भ्रष्टाचार मुद्दामा ढकारी गाउँपालिकाका अध्यक्षसहित चारजनाले पाए सफाइ

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। सरकारी रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको हो।

अध्यक्ष साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल बिमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामबहादुर लम्साल विरुद्ध ‘अन्धपथ’ चलचित्र निर्माणका नाममा मिलेमतो गरी १२ लाख ७७ हजार २२५ रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले गत चैत ५ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

मंगलबार विशेष अदालतले अध्यक्ष साउदसहित चारैजनाविरुद्ध लगाइएका सबै आरोपमा उनीहरू निर्दोष रहेको ठहर गरेको हो। ‘नखाएको विष लाग्दैन,’ अध्यक्ष साउदले भने, ‘यो दुःख दिने नियत मात्रै थियो । यस्ता सबै षड्यन्त्रमा सधैँ सत्यको जित हुन्छ ।’

उनले सबै काम नियमभित्र रहेर गरिएको दाबी गर्दै अदालतले निष्पक्ष रूपमा अध्ययन गरेर फैसला गरेको बताए। न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले फैसला गरेको यो मुद्दाको पूर्णपाठ भने आउन बाँकी छ।

यस मुद्दामा अख्तियारले सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी १५ लाख ५ हजार रुपैयाँ लागतमा ‘अन्धपथ’ चलचित्र निर्माण गर्न १८ भदौ २०८१ मा सम्झौता गरिएको आरोप लगाएको थियो। साथै, खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माणलगायत प्रक्रिया पूरा नगरी चलचित्र निर्माणका लागि सम्झौता गरिएको अभियोगपत्रमा उल्लेख थियो।

अख्तियारले कानुनविपरीत भएको कार्यलाई ढाकछोप गर्न ६ कात्तिक २०८१ मा कार्यपालिका बैठकबाट उक्त सम्झौता अनुमोदन गरिएको दाबी पनि गरेको थियो ।

त्यस्तै, एउटा कम्पनीसँग सम्झौता गरेर रकमको भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई गरिएको विषयलाई समेत अख्तियारले भ्रष्टाचारजन्य कसुरका रूपमा उल्लेख गरेको थियो । चलचित्र निर्माणका लागि खरको घर तथा अन्य खर्च शीर्षकमा पेस गरिएका बिलहरूको सत्यता पुष्टि हुने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

तर, अदालतले अध्ययनका क्रममा ती सबै आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै चारैजनालाई सफाइ दिएको हो।

सुझावित समाचार