प्रहरी हिरासतमा दलित युवाको मृत्यु, संसदीय छानबिनको माग गर्दै सांसदहरू धर्नामा

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण
प्रहरी हिरासतमा दलित युवाको मृत्यु, संसदीय छानबिनको माग गर्दै सांसदहरू धर्नामा

सिन्धुली प्रशासनको गेटअगाडि धर्नामा बसेका सांसद र स्थानीय ।

  • सिन्धुलीका सिडिओ र एसपीलाई निलम्बनको माग, बलात्कारको जाहेरी दिनेमाथि जातीय हिंसामा कारबाही हुनुपर्ने अडान

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनामा संसदीय छानबिनको माग गर्दै रास्वपा सांसद खगेन्द्र सुनारसहितले बिहीबारबाट सिन्धुली प्रशासनमा धर्ना थालेका छन् ।  १६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको र  प्रहरी हिरासतभित्र भएको घटना आत्महत्या मान्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी आन्दोलनमा छन् ।

यहीबीच सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेललेले सिन्धुली प्रशासनको गेटमा धर्ना सुरु गरेका हुन् । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक,  इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक र ड्युटीमा खटिएका  कमाण्डरलाई निलम्बन गर्नुपर्ने माग रहेको सुनारले बताए । उनका अनुसार प्रहरीको आन्तरिक उच्चस्तरीय, विज्ञ छानबिन, संसदीय छानबिन हुनुपर्ने माग छ भने बलात्कार मुद्दा भनेर जोहरी दिनेलाई जातीय हिंसामा कारबाही माग गरिएको छ । 

प्रहरीले ‘आत्महत्या’ दाबी गरे पनि पीडित परिवारले घटनालाई ‘रहस्यमयी’ भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । यद्यपि,  सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेर बिहीबारबाट छानबिन थालिसकिएको छ । घटनाको सत्यतथ्य बुझ्न राष्ट्रिय दलित आयोगको केन्द्रीय टोली काठमाडौंबाट सिन्धुलीतर्फ प्रस्थान गरेको छ । टोलीले सरोकारवालासँग छलफल गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने दलित अधिकारकर्मी निर्मल रम्तेलले बताए ।

विवाह छुटाउन बलात्कार मुद्दा लगाइएको परिवारको आरोप
१६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको परिवारको आरोप छ । सो विवाह सम्बन्ध छुटाउन बालिका पक्षले ललितपुरको सातदोबाटो प्रहरीमा बलात्कारको उजुरी दिएपछि विकलाई ३ वैशाखमा पक्राउ गरिएको थियो । ललितपुरबाट पक्राउ गरी खुर्कोट ल्याइएका विकलाई प्रहरीले ‘आरोप स्वीकार गर्न दबाब दिँदै आएको’ परिवारको भनाइ छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकले सोमबार दिउँसो शौचालयको झ्यालमा आफ्नै सर्टको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । तर, परिवारले भने प्रहरीको दाबीमाथि प्रश्न उठाइरहेका छन् । ‘गल्तीको सजाय भोग्छु भनेर छोरा आफैँ आएर बसेको थियो, ड्युटीमा रहेका प्रहरीले के हेरेर बसे ? ज्यान सुरक्षित हुन्छ भनेर प्रहरीको जिम्मा लगाएको छोराको लास पाउँदा कसरी विश्वास गर्ने ?’ मृतककी आमा विन्दा विकले प्रश्न गरिन् । घटनास्थलको फोटो वा भिडियो नदेखाउनु र अस्पताल पुर्याएर मृत्यु भइसकेपछि मात्र परिवारलाई खबर गर्नुले घटना थप शंकास्पद बनेको आफन्तहरूको तर्क छ । प्रहरीले मंगलबार राति नै पोस्टमार्टम गर्ने तयारी गरे पनि परिवारले सहमति दिएका छैनन् । दलित अधिकारकर्मीले सिन्धुलीमा प्रदर्शन गर्दै न्यायको माग गरिरहेका छन् । 
 

सुझावित समाचार