चुनावमा असहयोग गर्नेलाई जिम्मेवारीबाट हटाउँछौँ : गगन

विशेष महाधिवेशनपछि सुदूरपश्चिममा कांग्रेसको पहिलो भेला

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेस सभापति गगन थापाले चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेका नेताहरूलाई कारबाही गरिने बताएका छन् । विशेष महाधिवेशन र निर्वाचनपछि सुदूरपश्चिममा पहिलोपटक आयोजित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टी जिम्मेवारीमा रहेर पार्टीकै उम्मेदवारलाई भोट नहालेका नेताहरूलाई केही समय जिम्मेवारी बाहिर राखिने बताए ।

‘कांग्रेसको क्रियाशील सदस्य हुने, नेता हुने, कांग्रेसको तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, महाधिवेशन प्रतिनिधि हुने, तर मलाई उम्मेदवार मन परेन, त्यसकारण अर्कै चिन्हमा भोट हालेँ भन्न पाइँदैन,’ थापाले भने, ‘जसले यो निर्वाचनमा पार्टीको जिम्मेवारीमा बसेर उम्मेदवारलाई असहयोग गर्नुभो, उहाँलाई केही समय त्यो जिम्मेवारीबाट बाहिर राख्नैपर्छ, राखिन्छ । यसमा कहाँ, को कुनै इफ, बट केही पनि छैन ।’

पार्टीको क्रियाशील सदस्यता अद्यावधिकको काम अगाडि नबढाउने कमिटीका पदाधिकारीलाई पनि जिम्मेवारीबाट हटाइने उनले बताए । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यता अद्यावधिकप्रति असहमति जनाउँदै आएको छ । ‘प्रत्येक सदस्यको डिजिटल पहिचान पार्टी कार्यालयसँग जोड्न खोजेको हो । यो कुरा गर्नलाई आपत्ति जनाउनुपर्ने केही पनि छैन,’ थापाले भने, ‘कुनै पनि तहको चाहे जिल्ला सभापति होस्, चाहे क्षेत्रीय होस्, चाहे वडा सभापति, कसैले पनि म अपडेट अगाडि बढाउँदैन भन्छ भने त्यो साथी बदलिन्छ, उसको ठाउँमा नयाँ साथी आउँछ । यसमा तलमाथि केही कुरा छैन ।’ थापाले क्रियाशील सदस्यता अपडेटमा आपत्ति जनाउनुपर्ने कारण नरहेको भन्दै यो काम नरोकिने प्रस्ट पारेका छन् ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टी नयाँ ढंगले जान खोजेको बताए । उनले पार्टी एक रहेको सन्देश सुदूरपश्चिमबाट दिन आग्रह गरे । चुनावमा पराजित भए पनि आगामी चुनावमा तयारी गर्ने अवसरमा यसलाई लिनुपर्ने उनले बताए । ‘हाम्रो अभिभावकको रूपमा शेरबहादुर दाइको जुन राष्ट्रिय रूपमा उचाइ अझै बनाउनुपर्थ्यो, त्यो बनाउन चुक्यौँ, तर त्यसको बाबजुद पनि आज गगनजी सभापति भइसकेपछि पनि हामी उत्तिकै श्रद्धाका साथ उहाँलाई सम्झिन्छौँ,’ शर्माले भने । महामन्त्री गुरुराज घिमिरेले देशको नयाँ पुस्ता र कार्यकर्ताको मागअनुसार विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व परिवर्तन गरिएको बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निवर्तमान सभापति देउवालाई पार्टीले टिकट नदिएको विषय उठाए । उनले देउवालाई किन टिकट नदिएको भनेर सभापति थापासँग मञ्चबाट प्रश्न गरे । ‘आदरणीय नेता शेरबहादुर देउवालाई टिकटबाट वञ्चित गर्दैगर्दा त्यो स्वाभाविक थियो कि अस्वाभाविक थियो ?’ उनले भने, आदरणीय नेता शेरबहादुर देउवालाई टिकटबाट किन बञ्चित गरियो म उत्तर चाहन्छु ।’ 

कांग्रेस प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुँदै छ । भेलाको पहिलो दिन गत निर्वाचनमा कांग्रेसबाट यो प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवार र जिल्ला सभापतिहरूले निर्वाचनको समीक्षा प्रस्तुत गरे । कञ्चनपुर ३ का उम्मेदवार हरिप्रसाद बोहरा, अछाम २ बाट पराजित जिल्ला सभापति पुष्पबहादुर शाह, डडेल्धुराबाट उम्मेदवार बनेका नैनसिंह महर, दार्चुलाका उम्मेदवार धर्मानन्द जोशीलगायतले चुनावी समीक्षा प्रस्तुत गरेका थिए ।  कतिपय उम्मेदवार र जिल्ला सभापतिले पार्टीको आन्तरिक एकता मजबुत भए पनि अहिलेको लहरका कारण चुनावमा पराजय भोग्नुपरेको बताए । सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले तीन सिट जितेको थियो । 

See More On

सुझावित समाचार