कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुमवासीको बेहाल, चियाले छाक टार्दै

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

दाल, चामल नभएपछि कोहलपुर नगरपालिका– ११, शान्तिनगरबाट हटाइएकी सुकुमवासी सुशीला शाहीको चुलो नबलेको तीन दिन भएको छ । ठेलामा मकै पोलेर बिक्री गर्दै आएकी उनलाई अहिले मानसिक समस्याले च्याप्दै लगेको छ । घरमा खुवाउन नसक्ने भएपछि उनले दुई छोरालाई अर्कैको घरमा पठाएकी छिन् । ‘तीन दिनदेखि चुल्हो बलेको छैन । दाल, चामल र अन्य खाद्यान्न नभएकाले तीन दिनदेखि चियाले छाक टार्न बाध्य छु,’ उनले भनिन्, ‘नगरपालिकाले घरबारविहीन बनाएपछि उधारो दिने साहुले समेत पत्याउन छाडे ।’

छाक टार्ने कुनै उपाय नलागेपछि उनले पाँच हजारमा घरको इँटा र तीन हजारमा जस्तापाता बिक्री गरिन् । ‘इँटा र जस्तापाता बिक्री गरेको रकम सकिएपछि छाक टार्ने कुनै उपाय छैन,’ उनले भनिन्, ‘आफू त पानी र चिया पिएर जसोतसो बाँचौँला । छोराहरूको पेट कसरी भर्ने भन्ने चिन्ता छ ।’ कोहलपुर नगरपालिका– ११ स्थित दीपशिखा विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आएकी शाही एकल महिला हुन् । 

होल्डिङ सेन्टरमा बस्दै आएकाहरूमा मानसिक समस्या देखापरेको छ । होल्डिङ सेन्टरमा बस्दै आएका प्रेमबहादुर विश्वकर्मा चिन्ताले बोल्न नसक्ने र बिर्सिने भएका छन् । उनी बोल्दाबोल्दै रोए । ‘कुरा गर्दागर्दै रोकिन्छु । के कुरा गरेँ र कहाँ जाँदै छु भन्नेसमेत बिर्सिन्छु,’ गहभरी आसु पार्दै उनले नयाँ पत्रिकासँग भने, ‘घर भत्काइदिएपछि चिन्ताले खाना खान मन लाग्दैन । निद्रा पनि हराएको छ । रोएर दिनरात बत्छ ।’ उनीसँग सुकुमवासीको परिचयपत्र छ । 

सामुदायिक विद्यालयमा आश्रय दिए पनि समस्या बुझ्न नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी नआएको कमला विकले गुनासो गरिन् । उनले खाद्यान्न नभएकाले एक छाक मात्र खाने गरेको बताइन् । ‘ज्याला मजदुरी गरेर खान्थ्यौँ । होल्डिङ सेन्टरमा आएदेखि त्यो पनि गर्न पाएका छैनौँ । भोकभोकै बस्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘ओत लाग्ने ठाउँ त पायौँ, गाँसका लागि समस्या छ ।’

दीपशिखा विद्यालयमा १७ परिवारका ३७ जना बस्छन् । उनीहरूका लागि एउटा मात्र शौचालय छ । शौचालयको ढोका पनि आफैँले लगाएको यमकुमारी मल्लले बताइन् । ‘दिउँसोमा समस्या नभए पनि बिहान–बेलुका शौच गर्ने पालो पाइन्न,’ उनले भनिन् । 

कोहलपुर नगरपालिकाले अहिलेसम्म प्रतिपरिवार एक–एकवटा झुलबाहेक अरू केही नदिएको उनले गुनासो गरिन् । ‘एउटा कोठामा चार परिवार बस्छौँ । पुरुषलाई भन्दा महिलालाई उठबस गर्न समस्या छ । कोही भुइँमा सुत्छौँ, कोही खाटमा सुतेर जीविका चलाइरहेका छौँ,’ उनले भनिन्, ‘भुइँमा सुत्दा सर्पको डर लाग्छ, तैपनि बाध्य भएर सुत्न परेको छ । ठाउँ नभएर कोही त बाहिर सुत्न बाध्य छौँ ।’

सुझावित समाचार