बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत जारी सातौँ अधिवेशन शुक्रबार रातिदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति ११:५९ बजेदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै अधिवेशन अन्त्य गरिएको जानकारी दिएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (३) बमोजिम प्रदेश सभा सचिव रामकुमार पौडेलले सूचना जारी गरेका हुन् ।
यसअघि बिहीबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकार आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर प्रि–बजेट छलफल र बजेट अधिवेशनको तयारी अघि बढाइएको जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था रहेको छ ।