विपक्षीको अवरोधबिच प्रतिनिधिसभा नियमावली पारित

विपक्षी दलहरूले वेल घेराउ, नाराबाजी र धकेलाधकेल गरिरहे, सभामुखले प्रक्रिया अगाडि बढाइरहे, अवरोधबिच बहुमतबाट पारित गरियो नियमावली

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

विपक्षी दलहरूको विरोधबिच प्रतिनिधिसभा नियमावली, २०७९ लाई संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेससहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनुपर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो ।

 आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको छलफलमा ३५ संशोधनकर्तासहित विपक्षी दलका सांसदले पनि भाग लिए । त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे । 

विपक्षीका तर्फबाट कांग्रेस प्रमुख सचेतक बासना थापाले पुनः समितिमा लैजान माग गरिन् । तर, सभामुख डोलप्रसाद अर्यालले पहिले नै कार्यसूची तय भएको भनेर प्रक्रिया अगाडि बढाए । ३५ वटा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न थाले । यही क्रममा विपक्षी दलहरू वेल घेराउ, नाराबाजी र धकेलाधकेलमा उत्रिए ।

समिति सभापति गणेश पराजुलीमाथि धकेलाधकेल भएर सभाको माहोल बिग्रिएपछि १५ मिनेटका लागि सभामुखले बैठक स्थगित गरे । अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, वेल घेराउ र धकेलाधकेल जारी राखे । सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहे । अन्तिममा समिति सभापति पराजुलीले मस्यौदा प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । नाराबाजीबिच सभाको बहुमतले नियमावली पारित भयो । 

नियमावली संशोधन गर्न प्रतिनिधिसभाले २४ चैतमा रास्वपा सांसद पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिले नियमावली संशोधन मस्यौदा प्रतिवेदन ८ वैशाखमा सभामुख अर्याललाई बुझाएको थियो । मस्यौदा समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निस्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्य थिए ।

सभापति पराजुलीका अनुसार राष्ट्रपतिसहित संवैधानिक अंगका पदाधिकारीविरुद्ध आउने महाभियोग अर्काे सदनले पाँच महिनाभित्र टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधानन्यायाधीशसहित संवैधानिक पदाधिकारीविरुद्धको महाभियोग प्रस्तावलाई पाँच महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधिसभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो । अब नयाँ प्रतिनिधिसभा गठन भएको पाँच महिनाभित्र अभिलेख ग्रहण गरी अर्काे पाँच महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ । 

यसैगरी, संसदीय समितिका निर्देशन सम्बन्धित निकायले ३० दिनभित्र कार्यान्वयन गरेको प्रगति विवरण दिनुपर्ने भनिएको छ । कार्यान्वयन गर्न नसक्ने भएमा ३० दिनभित्रै पुनरावलोकनका लागि पठाउनुपर्ने र त्यसमा समितिले विचार गर्नुपर्ने भनिएको छ । 

यसैगरी, संसदीय समितिमा क्यालेन्डर लागू गर्ने र समयसीमा तोकेर विधेयक टुंग्याउने व्यवस्था गरिएको छ । विधेयक मस्यौदा, टेबुलदेखि पारित नहुँदासम्म कहाँ छ भनेर डिजिटल माध्यमबाट अपडेट दिनुपर्ने व्यवस्था गरिएको छ । 
सांसदहरूलाई विधेयक दर्ता भएपछि पढ्नका लागि पाँच दिनको समय दिइएको छ । यसका लागि दर्ता भएको दुई दिनभित्रै विधेयक पिजन होलमा राख्ने भनिएको छ ।

समितिका प्रतिवेदनहरू सदनले अपनत्व गरेर सम्बन्धित समितिमा छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ । आचरणसम्बन्धी समिति बन्दा प्रतिवेदन सदनले ग्रहण गर्नुका साथै सम्बन्धित सांसदको दललाई पनि पठाउने व्यवस्था गरिएको सभापति पराजुलीले बताए । 

प्रतिनिधिसभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न सभामुखको अध्यक्षतामा रहने कार्यव्यवस्था परामर्श समितिको आकार घटेको छ । यसअघि २१ सदस्यीय रहेको समितिलाई १५ सदस्यमा झारिएको हो । समितिमा दलीय आधारमा प्रतिनिधित्व हुन्छ । 

प्रतिनिधिसभा बैठकमा सांसदहरूले अडियो र भिडियो खिच्न पाउनेछैनन् । यसअघि फोन साइलेन्टमा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने उल्लेख भएकोमा अब फोटो खिच्ने, अडियो र भिडियो रेकर्ड गर्न नहुने भनी बैठकमा पालना गर्नुपर्ने नियम बनाइएको छ । यसअघि पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने नियमलाई निरन्तरता दिइएको छ ।

 कार्यव्यवस्था परामर्श समिति सदस्यको आकार घटाइयो
प्रतिनिधिसभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न सभामुखको अध्यक्षतामा रहने कार्यव्यवस्था परामर्श समितिको आकार घटेको छ । यसअघि २१ सदस्यीय रहेको समितिलाई १५ सदस्यमा झारिएको हो । समितिमा दलीय आधारमा प्रतिनिधित्व हुन्छ । 

सुझावित समाचार