बागलुङको जैमिनी बालमैत्री नगर घोषणा

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

बागलुङको जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन घोषण गर्न आवश्यक ५१ वटा सूचक पूरा गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालमैत्री नगर घोषणा गरेका हुन् ।

नगरपालिकाले बालमैत्री घोषणाका निम्ति २९ वटा सूचकहरूमा शतप्रतिशत उपलब्धि, ६ वटा सूचकमा ९५ प्रतिशत, ६ वटा सूचकमा ८० प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए । नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको नगरप्रमुख पुनले बताए  । 

जिल्लामा जैमिनी नगरपालिका तेस्रो बालमैत्री नगरको रूपमा घोषणा भएको छ। यसअगाडि गलकोट नगरपालिका र  बागलुङ नगरपालिका बालमैत्री घोषणा भइसकेका छन् । नगरपालिकाले बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडातहमा बालमैत्री सहजकर्ता खटाइएको थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्यतर्फका सबै सूचक पूरा गरेपश्चात् नगरलाई बालमैत्री नगर घोषणा गरेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिए । 

शर्माका अनुसार बालमैत्री घोषणा अघि बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ। टोलटोलमा बाल क्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्नेलगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासँगै दिगोपनाका लागि राणनीतिक योजना तयारमा ध्यान गएको शर्माको भनाइ छ । 

नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्नेछ। बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पुर्याउने बालमैत्री संयोजक मीरा शर्माले जानकारी दिइन्। बाल बचाउ, बाल संरक्षण, बाल विकास र बालसहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो। ०७९ मा नीतिगत निर्णय गरेर पालिकालाई बालमैत्री शासनयुक्त नगर बनाउने अभियान थालिएको थियो।  

कुल ६ हजार २७८ घरधुरी रहेको नगरपालिकामा ६८ वटा सरकारी विद्यालय एउटा संस्थागत विद्यालय, ६८ वटा बालविकास केन्द्र र पाँचवटा सामुदायिक सिकाइ केन्द्र रहेका छन्। विद्यालय पढ्ने बालकालिका जम्मा चार हजार ४७७ रहेका छन् जसमा दुई हजार तीन सय छात्र र दुई हजार १७० छात्रा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १३६ वटा बालसमूह र ११ वटा बालसञ्जाल रहेका छन् । वडा तथा नगरस्तरमा विभिन संरचनागत समितिहरूमा १७४ जना गरी जम्मा दुई हजार ५४६ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको नगरउपप्रमुख शर्माले जानकारी दिए । 

बालबालिकामा गरेको लगानी खेर जाँदैन :  मुख्यमन्त्री पाण्डे 
घोषणा सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालबालिका आजका नागरिक मात्र होइनन्, भोलिका राष्ट्रनिर्माता पनि भएको हुँदा उनीहरूलाई राज्यले गरेको लगानी खेर नजाने बताए। उनले कुनै पनि समाजको समृद्धि र सभ्यताको मापन त्यहाँका बालबालिकाले पाएको अवसर, सुरक्षा र सम्मानबाट हुने हुँदा बालबालिकाको सम्मानका निम्ति समाज र समुदायकै दायित्व भएको बताए।  

जैमिनी नगरपालिकाले बाल अधिकारको संरक्षण, बाल सहभागिता, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्न गरेको प्रयासको परिणामस्वरूप आज बालमैत्री स्थानीय शासन घोषणा हुन सफल भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। 

‘बालमैत्री घोषणा केवल एउटा उपाधि वा प्रमाणपत्र प्राप्त गर्ने विषय होइन,’ पाण्डेले भने, ‘यो बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर विकास गर्ने प्रतिबद्धता पनि हो। अब यो उपलब्धिलाई दिगो बनाउँदै प्रत्येक बालबालिकाले विभेदरहित वातावरणमा आफ्नो क्षमता विकास गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ। यसमा गण्डकी प्रदेश सरकार साथमा रहेको छ ।’

पाण्डेले गण्डकी प्रदेश सरकारले बालमैत्री स्थानीय शासनको अवधारणालाई थप प्रभावकारी बनाउँदै बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य गर्ने बताए।उनले जैमिनी नगरपालिकाले हासिल गरेको यो सफलता प्रदेशकै अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास लिएका थिए। 

सुझावित समाचार