- भ्रष्टाचारबाट आर्जित कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित डेढ रोपनीभन्दा धेरै जग्गा र त्यसमा बनेको घर जफत गर्न सर्वोच्चले ०६९ मै दिएको थियो आदेश
दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको डेढ रोपनी जग्गा अदालतको फैसलाको १४ वर्षपछि जफत भएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत २ वैशाखमा खड्काको ललितपुरको सानेपास्थित एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा सरकारको नाममा ल्याएको हो ।
सर्वोच्च अदालतले ३० साउन ०६९ मै फैसला गर्दै खड्काको सानेपामा रहेकोसहित जग्गा भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरी जफतको फैसला गरेको थियो । जफतको फैसला भएकोमध्ये २४९ नम्बरको कित्तामा पर्ने जग्गा मालपोत कार्यालयबाट सरकारको नाममा ल्याइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक सुभाष न्यौपानेले बताए । ‘सर्वोच्चको फैसलाअनुसार खुमबहादुर खड्काको एउटा कित्ता जग्गा हाम्रो नाममा ल्याइएको छ,’ उनले भने, ‘बाँकी पनि कार्यान्वयनकै प्रक्रियामा छौँ ।’ जग्गा जफतको निर्णय भए पनि अझै त्यसलाई खाली भने गराइएको छैन । खड्काकै परिवारले सो जग्गा प्रयोग गर्दै आएका छन् । घरको कम्पाउन्डभित्रै सो जग्गा पर्छ ।
सर्वोच्चले खड्कालाई एक वर्ष ६ महिना कैद र बिगोबमोजिम ९४ लाख ७४ हजार एक सय ११ रुपैयाँ १३ पैसा जरिवाना तथा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति र सोबाट बढे, बढाएको सम्पत्तिसमेत जफत हुने ठहर गरी फैसला गरेको थियो । सो मुद्दामा प्रतिवादी रहेकी खुमबहादुरपत्नी शिला शर्मा खड्काको नामको ललितपुर महानगरपालिका वडा नम्बर २(क) कित्ता नम्बर २४९ क्षेत्रफल एक रोपनी ६ आना एक पैसा एक दाम लिखत मूल्य २० लाख ९२ हजार रुपैयाँको जग्गा र सोही वडाको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना र कित्ता नम्बर एक सय ८६ को एक आना एक पैसा जग्गामध्ये घरबाहेकको जग्गाबाट २० लाख ५६ हजार नौ सय ८७ रुपैयाँ दुई पैसाबराबरको भागहिस्साको सम्पत्ति र सोबाट बढे, बढाएको सम्पत्ति जफत गर्नुपर्ने फैसलामा उल्लेख छ । तर, फैसलाअनुसार बढे, बढाएको जग्गा कसरी जफत गर्ने भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा कित्ता नम्बर १०७ मा पर्ने जग्गा भने अझै जफत हुन सकेको छैन ।
यसअघि रमेश लेखक गृहमन्त्री हुँदा २० लाख ५६ हजार बुझाएर जग्गाधनीलाई नै फिर्ता दिने गरी प्रक्रिया अघि बढाइएको थियो । यद्यपि, विशेष अदालतले त्यस प्रक्रियालाई रोक लगाइदियो । हाल भने अहिलेको चलनचल्तीअनुसार मूल्यांकन गरेर बढे, बढाएको सम्पत्ति जफत गर्ने गरी विभागले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । त्यतिखेरको सरकारी मूल्यांकनअनुसार २० लाख ९२ हजार रुपैयाँमा सानेपामा करिब १८ आना जग्गा खरिद गरिएको देखिन्छ । अहिले सो जग्गाको मूल्य करोडौँ पर्छ ।
खुमबहादुरकी पत्नी शिलाले त्यतिवेला अख्तियारमा गरेको बयानमा कित्ता नम्बर २४९ को एक रोपनी ६ आना एक पैसा जग्गा २०५८ सालमा २० लाख ९२ हजार रुपैयाँमा इन्द्रराज्य लक्ष्मीसिंहबाट खरिद गरेको उल्लेख गरेकी छिन् । सर्वोच्चले सो भन्दा ३६ हजार कम मूल्यबराबर जग्गा जफत गर्न भनेको छ । जसअनुसार करिब एक रोपनी पाँच आना जग्गा जफत गर्नुपर्ने देखिन्छ । तर, २० लाख ५६ हजार रुपैयाँ सरकारी खातामा बुझाएर करिब १७ आना जग्गा जोगाउने प्रयास भएको थियो । अब कानुन संशोधन गरी बढे, बढाएको मूल्यको हिसाब गरेर सो जग्गाको जफतसम्बन्धी निर्णय हुने भएको छ । सर्वोच्चले खड्काको मित्सुबिसी प्राडो गाडी, ३३ तोला सुन र २.९३ किलो चाँदी पनि बरामद गर्न भनेको थियो । सुन र चाँदी पनि हालसम्म जफत भइसकेको छैन ।