हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी : उद्योगमन्त्री यादवद्वारा औद्योगिक क्षेत्र निरीक्षण

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।

औद्योगिक क्षेत्र निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिन सरकार गम्भीर रहेको बताइन्। ‘अब कपडा उद्योग सञ्चालनमा ल्याउन आवश्यक काम धमाधम अगाडि बढाइन्छ,’ उनले भनिन्, ‘सरकारी स्वामित्वका उद्योगलाई पुनः चलायमान बनाउने सरकारको नीति अनुसार हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको छ ।’

निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगका भौतिक संरचना, मेसिन उपकरण तथा औद्योगिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएकी थिइन् । लामो समय सञ्चालनविहीन हुँदा उद्योगका धेरै संरचना जीर्ण बन्दै गएको भन्दै उनले आवश्यक मर्मत, व्यवस्थापन तथा लगानी मोडालिटीबारे अध्ययन भइरहेको जानकारी दिइन्।

सरकारले पछिल्लो समय बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाइरहेका बेला हेटौँडा कपडा उद्योगलाई पनि प्राथमिकतामा राखिएको हो। मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा आर्थिक पक्षबारे मन्त्रालयले थप गृहकार्य गरिरहेको बताइन् ।

२०४६ सालपछि भएको राजनीतिक नियुक्ति बन्द र हडतालका कारणले उद्योग निरन्तर घाटामा जान थालेपछि १८ माघ ०५७ मा बन्द गर्ने निर्णय भएको थियो । कुनै समय हेटौँडा कपडा उद्योग देशकै प्रमुख सरकारी उद्योगमध्ये एक थियो । त्यतिवेला उद्योगमा १२ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए ।देशमै कपडा उत्पादन गर्ने लक्ष्यसहित ३० भदौ ०३२ मा कम्पनी दर्ता र पुसमा शिलान्यास गरिएको कपडा उद्योगले कात्तिक ०३५ बाट परीक्षण उत्पादन गरेको थियो । 

५ माघ ०३५ मा विधिवत् उद्घाटन भएर मुख्य गरी सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा उत्पादन गर्दै आएको हेटौँडा कपडा उद्योगले नेपाली सेनाका लागि आवश्यक कपडा पनि उत्पादन गर्थ्यो ।उद्योग पुनः सञ्चालनमा आए मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
 

सुझावित समाचार