बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वयसँग छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ पूर्वराष्ट्रपतिहरूबाट मार्गदर्शक सुझाव संकलन गरेको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वको कार्यदलले डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई छलफल गरेको हो।

गर्मी बढ्दै, आगामी ३ दिन मधेश र लुम्बिनीका १५ जिल्लामा तातो हावाको सम्भावना

आगामी तीन दिन मधेश र लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी हुने भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ जिल्लामा तातो लहर(हिट वेभ)को सम्भावना भएकाले विशेष सतर्कताका लागि अनुरोध गरेको छ। 

मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तातो लहरको सम्भावना छ। केही स्थानमा ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने प्राधिकरणले जनाएको छ। 

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक

समस्याग्रस्त पशुपति सेभिङ एन्ड क्रेडिटका १४० ऋणीको नाम सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण उठाउने उद्देश्यले उनीहरूको नाम सार्वजनिक गरेको हो। 

पशुपति सहकारी काभ्रेका सिबी लामाको समूहले चलाएको सहकारी हो। सोही समूहको कान्तिपुर सहकारी पनि समस्याग्रस्त छ। दुवै सहकारीका बचतकर्ताले बचत पाउन सकेका छैनन्। 

नापीसम्बधी ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी काम अब मोबाइलबाटै

सरकारी सेवालाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले नापी विभागले ‘मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।

एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्।

प्रधानमन्त्रीलाई खलनायक बनाएर खोक्रो राष्ट्रवादको खेती नगरौँ : क्रान्तिशिखा

रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहलाई खलनायक बनाएर खोक्रो राष्ट्रवादको खेती नगर्न विपक्षी दलहरूलाई आग्रह गरेकी छिन्। प्रधानमन्त्रीको अभिव्यक्तिपछि विपक्षीले संसद् अवरोध गरेपछि धितालले राष्ट्रिय मुद्दाहरू समाधानको चरणमा पुग्न समय, संयम र विश्वासको आवश्यकता पर्ने प्रतिक्रिया दिएकी हुन्।

अहिलेका विपक्षी दलहरूले विगतमा सरकार सञ्चालन गर्दा छिमेकी राष्ट्रसँग दृश्य र अदृश्य सम्झौता गरेका दाबी गर्दै उनले भनेकी छिन्, ‘कतिपय सन्धि–सम्झौताहरू यस्ता पनि छन्, जसले राष्ट्रिय हितमाथि प्रत्यक्ष प्रश्न उठाएका छन्। यसको अर्थ ‘अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन,’ भन्ने होइन। तर, कम्तीमा विगतलाई सम्झिएर वर्तमानको मूल्यांकन गरिनुपर्छ।’

हटाइँदै सिंहदरबार टहराका क्यान्टिनहरू (फोटोफिचर)

प्रशासनिक केन्द्र सिंहदरबारमा अस्थायी टहरामा सञ्चालित चमेनागृह (क्यान्टिन) हरू हटाइन लागेका छन् । विभिन्न मन्त्रालय तथा दलका कार्यालयपरिसरमा सञ्चालनमा रहेका टहराका क्यान्टिन हटाउन लागिएको हो । 

अहिले सिंहदरबारभित्र दर्जनभन्दा बढी यस्ता क्यान्टिन सञ्चालनमा छन् । अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, वन, सञ्चार मन्त्रालयका परिसरमा क्यान्टिन सञ्चालनमा छन् । त्यस्तै, संघीय संसद् सचिवालय, नेपाली कांग्रेस तथा एमालेको संसदीय दलको कार्यालय, रेडियो नेपाल, नेपाल टेलिभिजनका पनि क्यान्टिन छन् । 

अस्थायी टहरामा बनेका क्यान्टिनहरू हटाएर व्यवस्थित गर्न सरकारले यस्तो कदम उठाएको हो । लामो समयदेखि सञ्चालनमा रहेका अधिकांश त्यस्ता क्यान्टिनहरू लिखित सम्झौताविनै चलिरहेका छन् । सरकारको संरचना प्रयोग गरी व्यापार गरे पनि त्यसबाट सरकारलाई कुनै लाभ भइरहेको छैन । ०७५ सालमा सरकारले सम्झौताविना सञ्चालनमा रहेका अस्थायी टहराका क्यान्टिन हटाउन निर्णयसहित पत्राचार गरेको थियो । यसबिचमा पटकपटक पत्राचार भए पनि हटेका थिएनन् । 

टिकटकर तुल्सा अधिकारी जेल चलान

आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी कारागार चलान भएकी छिन्। जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई बिहीबार थुनामा पठाउने आदेश दिएको हो। प्राप्त प्रमाणका आधारमा उनी कसुरदार होइनन् भन्न नमिल्ने भन्दै अदालतले थुनामा पठाउन भनेको हो। 

ललितपुरका व्यवसायी कुमार चिमोरियालाई ट्रयापमा पारेर ६ करोड रुपैयाँभन्दा धेरै लिएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो। सो रकम शुद्धीकरण गरेकाे भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको थियो। गत शुक्रबार प्रहरीले उनलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको हो। 

६ वर्षदेखि अलपत्र छ, खिम्तीको ५० प्रतिशत सेयर हस्तान्तरण वार्ता गर्न प्राधिकरणले बनायो नयाँ समिति

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको ५० प्रतिशत सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो। मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरिएको छ। 

सम्पत्ति छानबिन आयोगलाई सहयोग गर्छौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पूर्ण रूपमा सहयोग गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संविधान र कानुनसम्मत सबै कुरामा कांग्रेसले सरकारलाई शतप्रतिशत सहयोग गर्ने प्रस्ट पारे।

केही पूर्वन्यायाधीश तथा राजनीतिक दलका नेताले सम्पत्ति विवरण नबुझाउने बताइरहेको उल्लेख गर्दै थापाले भने, ‘त्यसको बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर, नेपाली कांग्रेसको तर्फबाट म र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउँछौँ।’

भविष्यमा विवादरहित नतिजाका लागि आयोगले कामको स्वच्छतामा भने ध्यान दिनुपर्ने सभापति थापाले प्रस्ट पारे। उनले भने, ‘भोलि आयोगले गर्ने कामको स्वच्छतामा प्रश्न नआओस्। यसमा यथेष्ट ध्यान पुगेको छैन, पुगोस्।’

परराष्ट्रमन्त्री शिशिर खनाल भोलि भारत जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल भोलि शुक्रबार तीन दिनका लागि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ।

सुझावित समाचार