बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

वैशाख १७ लाई आह्वान भएको संसद् अधिवेशन स्थगित

वैशाख १७ गतेलाई आह्वान भएको संसद् अधिवेशन स्थगित भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगित गरेका हुन्।

यसअघि मन्त्रिपरिषदकै सिफारिसमा राष्ट्रपतिले संसद्का दुवै सदनको बैठक वैशाख १७ गते बिहीबार दिउँसो २ बजेलाई आह्वान गरेका थिए।

सरकारको सिफारिसमा विशेष कारणवश संसद् अधिवेशन आह्वान हाललाई स्थगित गरिएको  राष्ट्रपतिको कार्यालयले जनाएको छ।

वडाध्यक्षलाई जिल्लाले गरेको कैद र जरिवानाको फैसला उच्चद्वारा सदर

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले पोखरा महानगरपालिका– २४ का वडाध्यक्षलाई दोषी ठहर गरेको आदेश उच्च अदालतले सदर गरेको छ । बजेट खर्चका विषयमा वडाध्यक्ष भरतबहादुर अधिकारी र दलित महिला वडासदस्य मैया नेपालीबिचको विवादमा वडाध्यक्षलाई जिल्ला अदालतले गरेको कैद र जरिवानाको फैसला उच्चले बुधबार सदर गरेको हो ।

विवादबिच हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइनको काम पुनः सुरु

मकवानपुर खण्डमा लामो समयदेखि अवरुद्ध रहेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइनको निर्माण कार्य पुनः सुरु गरिएको छ । स्थानीयको अवरोधका कारण रोकिएको काम मंगलबारदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा पुनः अघि बढाइएको हो ।

सरकारका प्रवक्ता भन्छन्– सुकुमवासी बस्तीमाथि डोजर चलाउने कुनै निर्णय भएको छैन

नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुमवासी बस्तीमाथि डोजर चलाउने कुरा मन्त्रिपरिषदबाट कुनै पनि निर्णय नभएको बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको जानकारी दिए । 

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

व्यवसायी शेखर गोल्छा पक्राउ

प्रहरीले व्यवसायी शेखर गोल्छा धितोपत्रसम्बन्धी कसुरमा पक्राउ परेका छन्। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्योरो (सिआइबी)ले गोल्छालाई पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी मनोज केसीले नयाँ पत्रिकालाई जानकारी दिए।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको सिआइबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

के हो सुधन गुरुङमाथिको विवाद ?

विगत केही महिनायता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्चित बिचौलिया दीपक भट्ट र उनीसँग कारोबारमा साझेदार देखिएका शंकर समूहमाथि छानबिन गरिरहेको छ । अन्तरिम सरकारकै पालामा गत मंसिरदेखि उनीहरूमाथि विभागले छानबिन गर्दै आएको थियो । यसैक्रममा गत १९ चैतमा विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको थियो । भट्टसहित शंकर समूहका सुलभ अग्रवाल पनि अहिले हिरासतमा छन् । 

लुम्बिनी प्रदेश सभाबाट जिसस सञ्चालनसम्बन्धी संशोधन विधेयक पारित

लुम्बिनी प्रदेश सभाको १६औँ बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। 

मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।

कास्की प्रहरीको १० घण्टे स्विप अपरेसनमा १२२ जना पक्राउ

कास्की प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको १० घण्टा लामो स्विप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ। जिल्लामा विभिन्न क्षेत्रमा लागुऔषध बिक्री-वितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुन्डाको रूपमा धम्की दिने, गुन्डागर्दी गर्ने व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले स्विप अपरेसन सञ्चालन गरेको प्रहरीले जनाएको छ।

नेप्सेको ओरालो यात्रा कायमै

सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ। आज नेप्से १७.०१ अंकले घटेर दुई हजार ७८७.१५ विन्दुमा कायम भएको छ।

आज कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार साढे सात अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज पाँच अर्ब नौ करोड ५९ लाख रुपैयाँमा झरेको छ। ३४८ कम्पनीका एक करोड १३ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

सुझावित समाचार