देउवा र कोइराला समूहले असन्तुष्टि जनाएको क्रियाशील सदस्यता अद्यावधिकबारे छलफल हुने

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसमा गुटगत गतिविधि भइरहेका वेला संस्थापन पक्षले समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको आधिकारिकतासम्बन्धी रिट खारेज गरेर विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिए पनि कांग्रेसको आन्तरिक विवाद सुल्झेको छैन । संस्थापन इतरका १४औँ महाधिवेशन पक्षधर देउवा पक्ष र शेखर कोइराला पक्षले आन्तरिक एकताको जिम्मेवारी सभापति गगन थापाको हातमा रहेको निष्कर्ष निकालेको अवस्थामा बोलाइएको संस्थापनको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापन विषयमा बैठकमा छलफल हुने सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । ‘मुलुकको समसामयिक राजनीतिक परिस्थिति र आन्तरिक एकताको विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने । क्रियाशील सदस्यता अद्यावधिकको अवस्थाबारे पनि छलफल हुने उनले बताए । क्रियाशील सदस्यता अद्यावधिकको विषयमा संस्थापनइतर पक्षले आपत्ति जनाएको छ । इतर पक्षले स्वाभिमानको विषयमा जोड दिएको छ ।

देउवा पक्षको १५ वैशाख र कोइराला पक्षको १७ वैशाखमा भएको भेलाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने निष्कर्ष निकालेको थियो । भेला छुट्टाछुट्टै भए पनि देउवा र कोइराला पक्षको निष्कर्ष एउटै थियो, ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न खोज्नु उपयुक्त होइन । अव्यावहारिक विषयमा सहमति जनाउन र सहभागी हुन सकिन्न ।’ 

नेता मीन विश्वकर्माले बल सानेपाकै कोर्टमा रहेको बताए । ‘पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरा सानेपाकै हातमा छ । आन्तरिक एकता कायम रहने–नरहने उहाँहरूकै हातमा निर्भर रहन्छ,’ उनले भने । १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेपछि पुनः सोही महाधिवेशनका लागि दोहोर्याएर नवीकरण गर्न नपर्ने १४औँ महाधिवेशन पक्षधरको जिकिर छ ।

संस्थापन पक्षले पार्टीलाई जीवन्त बनाउन सदस्यता अद्यावधिक गर्न थालिएको दाबी गरेको छ । ‘अहिले सदस्यता अद्यावधिक गर्न थालेका हौँ । सदस्यको नागरिकता नम्बर, फोन नम्बर, समाजिक सञ्जाल, उमेर समूह सबै अद्यावधिक हुन्छ । त्यसले पार्टीलाई जीवन्त बनाउँछ । त्यसैको आधारमा पार्टीले आइडी बनाउँछ । त्यहाँ सबै कुरा अपडेट हुन्छ । सदस्यहरूबिच सम्बन्ध प्रगाढ बनाउँछ,’ सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका सहमहामन्त्री स्नेहीले भने ।

स्नेहीले आवश्यकता र औचित्यका आधारमा सबैसँग कुरा हुने र आन्तरिक एकता कायम गरेर जाने नीति रहेको बताए । ‘पार्टीमा आन्तरिक एकता आवश्यक छ । आवश्यकता र औचित्यका आधारमा सबै कुरा सम्बोधन हुन्छ । तर, समूहगत रूपमा सम्बोधन हुँदैन । सभापति पार्टी एकताका लागि हदैसम्म उदार हुनुहुन्छ,’ उनले भने, ‘विधानको सर्वोच्चतालाई केन्द्रमा राखेर सबैसँग छलफल हुनछ । सभापतिले पनि विधानको परिधिभित्रै बसेर काम गर्ने हो ।

कांग्रेसका सबै नेता तथा कार्यकर्ताले विधानको परिधिभित्र बसेर काम गर्नुपर्छ ।’ बहुमतको निर्णय मान्ने र अल्पमतलाई समेटेर जाँदा नै आन्तरिक एकता बलियो हुने उनले बताए । ‘पार्टीमा बहुमतको निर्णय लागू हुन्छ । अल्पमतलाई समेटेर लैजाने र अल्पमतले सहयोग गर्ने हुनुपर्छ । त्यसले मात्रै आन्तरिक एकता कायम हुन्छ,’ स्नेहीले भने ।

 मीन विश्वकर्मा, देउवापक्षीय नेता
पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरा सानेपाकै हातमा छ । आन्तरिक एकता कायम रहने–नरहने उहाँहरूकै हातमा निर्भर रहन्छ ।

 प्रकाश स्नेही, सहमहामन्त्री
पार्टीमा आन्तरिक एकता आवश्यक छ । आवश्यकता र औचित्यका आधारमा सबै कुरा सम्बोधन हुन्छ । तर, समूहगत रूपमा सम्बोधन हुँदैन । 

सुझावित समाचार