किसानलाई प्रतिकेजी पाँच रुपैयाँ बढी दिएर स्याउ बजारीकरण गरिँदै

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण
  •  कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा ४२ सय हेक्टर क्षेत्रफलमा हुन्छ स्याउ उत्पादन 
  •  सिजनमा चलेको मूल्यभन्दा किसानलाई प्रतिकेजी पाँच रुपैयाँ बढी दिएर सहकारीले स्याउ खरिद गर्ने
  •  तर, जलवायु परिवर्तनका कारण पछिल्लो समय हरेक वर्ष स्याउ उत्पादनमा गिरावट 

परिपक्व नहुँदै बिक्री–वितरण गर्ने, किसानले समयमा मूल्य नपाउने र बिचौलियाले फाइदा उठाउनेजस्ता समस्या भोग्दै आएको जुम्लामा अब स्याउ बजारीकरण हुने भएको छ । रैथाने बालीको बजारीकरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले स्याउ बजारीकरण गर्न लागेको हो । संस्थाले स्थानीय र फुजी जातका स्याउ किसानको बगैँचामै पुगेर संकलन गरी बजारीकरण गर्ने बताइएको छ । चन्दननाथले लामो समयदेखि कर्णालीमा उत्पादन हुने रैथाने बाली मार्सीचामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल, पिठो मिनिमार्केटमार्फत बजारीकरण गर्दै आएको छ । 

संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार करिब डेढ सय किसानमा साढे चार करोड लगानी गरिएको छ । उनले भने, ‘किसानले उत्पादन गरेको स्याउ यो वर्षदेखि बजारीकरण बिक्री–वितरणका लागि जिम्मेवारी लिएका छौँ ।’ उनका अनुसार ए, बी, सी गरी तीन ग्रेडका स्याउ बजारीकरण गर्ने तयारी भइरहेको छ । ‘सी ग्रेडभन्दा कमसल खालका स्याउ चाना, जुस, जामजेली बनाएर मिनिमार्केटमार्फत बिक्री–वितरण गर्छौँ ।’ 

सिजनमा चलेको मूल्यभन्दा किसानलाई प्रतिकेजी पाँच रुपैयाँ बढी दिएर सहकारीले स्याउ खरिद गर्नेछ । गत वर्ष किसानले बगैँचामै प्रतिकेजी ६०–७० रुपैयाँसम्म बिक्री–वितरण गरेका थिए । सहकारीले अहिले त्योभन्दा प्रतिकेजीमा पाँच रुपैयाँ बढी दिने उनको भनाइ छ । सहकारीले साउन २५ गतेदेखि पछि स्याउ परिपक्व गुलियोपना भरिएपछि मात्रै टिप्ने योजना बनाएको व्यवस्थापक पाण्डेले बताए । 

उनले भने, ‘देशका ठुला सहर काठमाडौं, झापा, नेपालगन्ज, सुर्खेत लगेर बिक्री–वितरण गर्छौँ ।’ केही वर्षदेखि सहकारीले काठमाडौंको भद्रकाली र जुम्लाको खलंगा बजारमा मिनिमार्केटमार्फत तथा नेपालगन्ज र सुर्खेतको विमानस्थलबाट पनि स्याउ बिक्री–वितरण गर्दै आएको छ । 

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा ४२ सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको छ  । ०२४ देखि स्याउ खेती सुरु गरिएको जुम्लामा स्याउको बिरुवा नरोपेको घरधुरी छैन । तर, जलवायु परिवर्तनका कारण पछिल्लो समय हरेक वर्ष स्याउ उत्पादनमा गिरावट आउने गरेको छ  । आर्थिक वर्ष ०८१/८२ मा ६१ करोड रुपैयाँको स्याउ बिक्री गरेको जुम्लामा ०८२/८३ मा ४५ करोडको मात्रै स्याउ बिक्री भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । 

कृषि विकास कार्यालय, जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउको फूल फुलेको आधारमा यो वर्ष गत वर्षको जत्तिकै उत्पादन हुनुपर्ने हो । तर मलजल, गोडमेल, रोगकिरा निगरानीजस्ता समस्याले गत वर्षभन्दा आगामी वर्ष १५–२० प्रतिशत स्याउ उत्पादन घट्ने पूर्वानुमान गरिएको अधिकारीले बताए । 

See More On

सुझावित समाचार