युक्रेनमा युद्धबन्दी बनाइएका नौ नेपाली रिहाइको पहल

युक्रेनलाई नेपालको कूटनीतिक नोट, युद्धबन्दी र अन्य नेपालीको विवरण माग

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले नेपालको कानुनविपरीत रुसी सेनामा भर्ती भएका र त्यस क्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाइका लागि कूटनीतिक प्रयास थालेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँगको टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाइको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो । खनाल र सिबिहाबिच १७ वैशाखमा टेलिफोन वार्ता भएको थियो ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको विदेश मन्त्रालय तथा बर्लिनस्थित युक्रेनी दूतावासलाई शुक्रबार कूटनीतिक नोट पठाएको छ । रुसी सेनामा भर्ती भएका नौ नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेको प्रारम्भिक विवरण सरकारले प्राप्त गरेको छ । जर्मनीको बर्लिनस्थिन नेपाली दूतावासले नेपाल–युक्रेन सम्बन्ध पनि सञ्चालन गर्दै आएको छ । परराष्ट्र स्रोतका अनुसार पत्रमा युक्रेनमा रहेका नेपाली नागरिकको संख्या र विवरण तथा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको संख्या र विवरण माग गरिएको छ ।

जर्मनीस्थित कार्यवाहक राजदूत सागर फुयाँलले नेपाली युद्धबन्दीको रिहाइका लागि विभिन्न तहमा प्रयास भइरहेको बताए । ‘मन्त्रीज्यूहरूको टेलिफोन वार्ताको स्पिरिटका आधारमा विभिन्न पहल भएका छन्, युक्रेनमा रहेका नेपाली नागरिक तथा युद्धबन्दी अवस्थाका नेपालीलाई त्यहाँबाट बाहिर निकाल्ने विषय हाम्रो प्राथमिकतामा छ,’ उनले भने, ‘सम्बद्ध सबै पक्षसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेका छौँ ।’

परराष्ट्रमन्त्रीका तर्फबाट टेलिफोनमा र नेपाली दूतावासका तर्फबाट लेखिएको चिठीमा नेपालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य कुनै पनि विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती हुन अनुमति नदिने नीति रहेको स्पष्ट पारिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनी सेनाको नियन्त्रणमा रहेका नौ नेपाली नागरिकलाई मानवीय आधारमा रिहा गरी स्वदेश फिर्ता पठाउन परराष्ट्रमन्त्री खनालले समकक्षीलाई स्पष्ट रूपमा आग्रह गरेका थिए । प्रत्युत्तरमा युक्रेनी विदेशमन्त्री सिबिहाले यस सम्बन्धमा नेपाल सरकारसँग छलफल गर्न आफूहरू खुला रहेको जबाफ दिएका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्रमन्त्री खनालले युक्रेनी समकक्षीलाई नेपाली युद्धबन्दीको रिहाइ सम्बन्धमा १७ वैशाखमा टेलिफोन कुराकानी गरेको जानकारी दिए ।

परम्परागत सम्झौताअनुसार नेपाली नागरिक भारत र बेलायतका सेनामा भर्ती हुँदै आएका छन् । यद्यपि, भारतीय सैन्य भर्तीसम्बन्धी नयाँ नियम अग्निपथ लागू भएपछि भारतीय सेनामा पाँच वर्षदेखि नेपाली नागरिक भर्ती भएका छैनन् । बेलायती सेनामा नेपाली नागरिकको भर्ती जारी छ ।

विगतमा युक्रेनले आफ्नो सैन्य हिरासतमा रहेका नेपालीलाई छाड्न दीर्घकालीन कानुनी सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा यसबारे प्रारम्भिक छलफलसमेत भएको थियो । खासगरी नेपाल र युक्रेनबिच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौताबाहेक कुनै पनि सम्झौता भएको छैन । द्विपक्षीय कानुनी सम्झौता अभावमा नेपाली नागरिकलाई कानुनी रूपमा जेलबाहिर निकालेर पठाउन अप्ठेरो हुने जवाफ युक्रेनी अधिकारीले नेपाली अधिकारीलाई दिँदै आएका थिए । नयाँदिल्लीस्थित युक्रेनी राजदूत ओलेक्सेन्डर पोलिस्चुकले यो जानकारी दिल्लीस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई दिएका थिए ।

दिल्लीमा नयाँ पत्रिकासँगको भेटमा राजदूत पोलिस्चुकले रुसी सेनामा नेपालीको भर्ती नेपाल सरकारको निर्णयअनुसार नभएको र सैन्य हिरासतमा रहेका नेपाली निर्दोष रहेको भन्नेमा युक्रेन सहमत रहेको बताएका थिए । उनले निवर्तमान नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग एउटा कानुनी सम्झौतामा हस्ताक्षर गर्न प्रस्ताव गरेका थिए ।

नेपाल र युक्रेनबिच १५ जनवरी १९९३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनसँगको सम्बन्ध हेर्दै आएको छ भने दिल्लीस्थित युक्रेनी दूतावासले नेपालसँगको सम्बन्ध हेर्दै आएको छ । युक्रेनले बर्लिनस्थित नेपाली दूतावासका अधिकारी किभ भ्रमण नगरेकोमा पनि अप्रसन्नता जनाउँदै आएको छ ।

रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनी भूभागबाट नौ नेपाली फरक–फरक मितिमा युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । रुसले कब्जा गरेको र लडाइँ गरिरहेको युक्रेनी भूभागमा लडाइँमा जाने क्रममा रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो । नेपालको कूटनीतिक प्रयासपछि रुसी सेनामा नेपालीको भर्ती बन्द भएको छ । तर, युक्रेनमा रहेका नेपाली युद्धबन्दी रिहाइमा विलम्ब हुँदै आएकोमा सरकारले प्रयास थालेको हो ।

युक्रेन छाड्न नेपालीलाई एड्भाइजरी
बर्लिनस्थित नेपाली दूतावासले शुक्रबार एड्भाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्कालै युक्रेन छाड्न आह्वान गरेको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि त्यहाँ रहेका धेरैजसो नेपाली बाहिरिए पनि बाँकी सात नेपालीलाई पटक–पटक गरी बाहिर निकालिएको जर्मनीस्थित कार्यवाहक नेपाली राजदूत फुयाँलले बताए । 

‘रुस–युक्रेन युद्ध सुरु भएपछि एकपटकमा तीन, अर्कोपटक दुई र तेस्रोपटक पुनः दुई नेपाली नागरिकलाई युक्रेनबाट उद्धार गर्यौँ । अब त्यहाँ नेपाली नागरिक हुनुहुन्छ भने हाम्रो सम्पर्कमा आउन र बाहिर निस्किन भनेका छौँ,’ फुयाँलले भने, ‘युक्रेनमा युद्धबन्दीबाहेक कति नेपाली नागरिक हुनुहुन्छ भन्ने यकिन जानकारी छैन । यदि कोही हुनुहुन्छ भने बाहिर निस्किनुस् भन्ने पूर्वसावधानीसहित एड्भाइजरी जारी भएको हो ।’

See More On

सुझावित समाचार