२३ वटा समस्याग्रस्त सहकारीका सञ्चालककाे विवरण सार्वजनिक, लुकाएकाे सम्पत्तिकाे सूचना दिन आह्वान
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालककाे विवरण सार्वजनिक गरेकाे छ । समितिले बुधबार सूचना जारी गरेर २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालककाे विवरण सार्वजनिक गर्दै लुकाएकाे सम्पत्तिकाे सूचना दिन आह्वान गरेको हो।
सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाइएको जानकारी भए समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना दिन माग गरेको हो ।
नेतृत्व नछाड्ने ओलीको सन्देशप्रति योगेश भट्टराईको कटाक्ष
एमाले उपमहासचिव योगेश भट्टराईले पद नछाड्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गरेका छन्। संकटका वेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै पद नछाड्ने सन्देश दिएका अध्यक्ष ओलीलाई उपमहासचिव भट्टराईले सामाजिक संजालमार्फत कटाक्ष गरेका हुन्।
ओलीले पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा संकटका वेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका थिए।
नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तयार छाैँ : भारतीय प्रधानमन्त्री
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्धलाई उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
पाँचदिने भारत भ्रमणमा रहेका नेपालका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिानेसँग बुधबार भेटवार्ता गरेपछि मोदीले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार भएको उल्लेख गरे । साझा र समृद्ध भविष्यकf लागि मिलेर काम गर्ने लामिछानेको इच्छालाई आफूले स्वागत गरेको उल्लेख गरे ।
नेपाललाई हराउँदै बंगलादेश फाइनलमा
नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार गोवाको नेहरू रंगशालामा बंगलादेश २–१ ले विजयी भएको हो।
नेपाल दोस्रोपटक सेमिफाइनलबाटै बाहिर भएको हो। यसअघि सन् २०१६ पनि यस्तै भएको थियो। त्यसबाहेक ६ पटक फाइनल खेलेको नेपाल सधैँ उपाधिविहीन रह्यो।
नेपालका लागि गीता रानाले एक गोल गरिन्। बंगलादेशका लागि रितु पुर्णा चक्माले गरेकी हुन्। अर्को गोल आत्माघाती रह्यो। बंगलादेशकी सागोरिकाको प्रहार प्रीति राईलाई लाग्दै जाली चुमेको थियो।
उद्योगमन्त्री गौरी कुमारीले गरिन् गुहेश्वरीस्थित प्रस्तावित हवाई इन्धन भण्डारणस्थलको निरीक्षण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले गुहेश्वरीस्थित प्रस्तावित नयाँ हवाई इन्धन डिपो निर्माणस्थलको बुधबार दिउँसो निरिक्षण गरेकी छिन्। मन्त्री गौरी कुमारीको साथमा उद्योग सचिव तथा आयल निगम सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर राउत पनि सँगै पुगेका थिए।
सचिवालयका अनुसार मन्त्री गौरी कुमारीले इन्धन आपूर्तिको अवस्था, भण्डारण क्षमता, सेवा प्रवाह तथा सञ्चालन व्यवस्थापनबारे जानकारी लिएकी थिइन्। सुरुमा बबरमहलस्थित केन्द्रीय कार्यालयको निरिक्षण गरेकी मन्त्रीले सिनामंगलस्थित हालको हवाई इन्धन डिपोको निरीक्षण गरेकी थिइन्। लगत्तै, उनी गुहेश्वरीस्थित प्रस्तावित नयाँ भण्डारणस्थल पुगेर आवश्यक जानकारी लिएकी हुन्।
बजेटमा पूर्वका उद्योगीको प्रतिक्रिया– शासकीय सुधार र लगानी प्रवर्द्धनका लागि क्रान्तिकारी प्रयास
उद्योग संगठन मोरङले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक धारणा सार्वजनिक गर्दै शासकीय सुधार, कानुनी झन्झटको अन्त्य, लगानी प्रवद्र्धन र प्रक्रियागत सरलीकरणका सवालमा इतिहासमै पहिलो पटक आक्रामक र क्रान्तिकारी प्रयास भएको प्रतिक्रिया दिएको छ।
बजेटमा राखिएका लगानी प्रवद्र्धनसम्बन्धी नीतिको स्वागत गर्दै संगठनले राजस्व संकलनको चापका कारण कर नीतिमा देखिएको अस्पष्टता र विराटनगर–इटहरी–कटहरी औद्योगिक कोरिडोरका रणनीतिक पूर्वाधारलाई उपेक्षा गरिएकोमा भने असन्तुष्टि जनाएको छ।
लुम्बिनीमा चार मन्त्रीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा दिएको राजीनामा स्वीकृत भएको छ। बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेमबहादुर सारू र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका थिए।
मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्। मुख्यमन्त्रीले मन्त्रीहरूको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
१३ करोड कर्जा लिँदा धितोमा बदमासी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ
बैंकबाट कर्जा लिँदा कृत्रिम कम्पनीको धितो राखेर ठगी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश(ओपी) पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।
पाण्डेले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटरिनरी साइन्सको नाममा प्रभु बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिएका थिए। डिपिआरसमेत नभएको सो कृत्रिम कम्पनीको सेयरसमेत धितो राखेर उनले कर्जा लिएकोमा पछि नतिरेपछि सो कर्जा खराब सूचीमा परेको छ। उनले अझै १२ करोड कर्जा चुक्ता गरेका छैनन्।
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच दिल्लीमा भेटवार्ता भएको हो।
भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्। ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकताको साझेदार रहेको प्रस्ट पार्दै उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनामा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको प्रतिक्रिया दिएका छन्।
‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण ऐक्यबद्धता छ। हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबिचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउनका लागि नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ,’ मोदीले लेखेका छन्।
वन संरक्षणका लागि गस्तीमा निस्किएको टोलीमाथि वन तस्करको आक्रमण
रौतहटमा वन संरक्षणका लागि गस्तीमा निस्किएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गरेको छ। काठ चोरी भइरहेको सूचनाको आधारमा जंगल पुगेका डिभिजन वन कार्यालयका कर्मचारी तथा रंगपुर साझेदारी वनका प्रतिनिधिहरूमाथि तस्करहरूले कुटपिट गरेका हुन्।
सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुलनजिकै गस्ती गरिरहेको टोलीलाई तस्कर समूहले घेरा हालेर आक्रमण गरेको बताइएको छ। आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वनरक्षक सुरेन्द्र चौधरी, रंगपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका छन्।