आश्रमको बसाइ र खानपानप्रति सन्तुष्ट छैनन् सुकुमवासी

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण
  • ९३६ परिवारका २९ सय ५५ जना सरकारको सम्पर्कमा आएकामा ५५५ मात्रै सरकारको व्यवस्थापनमा आश्रम र होटेलमा, सक्दो छिटो स्थायी ठाउँमा सार्न माग

गुह्येश्वरी स्कुलनजिकै सार्वजनिक जग्गामा छाप्रो बनाएर ५० वर्षदेखि बस्दै आएकी थिइन्, सीता नेपाली । त्यहाँ उनका छोरी, नातिनातिनीसहित पाँचजनाको परिवार बस्थ्यो । तर, वर्षौँदेखिको बास शनिबार गुम्यो ।

सीताले टहराभित्रको सामान जेनतेन बाहिर निकालिन् । डोजरले टहरो भत्काएपछि आत्तिएका चार कक्षामा पढ्ने नाति र ६ कक्षामा पढ्ने छोरीलाई थपथपाइन् । बालबच्चालाई मानसिक दबाब नपरोस् भनेर उनले आफ्नो आँसु दबाइन् । अहिले सीताको परिवार काठमाडौं महानगरपालिकाको सहयोगमा कीर्तिपुरको रामघाटस्थित राधास्वामी आश्रममा छ । तर, आश्रमको बसाइ र खानपान सन्तोषजनक नभएको उनको गुनासो छ । आफूहरूलाई कुनै स्थायी ठाउँ वा विकल्प दिनुपर्ने उनको माग छ । 

‘हामीलाई खान त दिएको छ, तर चित्तबुझ्दो छैन । खुला टहरोमा सामान एकातिर भुइँमा थुपारिएको छ, अर्कोतिर भुइँमै बिस्तारा लगाएर सुत्नुपरेको छ । अब यहाँ कहिलेसम्म राख्ने हो पत्तो छैन, यस्तोमा कसरी समय बिताउने ?’ उनले भनिन्, ‘हामी खोलाको छेउमा रहरले बसेका थिएनौँ, त्यहाँ पनि निकै डर थियो । सरकारले हटायो, केही छैन । तर, अब स्थायी रूपमा बस्ने, गुजारा चलाउन कमाउने र बच्चाहरूलाई पढाउने सुरक्षित ठाउँ त चाहियो नि !’

हालसम्म ९३६ परिवारका दुई हजार ९५५ जना सरकारको सम्पर्कमा आएकामा सीताको परिवार बस्दै आएको राधास्वामी आश्रममा ३२ परिवारका १४७ जना मात्रै छन् । त्यस्तै, ४०७ जना सरकारकै व्यवस्थापनमा विभिन्न होटेलमा छन् । अन्य दुई हजार ४०१ जना आफैँ व्यवस्थापन गरेर डेरा, आफन्त वा साथीभाइको आश्रयमा छन् ।

कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासी परिवार । तस्बिर : सञ्जीव योञ्जन/नयाँ पत्रिका

राधास्वामी आश्रममा राखिएकाहरूलाई बिहान र बेलुकी प्याकेटमा खाना वितरण गरिएको छ । दिउँसोको समयमा चिया र बिस्कुट दिने गरिएको छ । सोही आश्रममा बस्दै आएका प्रथम बस्नेतले लामो समय आफूहरूलाई आश्रममा अलपत्र नपार्न माग गरेका छन् ।

‘यो ठाउँमा हामीलाई राखेर हुँदैन, गरिखाने र आफ्ना सामान सुरक्षित रूपमा राख्ने ठाउँ चाहियो,’ उनले भने, ‘सरकारले यहाँबाट कहाँ लैजाने हो, कसरी राख्ने हो थाहा छैन, यहाँ सबैलाई एउटा ठुलो टहरामा राखिएको छ, यसरी बस्दा निकै असहज हुने गरेको छ, अझ सामानसमेत हराउला भन्ने डर हुन्छ ।’

सोही आश्रममा राखिएकी एक महिलाले महिलामाथि असुरक्षाको सवाल पनि उठाइन् । ‘यहाँ धेरैजसो महिला हुनुहुन्छ । कतिपय अपांगता भएका व्यक्ति पनि हुनुहुन्छ । तर, यहाँ सुरक्षा अलि कमजोर छ,’ उनले भनिन्, ‘हामीलाई जतिसक्दो छिटो स्थायी ठाउँमा सार्नुपर्छ ।’

सोमबार आश्रममा भेटिएका अधिकांश बालबालिकाले पनि खानपिन र सुत्ने ठाउँको अभाव भएको गुनासो गरे । ‘हाम्रो घर भत्काएर यहाँ ल्याएर राखिएको छ, तर यहाँ राम्ररी पेट भरिने गरी खानेकुरा दिइएको छैन । बिहान र बेलुकी एक–एक प्याकेट खाना र दिउँसो चिया–बिस्कुट दिइन्छ । प्याकेटको खानाले पेट भरिँदैन, चाउचाउ र चटपट ल्याएर खाँदै छौँ,’ एक बालिकाले भनिन्, ‘आफूहरूलाई आश्रमबाट अन्यत्र व्यवस्थापन गरेर टहरा भत्काएको भए यस्तो समस्या भोग्नु पर्दैनथ्यो । अहिले डोजरले घर भत्काएको दृश्य मात्रै सम्झनामा आइरहन्छ ।’

आश्रमको टहरामा सोमबार दिउँसो उनीसहित ३५ बालबालिका खेलिरहेका थिए । तिनैमध्येका एक किशोरले भने, ‘सबैलाई एउटै खुला ठाउँमा राखिएको छ । हाम्रो सामान मिलाउने, व्यवस्थित तरिकाले बस्ने अवस्था छैन । अब त हाम्रो नयाँ कक्षा सुरु हुने वेला हुन लागिसक्यो, अब कहाँ पढ्ने हो कुनै टुंगो छैन ।’ उनको परिवारमा उनीसहित पाँचजना छन् ।

आश्रममा बस्दा बालबालिकालाई मनोवैज्ञानिक असर नपरोस् भनेर काठमाडौं महानगरपालिकाले स्वयंसेवक खटाएको छ । उनीहरूले बालबालिकालाई सम्झाउने र विभिन्न खेल खेलाउने गरिरहेका छन् । महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले आश्रममा बसेकाहरूलाई मंगलबार परामर्शसमेत दिइने बताए ।

‘आश्रममा बसेकाहरूलाई मनोसामाजिक परामर्श चाहिन्छ । अझ त्यहाँ थुप्रै बालबालिकाहरू छन्, त्यसकारण पनि हामीले परामर्शका कार्यक्रम अघि बढाएका हौँ । बालबालिकालाई केन्द्रित गरेर परामर्श दिन्छौँ,’ उनले भने, ‘त्यहाँ भएका बालबालिकाहरूको पढाइको विषयमा आत्तिनुपर्ने अवस्था छैन, किनभने नयाँ शैक्षिक सत्रको क्यालेन्डर भर्खर सुरु हुँदै छ । सायद सरकारले व्यवस्थापन गरेपछि बालबालिकाको शिक्षा पनि सोहीअनुसार व्यवस्थापन हुन्छ ।’

बागमती करिडोर क्षेत्रमा टहरामा भएका अधिकांश सुकुमवासी बस्तीका बालबालिका त्रिपुरेश्वरको विश्वनिकेतन, तीनकुनेको सिद्धेश्वर र सिनामंगलको गुह्येश्वरी विद्यालयमा अध्ययन गर्दै आएका थिए । तर, उनीहरूलाई टहराबाट हटाएपछि विद्यालय पनि परिवर्तन गर्नुपर्ने देखिएको छ ।

कोठा नपाउँदा सास्ती भोग्दै कतिपय
सरकारले टहरो भत्काएपछि रामबहादुर कार्कीले सिनामंगलस्थित बागमती करिडोरकै भित्तातर्फ त्रिपालले सामान छोपेर राखेका छन् । उनी शुक्रबारदेखि कोठा खोज्दै भौँतारिरहेका छन् । तर, हालसम्म पनि कोठा नभेट्टाएको कार्कीको गुनासो छ । ‘तीन दिनदेखि कोठा खोजिरहेको छु, तर अधिकांशले दिनै मान्दैनन् । कोही दिन तयार भए पनि महँगो भन्छन्, ‘उनले भने, ‘सरकारले भनेको होटेलमा गएर बस्दा सामान अट्दैन । रंगशालामा छाड्दा सुरक्षित हुँदैन । सामान छाडेर जाने कुरा भएन ।’ 

सिनामंगल क्षेत्रमै भेटिएकी सुन्तली लामाको गुनासो पनि उस्तै छ । सडकपेटीमा पाल टाँगेर बसेकी उनले पनि सामान राख्ने सुरक्षित ठाउँ नभएकाले यहीँ कुरेर बस्न बाध्य भएको सुनाइन् । ‘सरकारले राखेको ठाउँमा जाने हो भने सामान रंगशालामा छाडेर जानुपर्छ । त्यसरी सामान सुरक्षित हुने नदेखेपछि यहीँ पाल टाँगेर बसेको हो,’ उनले भनिन्, ‘अरू छिमेकीहरूले भनेअनुसार सरकारले राखेको ठाउँमा पनि खाने र बस्ने व्यवस्था गतिलो छैन रे ।’

सुझावित समाचार