रोकिएन कांग्रेसको शक्ति संघर्ष : दलको नेतामा चुनाव रोकियो, सहमति भएन

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
  • शुक्रबार चुनाव स्थगित गरेर उपसभापति शर्माको नेतृत्वमा सहमति जुटाउन समिति बनाए पनि शनिबार रातिसम्म छैन प्रगति

गत २१ फागुनको निर्वाचनबाट निर्वाचित सांसदले शपथ लिएको एक महिनासम्म पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । सर्वोच्च अदालतले गगन थापा पक्षधरलाई आधिकारिता दिएपछि पनि कांग्रेसको शक्ति संघर्ष रोकिएनको छैन, बरु दलको नेता चयनमा नयाँ समीकरण देखिएको छ ।

निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास भए पनि आकांक्षीले अडान नछाडेपछि शीर्ष नेतृत्व नै दबाबमा आएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समन्वय समितिले सहमतिको प्रयास जारी राखेको छ । उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेको समन्वय समितिले सहमति जुटाउन आकांक्षीसँग संवाद गरिरहेको छ । 

महामन्त्री पौडेलले सहमतिको प्रयास जारी रहेको तथा आकांक्षी धेरै देखिएको बताए । ‘दलको नेताका लागि सहमतिको प्रयास जारी छ । आइतबारसम्म सहमतिकै प्रयास हुन्छ, नभए सोमबार निर्वाचन हुन्छ,’ पौडेलले भने, ‘आकांक्षी पनि धेरै हुनुहन्छ ।’ इतर पक्षका शीर्ष नेताहरूसँग व्यापक परामर्श गर्ने निर्णय गर्दै शुक्रबारका लागि तय निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

कांग्रेस दलको नेताका लागि समानुपातिक सांसदद्वय भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसी तथा रसुवाबाट निर्वाचित मोहन आचार्य मुख्य दाबेदार देखिएका छन् । आचार्यलाई सभापति गगन थापाको साथ छ । आङ्देम्बेलाई उपसभापति शर्मा, नेता डा. शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ । 

केसी भने आचार्य र आङ्देम्बेको विकल्पमा आफ्नो नाममा सहमति जुट्ने अवस्था भए दलको नेता बन्ने दाउमा छन् । निर्वाचन हुने अवस्थामा आफू प्रतिस्पर्धाबाहिर रहने उनले बताएका छन् । केसीले ज्येष्ठ सदस्यको हैसियतमा अन्य सांसदहरूलाई शपथ खुवाएका थिए भने सभामुख चयनपूर्व सदनसमेत चलाएका थिए । 

आचार्य विशेष महाधिवेशन र आङ्देम्बे नियमित महाधिवेशनको पक्षधर हुन् । पार्टीको १४औँ महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा र आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

विशेष महाधिवेशनको विपक्षमा उभिए पनि संसद्को पहिलो बैठकमा भने आङ्देम्बेले विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरण भएर अगाडि बढेको बताएका थिए । निस्कल राई, बासना थापा र योगेश गौचन थकालीलगायतले पनि आकांक्षा राखेका छन् । 

कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा संसदीय दलको नेता निर्वाचन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौती सामना गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको स्नेहीले बताए ।

संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँच दलले तत्कालै संसदीय दलको नेता चयन गरेका थिए । कांग्रेसको संसदीय इतिहासमा ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि दलको नेता निर्वाचनबाटै चयन हुँदै आएका छन् ।

विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले सर्वोच्चबाट मान्यता पाएपछि कांग्रेसको विवाद थप जटिल देखिएको छ । १४औँ महाधिवेशन पक्षधरले निवर्तमान केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेलासमेत बोलाएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद, कसको पक्षमा कति ?
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । हालसम्म संस्थापनतिर १६ सांसद छन् । मतदानको समयसम्म देउवा र कोइराला पक्ष एक ठाउँमा उभिए भने दलको नेतामा सहज बहुमत पुग्छ । देउवानिकट १५ र कोइरालानिकट सात सांसद रहेको एक नेताले बताए । यद्यपि, समय र परिस्थितिसँगै विगतको समीकरणमा व्यापक फेरबदल भएको संस्थापन पक्षको दाबी छ ।

प्रत्यक्षतर्फ संस्थापन पक्षबाट निस्कल राई (इलाम १), मो. फिरदोश आलम (रौतहट २), प्रकाश कार्की (सोलुखुम्बु), अभिषेकप्रताप शाह (कपिलवस्तु ३), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख १), भरतकुमार स्वाँर (अछाम १), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) छन् । समानुपातिकबाट अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक संस्थापन पक्षका हुन् ।

प्रत्यक्षतर्फ देउवा पक्षबाट टेकबहादुर गुरुङ (मनाङ), सन्दीप राना (पाल्पा १), जयपति रोकाया (हुम्ला), खड्कबहादुर बुढा (जाजरकोट) र विष्णुबहादुर खड्का (सुर्खेत १) छन् । समानुपातिकतर्फ भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया र हरिनादेवी कामी छन् ।

कोइराला पक्षबाट प्रत्यक्षतर्फ योगेश गौचन थकाली (मुस्ताङ) छन् भने समानुपातिकमा गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रिना केसी, डा. प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव छन् ।

संवैधानिक परिषद् अपूर्ण
कांग्रेसले दलको नेता चयन नगर्दा संवैधानिक परिषद्ले समेत पूर्णता पाउन सकेको छैन । संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ, जहाँ प्रतिनिधिसभाको विपक्षी दलका नेता सदस्य हुन्छन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने ६ सदस्यीय परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुन्छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको दलको नेता संवैधानिक परिषद् सदस्य हुनेछन् । परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्नेछ ।

सुझावित समाचार