शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

सार्वजनिक यातायातको नयाँ दर्ता रोक्न सातै प्रदेशलाई यातायात मन्त्रालयको परिपत्र

पूर्वाधार विकास मन्त्रालयले सातै प्रदेशमा नयाँ सवारीसाधनको दर्ता रोक्का गर्न परिपत्र गरेको छ। शुक्रबार निर्देशक मणिराम भुसालले सवारीसाधनको दर्ता रोक्का गर्न परिपत्र गरेका हुन् । 

बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्न विभागले परिपत्र गरेको जनाएको छ । इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारीसाधन’को समेत नयाँ दर्ता रोक्न विभागले निर्देशन दिएको हो । 

जेठ १४ गते सार्वजनिक बिदा

सरकारले आउँदो जेठ १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सोही दिन इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा) परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गरेर इस्माल धर्मावलम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरे । 

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न अदालतको अनुमति

कास्कीको सूर्यदर्शन सहकारीको ठगीसम्बन्धी मुद्दामा अभियोग संशोधनका लागि जिल्ला अदालत, कास्कीले अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलासले अभियोग संशोधनका लागि शुक्रबार अनुमति दिएको हो। 

यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत प्रतिवादी छन्। यस मुद्दामा सहकारी ठगीबाहेक थप अभियोग आवश्यक नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोग संशोधनको निर्णय गरी प्रक्रिया अघि बढाउन चार महिनाअघि नै जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गरेको थियो। यसअघि कास्की जिल्ला अदालतले सर्वाेच्च अदालतबाट यससम्बन्धी विषय टुंगिएपछि मात्र आदेश गर्ने भन्दै ‘होल्ड’मा राखेको थियो। गत साता उच्च अदालतले त्यससम्बन्धी मुद्दामा सुनुवाइ गर्न बाटो खोलिदिएपछि आदेश भएको हो। पीडितहरूको जाहेरीमा सहकारी ठगी मात्र उल्लेख भएको र अन्य अभियोग हटाउँदा मिलापत्रका लागि सहज हुने भन्दै अदालतले अभियोग संशोधन गर्न अनुमति दिएको हो। 

संविधान संशोधनका विषयमा राय–सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सूचना

सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा नागरिकका सुझाव संकलन गर्न आग्रह गरेको हो।

संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको बैठकले संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३८ चलचित्र देखाइने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव– २०२६ मा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ। महोत्सव मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा जुन २५ देखि २८ सम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र  ‘सेप अफ मोमो’ (छोराजस्तो) प्रदर्शनबाट हुनेछ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रशंसा पाएको उक्त चलचित्र जुन २८ मा रेड कार्पेट कार्यक्रमपछि प्रदर्शन गरिनेछ।

मधेशका मुख्यमन्त्री यादवले दोस्रोपटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। सत्तागठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार यादवले दोस्रोपटक प्रदेश सभामा विश्वासको मत लिएका हुन्।

प्रदेश सभामा उपस्थित एक सय सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुख रामआशिष यादवले जानकारी दिए। मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन्।

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज, पुन: म्याद थप नगर्न परमादेश

सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। गैरकानुनी रूपले पक्राउ गरी थुनामा राखेको प्रसाईंको दाबीलाई न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरेको हो।

‘अनुसन्धानको सिलसिलामा साधिकार निकायबाट यी निवेदकलाई पक्राउ गरी अदालतबाट पक्राउ पुर्जीको स्वीकृति एवं म्याद थप अनुमतिसमेत प्राप्त गरी न्यायिक हिरासतमा राखेको कार्यलाई गैरकानुनी थुना भन्न मिल्ने नदेखिँदा निवेदन मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न मिल्ने देखिन आएन,’ सर्वोच्चले भनेको छ।

सल्यानमा ५७७ बालबालिका अझै विद्यालयको पहुँचबाहिर

सल्यानमा आधारभूत तहका ५७७ बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि आयोजित सहजीकरण कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सल्यानका अनुसार  जिल्लाभर कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने उमेर समूहका ५७७ जना बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। अघिल्ला वर्षको तुलनामा विद्यालय छाड्ने (ड्रपआउट) बालबालिकाको संख्या घट्दै गए पनि हालको तथ्यांक अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

नेप्से १६ अंकले वृद्धि, कारोबार रकममा सुधार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से १६.३८ अंकले बढेर दुई हजार ७५८.४९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेको छ।

शुक्रबार ३३६ कम्पनीका एक करोड आठ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ। बिहीबार तीन अर्ब ८९ करोडको सेयर किनबेच भएको थियो।

आज व्यापार समूह ०.४२ प्रतिशतले गिरावट हुँदा बाँकी सबै १२ समूहमा वृद्धि देखिएको छ। जलविद्युुत् समूह १.२९ प्रतिशतले उकालो लाग्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

अमेरिकाविरुद्ध नेपालको सानदार जित

ब्याटरद्वय ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा शीर्ष स्थानको अमेरिकालाई १२२ रनले हराएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अमेरिका ४१.२ ओभरमा अलआउट हुँदा मात्र १९५ रन बनायो।

यो खेलसँगै नेपालले घरेलु मैदानमा खेल्ने लिग– २ को खेल सकाएको छ। यो शृंखलामा नेपालले चारमध्ये तीन खेल जितेको छ। यसअघि नेपालले स्कटल्यान्ड र अमेरिकालाई नै हराएको थियो। स्कटल्यान्डविरुद्ध एक खेल हारेको थियो।

त्यसअघि युएई र ओमानसँग भएको शृंखलामा पनि नेपालले चारमध्ये तीन खेल जितेको थियो। लिग तालिकामा २८ खेलबाट ३८ अंकसहित अमेरिका शीर्ष स्थानमा छ। नेपाल समान खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ।

सुझावित समाचार