प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १७ गते सरकारी कार्यालयहरूले सरकारी सञ्चारमाध्यममा मात्रै सूचना विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने नियमकाे विराेध गर्दै संखुवासभाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएका छन् ।
आज बिहीबार जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामालाई नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले विज्ञप्ति बुझाएका हुन् । केन्द्रीय सर्कुलरअनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेर विज्ञप्ति बुझाएका हुन् । सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले साना र निजी मिडिया धराशायी बन्ने अवस्था आएकाे पत्रकारको भनाइ छ ।
संघीय सरकारले गत चैत १७ गते संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई परिपत्र गरी सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन र सूचना उपलब्ध गराउने गरी गरिएको विभेदकारी विज्ञापन नीतिले मोफसलमा रहेका साना मिडियाहरू स्वतः बन्द हुने परिस्थिति सिर्जना गर्न खोजिएकाेप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘लोकतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको सुसूचित हुने अधिकारको पक्षमा वकालत गर्दै आएको संखुवासभाका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूमाथिको यो प्रहारले जनताको सुसूचित हुने अधिकार खुम्चने, सञ्चारगृह र सञ्चारकर्मीहरूको पेसामा नै दीर्घकालीन असर परी पेसाबाट नै पलायन हुनुपर्ने अहिलेसम्मकै त्रासदीपूर्ण अवस्था उत्पन्न भएको महुसस भएकाले जनताको सुसूचित हुने अधिकारको रक्षा गर्न उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसमक्ष जोडदार माग गर्दछाैँ ।’ यसअघि पनि संखुवासभाको क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।