देउवापक्षीय आङ्देम्बे कांग्रेस दलका नेता

थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउने तयारी

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

समानुपातिक सांसद भीष्मराज आङ्देम्बे प्रमुख प्रतिपक्ष दल कांग्रेसको सर्वसम्मत दलको नेता चयन भएका छन् । सांसदहरूले शपथ लिएको महिना दिनपछि कांग्रेसमा आङ्देम्बे सर्वसम्मत रूपमै दलको नेता चयन भएका हुन् । १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनपछि पहिलोपटक कांग्रेसले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । 

पार्टीका समूहका आ–आफ्ना चासोको उम्मेदवार देखिएपछि दलको नेता चयनमा विलम्ब भएको थियो । सभापति गगन थापाले रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दलको नेता बनाउन चाहेका भए पनि उनको पक्षमा संसदीय अंकगणित अनुकूल नदेखिएपछि आङ्देम्बेले मौका पाएका हुन् । शेरबहादुर देउवापक्ष, शेखर कोइराला पक्ष र उपसभापति विश्वप्रकाश शर्माको पनि समर्थन पाएपछि आङ्देम्बे दलको नेता बनेका हुन् । 

त्यसअघि सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापाले आङ्देम्बेको नाम प्रस्ताव गरेका थिए । थापाको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । दलको नेतामा निर्वाचित भएका आङ्देम्बेलाई सभापति थापाले प्रमाणपत्र दिएका छन् ।

सर्वसम्मतिका लागि प्रयास गर्दा केही ढिलो दलको नेता चयन भएको सभापति थापाले प्रतिक्रिया दिए । ‘ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सर्वसम्मत निर्णयका लागि सबै साथीभाइसँग संवाद गर्नुपर्ने भएकाले केही समय लागेको हो,’ सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने । उनले आङदेम्बेले अत्यन्त राम्रोसँग जिम्मेवारी पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

थापाका अनुसार आङ्देम्बेलाई नेता चयन गर्ने प्रक्रियामा नेता अर्जुननरसिंह केसी र अन्य आकांक्षी सांसदले पनि सहमति जनाएका थिए । आङ्देम्बेका साथै केसी, आचार्य र बासना थापालगायतले दलको नेतामा दाबी गरेका थिए ।

नेता आङ्देम्बेले संख्याभन्दा विचार र स्पष्ट गन्तव्य महत्वपूर्ण हुने बताउँदै प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । सरकारको राम्रो कामको समर्थन गर्ने र आवश्यक पर्दा सचेत गराउने उनले बताए । संसद्मा संख्याभन्दा विचार महत्वपूर्ण हुने उनको भनाइ छ । ‘सरकारलाई सही दिशामा मार्गदर्शन गर्ने, राम्रो काममा साथ दिने र आवश्यकता पर्दा सचेत गराउने भूमिका खेल्छौँ,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य, आचरण र प्रणालीमा कुनै प्रकारको विचलन देखिए ध्यानाकर्षण गराउनेछौँ ।’ 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा अस्वाभाविक ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए । ‘संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्भभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम हो । यो कार्य तत्काल बन्द गरियोस्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका थिए, ‘यो दशथरीको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन । संसदीय दलले अविलम्ब दलको नेता चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छविमा हुन थालेको थप क्षतिलाई रोकियोस् ।’ 

दलको नेता चयन भएका आङ्देम्बे ०२० सालमा पाँचथरमा राजनीतिक परिवारमा जन्मेका व्यक्ति हुन् । उनका माइला बुबा प्रेमराज ०१६ सालमा बिपी कोइरालाको सरकारमा मन्त्री बनेका थिए । उनले ०४२ सालमा नेविसंघको सदस्यता लिएका थिए । उनले नेविसंघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर काम गरेका छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । उनी त्यसवेला उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापति बनेका थिए । ०५६ र ०७४ मा भने उनी पराजित भए । यसपटक समानुपातिकबाट सांसद बने । 

सुझावित समाचार