तीन महिनापछि सार्वजनिक मञ्चबाट ओलीले सुनाए रणनीति : सरकारसँग टकराव गर्ने, महाधिवेशनसम्म नेतृत्व नछाड्ने

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण
  • चुनावी परिणाममाथि आशंका गर्दै छानबिनको माग
  • प्रधानमन्त्री बालेनलाई सन्देश– ‘नेपालले भारतको एक इन्च पनि मिचेको छैन’

एमाले अध्यक्ष केपी ओलीले सरकारसँग प्रतिरोध र पार्टीभित्रको नियन्त्रण कायमै राख्ने रणनीति आफूले अंगीकार गरेको स्पष्ट सन्देश दिएका छन् । सरकारसँग संघर्ष र पार्टीभित्र नियन्त्रण कायम राख्ने ओली नीतिले आगामी दिनमा संसद्, सडक र एमालेभित्र राजनीतिक तनाव बढ्न सक्ने जोखिम देखिएको छ । 

जेन–जी आन्दोलनमाथि भएको दमनसँग सम्बन्धित फौजदारी मुद्दाका आरोपी ओलीले सम्पत्ति विवरण बुझाउन अस्वीकार गर्दै राज्य संयन्त्रको नीति अवज्ञा गर्ने ‘पोजिसन’ सुनाएका छन् । साथै, तत्काल नेतृत्व नछाड्ने अडान स्पष्ट रूपमै दोहोर्‍याउँदै उनले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग उठाइरहेकाहरूलाई यस विषयमा अनावश्यक नअल्झिन सन्देश दिएका छन् । 

हालै सम्पन्न निर्वाचनमा पार्टीले अप्रत्याशित पराजय व्यहोरेपछि, पितृशोक, गिरफ्तारी, स्वास्थ्य अवस्था तथा पार्टीभित्रकै इतरसमूहबाट नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका वेला सार्वजनिक गतिविधिबाट टाढा रहेका ओली तीन महिनापछि बुधबार सार्वजनिक मञ्चमा देखिएका हुन् । पार्टीद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै उनले करिब पौने दुई घण्टा लामो सम्बोधन गरेका थिए ।

आफ्नो मन्तव्यमा ओलीले पछिल्ला तीन महिनाका समसामयिक राजनीतिक घटनाक्रम, आफूप्रति सरकारको व्यवहार, प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति, पार्टीको आन्तरिक राजनीति तथा एमालेको भावी दिशालगायत विषयमा स्पष्ट धारणा प्रस्तुत गरेका छन् । उनको सम्बोधनले आगामी दिनमा सरकारसँग थप टकरावपूर्ण राजनीतिक रेखा अपनाउने तथा पार्टीभित्रका विरोधी स्वरहरूलाई नियन्त्रणमा राख्ने रणनीति अघि बढाउने संकेत गरेको छ ।

महाधिवेशनबाट विधिसम्मत रूपमा निर्वाचित अध्यक्षले संकटका वेला जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउँदै ओलीले पार्टीभित्र पुनर्गठनको मुद्दा उठाएर आफ्नो राजीनामा माग्ने पक्षलाई नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिएका छन् । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो–सजिलो पर्‍यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने, ‘बिचैमा झोला फ्याँकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनुहोला । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो । शिर काटेर टेबलमा राखिदिने हो भने जिउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन ।’

उनले अहिलेको चुनौती पार भएपछि मात्र नेतृत्व छाड्ने सन्देश पनि दिए । ‘अप्ठयारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, सफलतामा पुर्‍याएर अनि विश्राम लिनुपर्ने अवस्था छ । विधिसम्मत पार्टीका आफ्ना विधिविधान, प्रक्रिया छन् । त्यसअनुसार मैले विश्राम लिने अवस्था बन्छ,’ ओलीले भने ।

सम्पत्ति छानबिन आयोगलाई पूर्वाग्रहका आधारमा गैरसंवैधानिक ढंगले गठन गरिएको दाबी गर्दै ओलीले त्यसलाई सम्पत्ति विवरण नबुझाउने बताए । ‘राजा ज्ञानेन्द्रले माघ १९ को ‘कु’ पछि आफ्ना विरोधीहरूलाई तह लगाउन जसरी शाही आयोग बनाएका थिए, यो पनि ठ्याक्कै त्यही प्रकृतिको कदम हो । यो कुनै संवैधानिक वा कानुनी निकाय होइन । देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतलगायतका स्थायी र कानुनी निकायहरू हुँदाहुँदै तिनलाई बेवास्ता गरेर यो नयाँ समिति किन चाहियो ?’ ओलीले भने, ‘यसको एउटै उद्देश्य हो– एमालेलगायत पुराना पार्टीका नेताहरूलाई छानी–छानी फसाउने । म स्पष्ट पार्न चाहन्छु, यस्ता असंवैधानिक र प्रतिशोधपूर्ण आयोगलाई हामी कुनै मान्यता दिँदैनौँ । म त्यहाँ बयान दिन जान्नँ र सम्पत्ति विवरण पनि पठाउँदिनँ । राज्यले जे गर्न सक्छ गरोस् । यो राज्यसंयन्त्र होइन, यो पूर्वाग्रह र प्रतिशोधको पोको हो । मेरो घरमा आगो लगाएर सबै सम्पत्ति खरानी बनाएपछि राज्य मलाई नै सम्पत्ति विवरण मागिरहेको छ ! मैले केको विवरण दिने ? त्यही आगोको खरानी उठाएर दिने ?’

ओलीले समय सधैँ एकनास नहुने भन्दै राज्यको जिम्मेवारीमा रहेका उच्च तहका कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूलाई पनि पूर्वाग्रहबाट मुक्त भएर जिम्मेवार र कानुनअनुसार मात्र काम गर्न सचेत गराए । ‘आफूलाई मन नपर्ने वा विरोधी विचार राख्नेहरूका विरुद्ध उजुरी हाल्न लगाउने, विनाप्रमाण गिरफ्तार गर्ने र झुटा मुद्दा चलाउने काम राज्यसंयन्त्रबाटै भइरहेको छ । म राज्यसंयन्त्र र त्यसमा आसीन व्यक्तिहरूलाई स्पष्ट शब्दमा चेतावनी दिन चाहन्छु– समय र परिस्थिति सधैँ एकैनास रहँदैन । सत्ता र शक्तिको मातमा उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोस् ।’

ओलीले ६० वर्षभन्दा बढी समय लोकतन्त्र र सामाजिक न्यायको संघर्षमा बिताएकाले बरु मर्न तयार हुने, तर कहिले समर्पण नगर्ने बताए । ‘देशद्रोही, षड्यन्त्रकारीहरूसँग म कहिल्यै घुँडा टेक्दिनँ, ६० वर्षभन्दा बढी समय व्यक्तिगत स्वार्थ त्यागेर लोकतन्त्रको संघर्षमा बिताएको छु, त्यसैले बरु मेरो शिर काटिन सक्छ, तर मेरो शिर, देशको शिर कहिल्यै झुक्न दिन्नँ, देशद्रोहीहरूसँग घुँडा टेक्दिनँ ।’ 

ओलीले प्रधानमन्त्री बालेनले संसद्मा नेपालले भारतको भूमि मिचेको बताएर राष्ट्रघाती मन्तव्य दिएको आरोप लगाए । ‘एक इन्च जमिन पनि नेपालले मिचेको छैन । कसैलाई रिझाउन भनेर देशको स्वाभिमानसँग सम्झौता गर्न सकिँदैन । सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट बोल्नुहुँदैनथ्यो,’ ओलीले भने, ‘नेपालको विपक्षमा बोल्ने काम भयो । त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई हेप्ने योभन्दा बढी अरू कुनै ठाउँ हुँदैन ।’ 

उनले ‘देशद्रोही’ कुराको कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको बताए । सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको टिप्पणी गरे । ‘नेपाल तपाईंको सम्पत्ति होइन । तपाईं जन्मिनुभन्दा धेरैअगाडिको देश हो,’ ओलीले भने ।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षकका रूपमा संविधानअनुसार काम नगर्दा संसद् विघटन हुन पुगेको आरोप लगाए । ‘संविधानको रक्षक र पालक हुनुपर्ने राष्ट्रपति आज पूर्ण रूपमा रबर स्ट्याम्प बन्नुभएको छ । संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त हुनुभयो ? के देश चलाउन संविधान चाहिँदैन ? संविधानविपरीत सरकार बन्ने, संविधानविपरीत संसद् विघटन हुने, अनि सम्मानित राष्ट्रपतिले ‘मैले बडो जुक्ति लगाएर लोकतन्त्र बचाएँ’ भनेर गर्व गर्ने ?’, ओलीले भने, ‘यो कस्तो विडम्बना हो ! गर्नुपर्ने काम नगर्ने र गर्न नहुने असंवैधानिक काममा आँखा चिम्लिएर हस्ताक्षर गर्ने प्रवृत्तिले सम्मानित संस्थाको गरिमालाई धुलोमा मिलाएको छ ।’

त्यस्तै, उनले सुकुमवासी बस्तीमा सेना परिचालन गरिएको विषयलाई अस्वाभाविक भएको टिप्पणी गरे । सेना देश र जनताको संस्था भएकाले आफ्नो कर्तव्य र जिम्मेवारीबोधका साथ संवैधानिक तथा संस्थागत मर्यादाभित्र रहेर भूमिका निर्वाह गर्नुपर्नेमा ओलीको जोड छ ।

बाध्य भएर चुनावमा गएको दाबी, छानबिन गर्न माग
ओलीले एमालेबाहेकका राजनीतिक दलहरूले २३ र २४ भदौका घटना, त्यसपछिका राजनीतिक गतिविधि तथा आफूविरुद्ध रचिएको षड्यन्त्रको गहिराइ नबुझेको दाबी गरे । आफ्नै पार्टीविरुद्ध प्रतिकूल वातावरण सिर्जना गरिएको अवस्थामा समेत निर्वाचनमा सहभागी हुन बाध्य भएको ओलीले बताए । साथै, ओलीले निर्वाचन सम्पन्न भएको तीन महिनापछि सम्पूर्ण निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेका छन् । 

‘अन्य राजनीतिक दलहरूले परिस्थितिको गम्भीरता नै बुझेनन् । उनीहरूले ‘चुनाव कि चुनाव’ भन्दै साँच्चैको लोकतान्त्रिक निर्वाचन हुँदै छ भन्ने भ्रम पाले । त्यो निर्वाचन थिएन, त्यो एउटा पूर्वनिर्धारित परिणाम ल्याउन मञ्चन गरिएको ‘चुनावको तमासा’ र नाटक मात्र थियो,’ ओलीले भने, ‘नयाँ दलहरू आउनुलाई हामीले असहिष्णु नजरले हेरेका छैनौँ, तर लोकतन्त्रको आवरणमा भएको यो चुनावी प्रहसन भने गम्भीर छानबिनको विषय हो ।’

उनले धाँधलीका लागि मसी र मसी नै उड्ने मत्रपत्रको प्रयोग तथा खारेज भएकै उम्मेदवारले दोब्बर मत ल्याएर जित्ने कुराले २१ फागुनको चुनावी परिणाम अस्वाभाविकजस्तै रहेको जिकिर गरे । ‘मतदान गर्दा औँलामा लगाइने मसी नङ काटेर नफालेसम्म जाँदैनथ्यो । तर, यसपटक मतदान गरेर नजिकैको घर पुग्दानपुग्दै उडिसकेको थियो । ब्यालेट पेपरमा लगाइएको छापको मसीको अवस्था के भयो होला ? यो छानबिनको विषय हो,’ ओलीले भने, ‘हामीले धेरै चुनाव लडेका छौँ, जनताको नाडी छामेका छौँ । उम्मेदवारले आफ्ना अधिकांश मतदातालाई व्यक्तिगत रूपमा चिनेको हुन्छ । तर, चिन्दै नचिनेका, उम्मेदवारीसमेत खारेज भएका व्यक्तिहरूले दोब्बर मत ल्याएर जित्ने अस्वाभाविक अवस्था सिर्जना गरियो । यो पूर्वनिर्धारित योजनाको हिस्सा थियो ।’

योगेश भट्टराईको कटाक्ष
एमाले उपमहासचिव योगेश भट्टराईले पद नछाड्ने अध्यक्ष केपी ओलीको भनाइप्रति कटाक्ष गरेका छन्। संकटका वेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै पद नछाड्ने सन्देश दिएका अध्यक्ष ओलीलाई उपमहासचिव भट्टराईले सामाजिक संजालमार्फत कटाक्ष गरेका हुन् । ओलीले पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा संकटका वेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका थिए ।

०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा तत्कालीन महासचिव माधव नेपालले नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेपछि नेता ओलीले एउटा रोचक कथासहित गरेको व्यंग्य सामाजिक संजालमा पोस्ट गर्दै भट्टराईले कटाक्ष गरेका हुन् । यद्यपि, भट्टराईले त्यति वेला ओलीले नेपाललाई गरेको व्यंग्यको सन्दर्भ भने उल्लेख गरेका छैनन् ।

See More On

सुझावित समाचार