नागरिककेन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर प्रहरीको नयाँ रणनीतिक योजना तयार पारिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार प्रहरी प्रधान काार्यालयमा ‘नेपाल प्रहरीको रणनीतिक योजना, २०८३–८५’ सार्वजनिक गरेका छन् । कार्कीले योजनाबद्ध विकासको माध्यमबाट प्रहरीलाई पेसागत रूपमा उत्कृष्ट, व्यावसायिक, समयसापेक्ष एवं आमनागरिकको अपेक्षाबमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न रणनीतिक योजना तयार गरिएको बताए ।
रणनीतिक विषय ‘नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण तय गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए । रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिककेन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकतामार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन योजनाले जोड दिएको प्रवक्ता काफ्लेले बताए । प्रहरीको रणनीतिक योजनाद्वारा सातवटा रणनीतिक क्षेत्रअन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम सम्पन्न गरिने उल्लेख छ ।
रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकासको लक्ष्य राखिएको छ ।
त्यस्तै, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्यांकनका वैज्ञानिक मापदण्डको विकास र कार्यान्वयनलगायतका लक्ष्य हासिल गर्ने योजनामा समावेश छन् । नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारबाही र विपत् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानवस्रोत विकास, भौतिक पूर्वाधार, स्रोत–साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि पनि योजनाको कार्यक्षेत्रमा राखिएको छ ।
सार्वजनिकीकरण कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको पनि शुभारम्भ गरेका छन् । यसले नागरिक र प्रहरीबिचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवं सेवाग्राहीको निवेदन, उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने प्रहरीको अपेक्षा छ । नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राहीमैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।