संस्थापनलाई ‘काउन्टर’ दिँदै देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण
  • प्रदेश भेलापछि राष्ट्रिय कार्यकर्ता भेला गरेर महाधिवेशनको मिति तोक्ने तयारी, सम्पर्क कार्यालयका लागि काठमाडौंमा भाडाको घर खोज्दै

कांग्रेस संस्थापन पक्षले १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अद्यावधिक गरिरहँदा इतर (शेरबहादुर देउवा) पक्षले पनि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेर महाधिवेशनको मिति तोक्ने तयारी थालेको छ । राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्नुअघि प्रदेश भेला गर्ने योजना बनाएको इतर पक्षले मंगलबार कोशी प्रदेशस्तरीय भेला गरिसकेको छ । डा. शेखर कोइराला पक्षको समेत उपस्थितिमा भेला भएको हो ।

सभापति गगन थापाले सोमबार देउवा पक्षका १२ र कोइराला पक्षका सात गरी १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि विवादको नयाँ बिउ रोपिएको छ । आफूहरूसँग परामर्शविना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालाले असन्तुष्टि जनाएका छन् । यो असन्तुष्टिले कांग्रेसलाई समानान्तर महाधिवेशनतिर धकेलेको छ ।

मंगलबार इतर पक्षको कोशी प्रदेशस्तरीय भेलामा कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मालगायत नेताहरू सहभागी थिए । कोइराला पक्षका नेता केदार कार्की पनि सहभागी थिए । कोशी भेलाको जिम्मा नेता सिटौलाले नै पाएका थिए, जसलाई गत १६ वैशाखमा संस्थापन पक्षले राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाएको थियो ।

इतर पक्षले बुधबार बागमती प्रदेशस्तरीय भेला गर्दै छ । बागमतीको भेलाको जिम्मेवारी प्रकाशमान सिंह र प्रकाशशरण महतलाई दिएको छ । त्यस्तै, मधेश प्रदेशमा जेठ दोस्रो सातासम्म भेला गरिसक्ने तयारी छ, जसको नेतृत्व आनन्द ढुंगानालाई दिएको छ । गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई भेलाको जिम्मा दिएको छ । उनीहरूले सम्बन्धित प्रदेशमा छलफल र भेलाको संयोजन गर्नेछन् । भेलाबाट क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियानको अवज्ञा गर्ने गरी प्रदेशगत जिम्मेवारी तोकिएको इतर पक्षले जनाएको छ । यो समूहले काठमाडौंमा सम्पर्क कार्यालयका लागि भाडाको घर खोजिरहेको छ ।

इतर पक्षले पूर्वबाट भेला सुरु गर्नुअघि संस्थापन पक्षले २६ र २७ वैशाखमा सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गरेको थियो । संस्थापनले २८ र २९ वैशाख (मंगलबार)मा कर्णालीमा पनि भेला गरिसकेको छ । ३१ वैशाख र १ जेठमा गण्डकीमा ४ र ५ जेठमा बागमतीमा, ६ र ७ जेठमा मधेशमा, ८ र ९ जेठमा कोशीमा र १४ र १५ जेठमा लुम्बिनीमा भेला गर्दै छ ।

संस्थापनकै शैलीमा इतर पक्षले पनि कोशीबाट भेला थालेको हो । संस्थापनले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम र जरा अभियानमा इतर पक्ष सहभागी छैन । गगन थापा महामन्त्री हुँदा नै सदस्यता नवीकरण भइसकेकाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्न आवश्यक नरहेको इतर पक्षको अडान छ ।

‘हामीले १५औँ अधिवेशनका लागि सदस्यता नवीकरणको कार्यतालिका तथा त्यसको व्यवस्थापनको जिम्मा महामन्त्रीको हैसियतले गगन थापाजीलाई दिएका थियौँ । उहाँ व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नवीकरण भइसकेकाले त्यसलाई दोहोर्‍याएर गर्नुपर्ने कुनै आवश्यकता छैन,’ इतर पक्षका नेता विमलेन्द्र निधिले भने, ‘फेरि अद्यावधिकको नाममा हाजिर गराउनु एकातिर विधानविपरीत छ भने अर्कातिर राजनीतिक रूपमा दुरासयपूर्ण छ ।’

निधिले १४औँ महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमिति गाभेर १५औँ महाधिवेशन आयोजक कमिटी गठन गर्नुपर्ने बताए । थापाले निवर्तमान कार्यवाहक सभापति खड्का र नेता कोइरालासँग दुईपटक भेटेर एकताको प्रस्ताव ल्याउने बताए पनि एकतर्फी रूपमा अघि बढेको इतर पक्षको आरोप छ ।

‘गगन थापा र विश्वप्रकाश शर्माले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भेटेर प्रस्ताव लिएर आउँछौँ भन्नुभएको थियो, तर अहिलेसम्म आउनुभएको छैन । हामी अब धेरै दिन पर्खिन सक्दैनौँ,’ निधिले चेतावनीपूर्ण शैलीमा भने, ‘उहाँहरू त एकतर्फी रूपमा अगाडि बढ्नुभयो, हामी पनि १५औँ महाधिवेशन गर्नका लागि जे–जे आवश्यक पर्छ, त्यो सबै गर्नका लागि तयारी गरिरहेका छौँ ।’

संस्थापन पक्षले झुलाउने नीति लिएको निष्कर्ष निकाल्दै इतर पक्षले प्रदेशस्तरीय भेला सम्पन्न गरेर राष्ट्रिय कार्यकर्ता भेलाबाट महाधिवेशनको मिति तय गर्ने ‘रोडम्याप’ बनाएको छ । राष्ट्रिय भेलाअघि जिल्लाजिल्लाबाट कार्यकर्ताको सुझाव संकलन गर्ने तयारी पनि रहेको इतर पक्षले जनाएको छ ।

संस्थापन पक्षले भने सबैलाई समेट्ने प्रयासस्वरूप नै केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको दाबी गरेको छ । ‘बाहिर रहेका साथीहरूलाई समेट्न नै केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको हो । यो सुरुवात हो, मिलाउँदै जान सकिन्छ,’ सहमहामन्त्री प्रकाश स्नेहीले भने ।

कांग्रेसले पटक–पटक गुटबन्दीको असर भोग्दै आएको भन्दै अब त्यसरी अगाडि बढ्न नहुने पनि बताए । ‘गुटबन्दीको असर विगतदेखि नै हामीले भोग्दै आयौँ । नयाँ परिस्थितिमा पनि फेरि त्यसरी नै अगाडि जानु उचित हुँदैन । महाधिवेशनमा सहभागी भएर नेतृत्वमा पुग्ने अवसर सबै नेता तथा कार्यकर्तालाई छ,’ उनले भने ।
सभापति थापाले सोमबार केन्द्रीय सदस्यमा मनोनयन गरेकाहरू देउवा पक्षका १२ र कोइराला पक्षका सातजना छन् । १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित महेन्द्र यादव (धनुषा) र जीवन परियार (कास्की) पनि मनोनीत भएका छन् । यादव देउवा पक्षका हुन् भने परियार कोइराला पक्षका हुन् ।

मनोनीत हुने अन्यमा देउवा पक्षका उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आंगेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव ढुंगाना (सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन् । त्यस्तै, कोइराला पक्षका सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा. चन्द्र भण्डारी (गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्युठान) र दिनेश कोइराला (चितवन) छन् ।

परामर्शविना नै केन्द्रीय सदस्य मनोनयनले एकताको उद्देश्यमा ठेस पुगेको खड्का र कोइरालाको ठहर
वार्ता प्रक्रिया सुरु गरेर सभापति थापाले परामर्शविना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले एकताको उद्देश्यमै ठेस पुगेको बताएका छन् । ‘केन्द्रीय कार्यसमितिमा मनोनयनका सम्बन्धमा मसँग कुनै छलफल/परामर्श भएको छैन, मेरो जानकारीमा छैन,’ खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।’

खड्काले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको हातमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको बृहत् र सम्पूर्ण एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न नसक्ने पनि बताएका छन् ।

‘विभाजित कांग्रेसले विगतमा धेरै ठुलो हन्डर मात्र खानुपरेन, हामीले आमनागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यौँ । त्यसैले त्यतिवेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको इतिहासको अनुभव हामीसँग छ,’ खड्काले भनेका छन् ।

खड्काले सभापति थापा र उपसभापति शर्मासँग भएको छलफलको पनि स्मरण गरेका छन् । ‘केही हप्ता पहिला गगन थापाजीसँग एक्लै र केही दिनअघि गगनजी र विश्वप्रकाशजीसँग सामूहिक भेटघाट–छलफल हुँदा मैले आफ्नातर्फबाट देशको राष्ट्रियता इतिहासमै अत्यन्त ठुलो जोखिममा रहेको कुरा केही दृष्टान्त दिएर बताएको थिएँ । नेपाली कांग्रेस स्थापना कालदेखि आजसम्मको हरेक भूमिका र कालखण्डमा सबैभन्दा अप्ठ्यारो र प्रतिकूल अवस्थामा उभिएको घडी छ । पपुलिज्मको नाममा संविधानवाद र लोकतन्त्रका आधारस्तम्भ र हाम्रा मूल्यमान्यतामा एकपछि अर्को आक्रमण निरन्तर भइरहेको अवस्था छ,’ थापा र शर्मासँगको छलफलको प्रसंग उल्लेख गर्दै खड्काले भनेका छन् ।

नेता डा. कोइरालाले पनि परामर्शविना भएको १९ केन्द्रीय सदस्यको मनोनयनले पार्टीको एकतामा ठोस पुगेको बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा कोइरालाले भनेका छन्, ‘हिजो नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ ।’

कोइरालाले कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औँ महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर बृहत्तर एकताको दिशामा अघि बढ्नुपर्ने पनि बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलपछि धारणा सार्वजनिक गर्दै कोइरालाले भनेका छन् ‘केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औँ महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पनि पार्टी एकताविना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका छन् ।

विराटनगरमा कांग्रेस इतर पक्षको भेला
विराटनगर/ देउवा–कोइराला समूहले मंगलबार विराटनगरस्थित होटेल बिगमा ‘कोशी प्रदेशस्तरीय समीक्षा तथा सुझाव’ भेला गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता मीन विश्वकर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा भएको भेलाले पार्टीलाई रूपान्तरण गर्दै सबैको साझा र बलियो बनाउनुपर्नेमा जोड दिएको छ । विशेष गरी क्रियाशील सदस्यता वितरण र नवीकरणलाई पारदर्शी बनाउनुपर्ने माग भेलाका सहभागीहरूले राखेका छन् ।

भेलामा सहभागी कोशी प्रदेशका अगुवा नेताहरूले सभापति गगन थापा पक्षले विशेष महाधिवेशनको बहानामा पार्टीलाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न खोजेको र पार्टी ‘कब्जा’ गर्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् । १९ जना केन्द्रीय सदस्यहरूको मनोनयन एकताको मर्मविपरीत भएको भन्दै सहभागीहरूले यस्ता कदमको भण्डाफोर गर्ने र देशभर एकता अभियान लैजाने निर्णय गरेका छन् ।

कोशी प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिटौला पक्षका नेता भीम पराजुलीले यो भेला मात्र नभई नेताहरूलाई सुझाव दिइएको बताए । ‘कि त सम्मानजनक एकताका लागि बलियो रणनीति बनाउनुपर्छ, कि त नयाँ सोचबाट अगाडि बढ्नुपर्छ भन्ने साथीहरूको धारणा छ,’ उनले भने । भेलामा सहभागी डा. शेखर कोइराला पक्ष र कृष्ण सिटौला पक्षका नेताहरूले हालै सम्पन्न विशेष महाधिवेशनको वैधानिकता र प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शेखर पक्षका नेता केदार कार्कीले यो कुनै एउटा गुटको नभई ‘एकताका लागि दबाब समूह’को भेला भएको बताए । लोकतन्त्रमाथि भइरहेको प्रहार रोक्न कांग्रेस छिन्नभिन्न भएर सम्भव नहुने भन्दै सबैलाई समेटेर अगाडि बढ्न नेतृत्वलाई दबाब दिइएको बताए ।

कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईका अनुसार विराटनगरको यो छलफलपछि अब प्रदेशका प्रत्येक जिल्लामा पुगेर सुझाव संकलन गरिने र सोहीअनुसार एकताको नयाँ मार्गचित्र तयार पारिनेछ ।

भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा र सीता खतिवडा थिए । त्यस्तै, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र पर्यटनमन्त्री भीम पराजुली थिए । नेताहरू सुनिता गच्छदार, सुनिता गुरुङ, भोला राजवंशी, खगेश्वरी पौडेलसहित ६ जना प्रदेश सांसदहरू पनि भेलामा थिए ।

सिटौलाको आक्रोश– राष्ट्रिय सभाको निर्णय मूर्खतापूर्ण’
भेलापछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनले कांग्रेसमा विभाजन ल्याएको दाबी गरे । ‘विशेष र नियमित महाधिवेशनको विवादले पार्टी फुटाएको छ । सम्पूर्ण एकता भएन भने लोकतन्त्रमा आएको चुनौती कांग्रेसले धान्न सक्दैन,’ उनले भने । सिटौलाले आफूलाई राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाएर सांसद कमला पन्तलाई नियुक्त गर्ने निर्णयलाई ‘मूर्खतापूर्ण’ भन्दै टिप्पणी गरे । उनले यो भेला गुटको नभई पार्टी बचाउने अभियान भएको र यसलाई देशभर विस्तार गरिने बताए ।  ‘कांग्रेस लाखौँ कार्यकर्ताले भरिएको पार्टी हो । हामी कांग्रेस एक भएर बलियो पार्टी बनोस् भन्ने चाहन्छौँ । भेलामा पनि सबैले एकता नै चाहनुहुन्छ भन्ने प्रस्ट भयो । त्यसैले एकता अभियानलाई देशभरि लैजान्छौँ,’ उनले भने । 

निधिले जनकपुरमा गरे कार्यक्रम
जनकपुरधाम/
इतरसमूहका नेता विमलेन्द्र निधिले पनि मंगलबार जनकपुरमा कार्यकर्तासँग छलफल गरे । १५औँ महाधिवेशनको तयारीका लागि प्रदेशस्तरमा जिम्मेवारी बाँडफाँटको कामसमेत सुरु भएको उनले बताए । उनले १५ औँ महाधिवेशनको तयारीस्वरूप  काठमाडौंमा छुट्टै पार्टी कार्यालय सञ्चालनका लागि घर खोजी भइरहेकोसमेत खुलाए । निधिका अनुसार मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य आनन्द ढुंगानालाई समन्वयको जिम्मेवारी दिइएको छ भने अन्य प्रदेशमा पनि क्रमशः भेला तथा परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । उनले पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माबिच सामान्य शिष्टाचार भेटघाट भएको स्वीकार गरे । तर, उक्त भेटमा ठोस प्रस्ताव आउने अपेक्षा गरिए पनि लामो समयसम्म कुनै निष्कर्ष ननिस्किएको उनले बताए । ‘अब धेरै समय पर्खिने अवस्था छैन । त्यसैले सातै प्रदेशमा आफ्ना नेता तथा कार्यकर्तासँग भेटघाट र आगामी रणनीतिबारे छलफल सुरु गरेका छौँ,’ उनले भने । संस्थापन पक्षले इतरसमूहसँग समन्वय र सहकार्य नगरे पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य नहुने उनको भनाइ छ । नेता निधिले विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी पनि गरे । ‘विशेष महाधिवेशनमा पार्टीका करिब ५५/५६ प्रतिशत प्रतिनिधिको सहभागिता थिएन, स्वयं विशेष महाधिवेशन पक्षधरले पनि ५४ प्रतिशत मात्र सहभागिता भएको बताइरहेका छन्, यस्तो अवस्थामा ४६ प्रतिशत प्रतिनिधिलाई बेवास्ता गरेर गरिएको महाधिवेशन कसरी वैधानिक र विधिसम्मत हुन्छ ?’ उनले प्रश्न गरे । 

यस्तो छ संस्थापनको १५औँ महाधिवेशन तालिका
१५औँ महाधिवेशनको तयारीमा लागेको कांग्रेस संस्थापन पक्षले अहिले जरा अभियान चलाइरहेको छ । यो अभियानअन्तर्गत वैशाख महिनाभर सदस्यता अद्यावधिक गरिरहेको छ । सम्बन्धित भूगोलमै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने कांग्रेसको निर्णय छ ।

सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलगायतले आ–आफ्नो भूगोलमा पुगेर सदस्यता अद्यावधिक गरेका छन् । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पनि खटाएको छ । उनीहरूले समन्वय गरिरहेका छन् ।

कार्यतालिकाअनुसार विदेशस्थित पार्टी जनसम्पर्क समितिको अधिवेशन ०८३ साउन मसान्तभित्र सम्पन्न गर्ने, २ भदौमा वडा अधिवेशन, ७ भदौमा गाउँ/नगर अधिवेशन, १७ भदौमा प्रदेश क्षेत्रीय अधिवेशन, २४ भदौमा क्षेत्रीय अधिवेशन, २ र ३ असोजमा जिल्ला अधिवेशन हुनेछ । ७ र ८ असोजमा प्रदेश अधिवेशन र १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
 

सुझावित समाचार