाँ बादल वा पानी छैन,’ उनले भने, ‘भारतको विहार क्षेत्रमा तातो हावाको लहर चलिरहेकाले त्यो हावा पनि मिसिएको छ । त्यसले गर्मी बढाएको छ ।’ अझै दुई–तीन दिन गर्मी नै रहने उनले बताए ।
बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४० र न्यूनतम २७ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, भैरहवामा अधिकतम ३९.१ र न्यूनतम २८.१ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम धनगढीमा ३८.८, सिमरामा ३८.२, विराटनगरमा ३७.५, दिपायलमा ३७.२ र जनकपुर ३७ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
विभागले आगामी तीन दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियभन्दा माथि रहने आकलन गरेको छ । त्यसमा पनि मधेश र लुम्बिनीका तराई ‘मध्यम तातो लहर’ हुने सम्भावना छ ।
पहाडी क्षेत्रमा भने वर्षाले राहत
काठमाडौंसहित पहाडी क्षेत्रमा भने वर्षा हुँदा राहत भएको छ । बिहीबार ताप्लेजुङ, ओखलढुंगा, काठमाडौं, पोखरा, जाजरकोट, बाजुरालगायत जिल्लामा पानी परेको छ । ताप्लेजुङको हिमाली गाउँमा २४ घन्टामा ७२.६ मिलिमिटर पानी पर्यो ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभाव रहेकाले पानी पर्दा तापक्रम धेरै बढ्न नपाएको बताए । बिहीबार अधिकतम तापक्रम लुम्लेमा २५.५, ताप्लेजुङमा २६.५, जिरीमा २४, जोमसोममा २२.७, धनकुटाका ३१, ओखलढुंगामा २९.२, काठमाडौंमा २९.८, पोखरामा ३३.१, जुम्लामा २५ र डडेल्धुरामा २७.७ डिग्री सेल्सियस मापन भएको छ ।
आज शुक्रबार हिमाली र पहाडी भूभागमा थोरै वर्षाको सम्भावना छ । मधेश र लुम्बिनीका तराई भूभागमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
गर्मीले जनजीवन प्रभावित
एक सातायता बढेको गर्मीले तराई मधेशको जनजीवन प्रभावित भएको छ । सधैँ भिडभाड हुने वीरगन्जको मुख्य बजारमा दिउँसो आवतजावत पातलिएको छ । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकीमा समेत असर पर्न थालेको छ । गर्मीका कारण विद्यालयमा बिहानी कक्षा सुरु भएका छन् । घर बनाउने काम गर्दै आएका मोहम्मद हासिम मियाँले दिउँसो काम गर्न सकिने अवस्था नरहेको बताए ।