नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले आवेदन मागेको छ । अध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले इच्छुक योग्य नेपाली नागरिकलाई सात दिनभित्र व्यक्तिगत विवरण पेस गर्न सूचना जारी गरेको हो ।
अर्थ मन्त्रालयले मंगलबार प्रकाशित सूचनाअनुसार आवेदन दिने अन्तिम मिति २१ वैशाख ०८३ तोकिएको छ । आवेदन अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा कार्यालय समयभित्र बुझाउनुपर्नेछ ।
सूचनाअनुसार अध्यक्ष बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, अर्थशास्त्र, वित्त, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने र सम्बन्धित कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने उल्लेख छ । उमेर हद पनि तोकिएको छ । आवेदन दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, ठगी, जालसाजी, नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहरिएका व्यक्ति आवेदन दिन अयोग्य हुनेछन् । झुटा विवरण वा नक्कली कागजात पेस गरे आवेदन स्वतः रद्द हुने र कानुनी कारबाहीसमेत हुने जनाइएको छ ।